रेलिगेशनमा पर्‍यो स्टोक सिटी, १० वर्षे प्रिमियर लिग यात्रा टुंगियो

स्टोक सिटी इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेशनमा परेको छ । लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा क्रिष्टल प्यालेससँग २–१ ले पराजित भएसँगै स्टोक सिटी रेलिगेशनमा पर्ने पक्का भएको हो ।

यो सिजन रेलिगेशनमा पर्ने पहिलो टिम बनेको छ स्टोक सिटी । स्टोक १० वर्षदेखि प्रिमियर लिगमा थियो । अब उसले आउँदो सिजन च्याम्पियनसिपमा खेल्नेछ ।

खेलमा अग्रता स्टोकले लिएको थियो । ४३ औँ मिनेटमा जेर्डान शाकिरीले गोल गर्दै घरेलु टिमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

तर दोस्रो हाफमा स्टोकले दुई गोल खायो । ६८ औँ मिनेटमा जेम्स म्याकआर्थरले क्रिष्टल प्यालेसका लागि बराबरी गोल फर्काए । खेल सकिन चार मिनेट बाँकी हुँदा प्याट्रिक भान आनहोल्टले गोल गर्दै क्रिष्टललाई जित दिलाए । उनको गोल नै स्टोकको रेलिगेशनको कारण बन्यो ।

खेलमा बराबरीसम्म मात्रै भएको भए स्टोकको रेलिगेशन टार्ने सम्भावना अर्को खेलसम्म बाँकी रहन्थ्यो । स्टोक सिटी गएको सिजनन १३ औँ स्थानमा थियो । रेलिगेशनमा पर्ने पक्का भएको स्टोकको यो सिजन एक खेल बाँकी हुँदा ३० अंक छ ।

बैशाख २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्