डा. देवकोटाले बिरामी हुँदाहुँदै शल्यक्रिया गरेकी राधिका भन्छिन्- ‘उहाँलाई सञ्चो होस्’

डा. उपेन्द्र देवकोटालाई भेटेपछि राधिका बस्नेत आमा सीता र बुवा इश्वरका साथमा । तस्बीर/ दीपा दाहाल

काठमाडौँ- प्रख्यात न्यूरोसर्जन डा. उपेन्द्र देवकोटालाई भेट्न शनिबार न्युरो अस्पताल बाँसबारीमा शुभचिन्तकहरु, पूर्व स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव, चिकित्सक, नेतादेखि सर्वसाधारणको बाक्लो भिड थियो।

डा. देवकोटाले उपचार गरेर निको बनाएका र उनलाई भगवान मान्नेहरु पनि त्यो भिडमा उनको एक झल्कोको प्रतिक्षामा थिए। त्यही भिडमा हतारहतार मिसिन पुगिन् हँसिलो अनुहारकी एक किशोरी आमाबुवाको हात समात्दै।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवेशले त्यो लाइन अघि बढ्न सकेन केहीबेरका लागि। त्योसँगै एकैछिन अघि उज्यालो देखिएको ती किशोरीको अनुहार अँध्यारो बन्यो। डा. देवकोटाले सबैभन्दा पछिल्लो शल्यक्रिया तिनै किशोरीको गरेका थिए।

त्यसैले होला देवकोटाकै जिल्ला गोरखा पालुङटारकी १४ वर्षीया ती किशोरी राधिका बस्नेतको अनुहार एकाएक धमिलो बन्न पुग्यो।

गत मंसिर एक गते आफु अस्वस्थ भएको महसुस गर्दा गर्दै पनि राधिकाको शल्यक्रियाको नेतृत्व आफैँले गरेका थिए डा. देवकोटाले। त्यसपछि डा. देवकोटा आफ्नै उपचारका लागि लण्डन पुगे र आफ्नो रोग निको पार्न सक्दो प्रयास गरेर फर्किएका छन्।

भगवान निस्ठुरी भइदिए भने राधिकाको शल्यक्रिया नै अन्तिम हुने छ डा. देवकोटाका लागि। डा. देवकोटाले वाइल डक्ट (पित्त थैली) क्यान्सरको उपचार गराइरहेका छन्।

डा. देवकोटालाई भेट्न नपाइने हो कि भन्ने पीरमा राधिकाका हात छोड्न नसकेका आमा सीता र ईश्वर पनि अन्यौलमा परे, जब आफूहरु उभिएको लाइन केहीबेरका लागि रोकियो। तर, राष्ट्रपति भण्डारी डा. देवकोटालाई भेटी १० मिनेटमै फर्किएपछि उनीहरुलाई माथि उक्लने बाटो खुल्यो ।


‘तिमी सञ्चै छौं? सम्झिएको थिए तिमी त आइपुगिछौं? तिमीलाई कस्तो छ ?’ डा. देवकोटाले राधिकालाई भेटेपछि सोधेका प्रश्न थिए।
‘मलाई त सञ्चै छ, तपाईलाई पनि सञ्चो होस्’ राधिकाले डा. देवकोटालाई त्यति मात्रै जवाफ दिन सकिन्।

डा. देवकोटाले पछिल्लोपटक आफूले शल्यक्रिया गरेको राधिकालाई सम्झिएपछि राधिकाको परिवारले शुक्रबार नै गोरखाबाट काठमाडौंको यात्रा तय गरेको थियो। बाटोका कारण अवेर भएपछि शनिबार मात्रै डा.देवकोटालाई देख्न पाएका थिए उनीहरुले।

‘उहाँलाई भेट्नु हाम्रा लागि भगवानलाई भेट्नु सरह हो। भाग्यले भेट्न पाइयो। उहाँलाई निको होस् र पहिले जस्तै हसिलो अनुहार देख्न पाइयोस्। भगवानसँग प्राथना गरिरहेका छौं’, आँसु टिल्पिलाउँदै आमा सीताले भनिन्।

त्यसो त डा. देवकोटा शनिबार पनि पहिले जस्तै हँसिलो बन्ने प्रयासमा थिए भेट्न पुग्ने शुभचिन्तकका अघिल्तिर।

डाक्टरकी पत्नी डा. मधु र तीन छोरी पनि शुभचिन्तकलाई मुस्कुराएरै स्वागत गरिरहेथे घण्टौँसम्म।

राधिकाका बुवा ईश्वरले आफूलाई भाग्यमानी सम्झिएका थिए डा. देवकोटालाई भेटेर फर्किएपछि। ईश्वरले डा. देवकोटालाई ‘मेडिकल साइन्सले गर्न नसकेका कुरा योग र ध्यानले गर्छ डाक्टरसाप् त्यो तपाई जानुहुन्छ त्यसमा अझै गहिरो गरी लागिदिनुहोस्’ भन्दै सुझाव समेत दिन भ्याएका थिए।

जवाफमा डा. देवकोटा मुस्कुराए र आफूमा आशा अझै बाँकी छ भन्ने आँखाहरुले इसारा गरे र त्यहाँ पुग्ने आफूले उपचार गरेका बिरामीलाई ‘तपाईँलाई कस्तो छ’ भनिरहे।

कुनै स्वास्थ्य समस्या नझेली हुर्किएकी राधिकाले गत वर्ष खाना खाएर विद्यालय जानै लाग्दा एक्कासी वान्ता गरिन् र एकसुरे भइन् अनि उनको बोली नै ठप्प भयो र मुन्टो लुलो भयो। तत्कालै राधिकालाई नजिकै रहेको मेडिकलमा पुर्‍याइयो।

त्यहाँ उपचार सम्भव नभएपछि सीता र ईश्वरले राधिकालाई काठमाडौ‍ँ ल्याए र उपयुक्त चिकित्सक र अस्पतालको खोजी गर्दै जाँदा अन्तत: डा. देवकोटाको अस्पताल बाँसबारी पुगे।

त्यो बेला अस्वस्थ महसुस गरेका डा.देवकोटालाई आरामको जरुरत थियो तर पनि राधिकालाई उनले जाँच गरे र उनलाई ‘ब्रेन ट्युमर’ देखा पर्‍यो। राधिकाको परिवार चिन्तित बनेपनि डा. देवकोटाले उपचारमा अग्रसरता लिँदा सम्हालिए उनीहरु। रिपोर्ट आएको केही दिनमै राधिकाको शल्यक्रियाको नेतृत्व आफैँ लिन पुगे डा. देवकोटाले।

‘छोरीलाई निको हुन्न होला भन्नेमा हामी पुगिसकेका थियौं। हार खाइरहेका बेला डा. देवकोटाले शल्यक्रिया गरेपछि निको हुन्छ भन्दै राधिकाको हात समात्दै अप्रेसन थिएटरमा लग्नु भयो,’ उनीहरु सम्झन्छन्, ‘अप्रेसनपछि छोरीको होस नआउने हो कि भन्ने डरमा बाहिर हामी हात जोडेर बस्यौं। तर अप्रेसनको एकैछिनमा होस आयो। हामीसँगै डा. देवकोटा पनि औधी खुशी हुनु भयो राधिकाको होस आउँदा।

अहिले राधिकाको मुहार फेरिएको छ, त्यो भन्दा बढी उनको शरीर तन्दुरुस्त भएको छ र अध्ययन तथा सिर्जनामा अब्बल हुँदै गएकी छन् उनी।

राधिकामा परिवर्तन आएको देख्दा सीता र ईश्वरले डा. देवकोटालाई सम्झिरहन्छन्। अहिले डा. देवकोटालाई अस्पतालको शैयामा देख्दा उनीहरुलाई मन थाम्न गाह्रो भएको छ।

त्यसैले राधिका भन्छिन्, ‘डाक्टरसापलाई छिटो र राम्रो भइदिए हुन्थ्यो, भगवान पनि प्राथना गर्सिन्छ, म पनि गर्छु।’

राधिकालाई जुन दिन डा. देवकोटाले बचाए त्यही दिन देखि उनको  मनमा आफू पनि डाक्टर हुनुपर्छ भन्ने भावना पलाएको छ।

‘मलाई पनि डाक्टर हुन मन छ। बिरामीलाई बँचाउन सकिँदो रहेछ र डाक्टरलाई भगवान मान्दा रहेछन्। मलाई पनि भगवान नै लाग्छ डाक्टर, मलाई पनि उहाँजस्तै बन्न मन लाग्यो’, राधिकाले मनको कुरा खोलिन्।

डा. देवकोटाले जस्तै अप्रेशन गरेर धेरैलाई बचाउन मन लागेको राधिकाले बताउँदा सीता र ईश्वरका आँखाहरु खुसीले रसाए। र, छोरीको हात समात्दै फर्किए गोरखातिर।

बैशाख २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्