संघीय संसदको बजेट अधिवेशन आजदेखि

काठमाडौं – संघीय संसदको बजेट अधिवेशन आइतबारदेखि सुरु हुँदैछ ।

संविधानमा व्यवस्था भए अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेकी हुन् । बजेट अधिवेशन अन्तर्गत संघीय संसदको बैठक आइतबार दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

बजेट अधिवेशन अन्तर्गत आइतबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठकमा राष्ट्रपतिले जारी गरेका चार अध्यादेश र नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने तयारी रहेको छ ।

राष्ट्रपति भण्डारीले दुई हप्ताअघि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसद महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश सिफारिस गरेकी थिइन् ।

आइतबारको यी अध्यादेश पेश गर्ने तयारी छ । यो अधिवेशनले अध्यादेशसँगै मुख्य गरी सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल गर्नेछ । संविधानमा व्यवस्था भए अनुसार आउँदो जेठ १५ मा बजेट प्रस्तुत हुनेछ ।

बैशाख २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्