स्ट्रेचरबाट बिरामी बोक्नुपर्ने ठाउँमा एम्बुलेन्स पुग्यो

दैलेख– दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले एम्बुलेन्स सञ्चालन गरेको छ। सबै वडाहरुमा सडकमा जोडिएसँगै नगरपालिकाले जनताहरुलाई स्वास्थ्य उपचारमा थप सहयोग पुग्ने गरी एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

यातायात सुविधा नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने नगरवासीको बाध्यतालाई मध्यनजर गर्दै नगरपालिकामार्फत एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो।

विगतमा एम्वुलेन्स नहुँदा स्टेचरमा विरामी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय वासिन्दाले बताएका छन् । नगरपालिकाले सुलभ रुपमा भरपर्दाे एम्बुलेन्स सेवा दिनेभएपछि नगरबासीहरु हर्षित भएका छन । चामुण्डाविन्द्रासैनी–६ का नगेन्द्र विष्टले नगरपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन भएसँगै जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने समस्याको अन्त्य भएको बताए ।

‘विगतमा स्टेचर भएपनि बोक्ने मान्छे नहुँदा विरामीलाई समयमा अस्पताल पुर्‍याउन सकिँदैन थियो’ उनले भने,‘ अव भने यस्ता समस्या अन्त्य हुनेछन् । जनताको स्वास्थ्यमा पहुँच पुर्‍याउन नगरपालिकाले गरेको कामले नागरिकलाई राहत मिलेको छ ।’

एम्बुलेन्स सेवा सञ्चालन भएसँगै नगरपालिकाका २६ हजार जनता लाभान्वित हुने भएका छन् । त्यस क्षेत्रका बिरामीलाई स्थानीय स्वास्थ्य केन्द्रसम्म र त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई सदरमुकाम दैलेख तथा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र नेपालगञ्ज लैजानका लागि सहज हुने नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले बताए ।

उनले नगरपालिकाबाट सञ्चालित एम्वुलेन्स निरन्तर सञ्चालनमा ल्याइने बताए । संविधानले नागरिकलाई दिएको भरपर्दाे स्वास्थ्य सेवासम्वन्धि दिएको मौलिक हक कार्यान्वयनमा नगरपालिका रहेको उनले बताए । नगरपालिकाले १० लाख ५० हजारको अनुदानमा एम्बुलेन्स सञ्चालन गरिएको हो ।

बैशाख २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्