मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- ३)

सधैँ जित्नुपर्छ जस्तो कहिले लागेन

सामाजिक चेतना र जागृती हामीहरुमा गाउँबाटै जागी सकेको थियो, १०–११ वर्षको उमेरबाटै । त्यति बेला ६/७ मा पढ्यौँ हामीले । त्यति बेला नै युनाइटेड मिशन टु नेपालका केही क्रियाकलापहरु अवाञ्छित लाग्न थालेका थिए । युएमएनलाई गोरखा ल्याउन राजेश्वर देवकोटाको ठूलो हात थियो ।

तर, उनीहरुलाई उहाँले केही कुरामा पहिले नै स्पष्ट पार्नुभएको थियो । पढाउन र स्वास्थ्य सेवा दिन यु एम एनलाई त्यहाँ लगिए पनि आफ्नो धर्म मान, अभ्यास गर तर धर्म परिवर्तन गर्नमा (कन्भर्सन) नलाग भनेर उहाँले स्पष्ट भन्नुभएको थियो सुरुमै । स्कुल र अस्पतालमा बाहेक अन्यत्र च्यापल थिएन ।

हाम्रो स्कुलमा पनि च्यापल बनाइयो । कक्षा सुरु हुनुअघि क्रिश्चियन शिक्षकहरु प्राथना गर्ने गर्दथे । उनीहरुलाई खुशी पार्न अरु शिक्षकहरु पनि जान थाले । चाकडी चलन अलि बढी नै झांगिन थाल्यो । विद्यार्थी पनि मिसिन थाले । नजानेहरु बक्रदृष्टिमा पर्न थाले । उनीहरुलाई बागीका रुपमा हेरिन थाल्यो । हामीले त्यसलाई महशुस गर्न सक्थ्यौं ।

हामी सात कक्षाका ८/१० जना बागी जस्तो थियौं । पढाईमा राम्रै भए पनि मेहनत जति गरे पनि निउ खोजी खोजी नम्बर काटिन्थ्यो । त्यो देख्दा अब माथि जाने आफ्नो योग्यतामा ‘सिलिङ’ लागे जस्तो लाग्न थाल्यो ।

हाम्रो सिर्जनशीलतालाई कुण्ठित बनाउने खेल भए जस्तो लाग्न थाल्यो । किताबमा लेखेको मात्रबाट नम्बर आउने ? उकुसमुकुस लाग्थ्यो । बिद्रोह मनमा जाग्न थाल्यो ।

यस्तो माहोलमा कसरी बस्ने ? सात कक्षामा हुँदा नै काठमाडौं भाग्ने विचारमा लागें । दसैँ तिहार बिचमा ठूलदाइ घर आउनु भएको थियो । उहाँ काठमाडौंमा चर्चित विद्यार्थी नेता हुनुहुन्थ्यो ।

दाइ फर्कने बेला पारेर एयरपोर्ट (पालुङटार) पुगें, म यहाँ पढ्दिन, काठमाडौं लैजानुहोस् भनेँ । फकाई फुलाई घर फर्काउनुभयो दाइले । मेरो छटपटी कसैले बुझेन । मेरो व्यक्तिगत ‘ग्रोथ’ रोकिए, संभावना छेकिए ।

पाठ्यक्रमकै सीमा भित्र म थुनिएँ । काठमाडौं पुगेको भए एक दुई कक्षामाथि नै भर्ना हुने र एसएलसी त्यहीअनुसार १÷२ वर्ष पहिला नै पूरा गर्ने मेरो चाहना अघि बढ्न सकेन । पिताजी, दाइ कसैले मलाई बुझ्नु भएन । काठमाडौं, त्यो गोरस खान नपाउने ठाउँमा किन जाने ?

पाठ्यक्रमभित्र धेरै मेहनत गरेर मैले फाइदा देखिन । एकपटक पढेपछि मलाई पढ्न पर्दैनथ्यो । बाहिरका कुरा पनि धेरै बुझ्थें ।

एक्स्ट्राकरिकुलर एक्टिभिटिजमा लागें । वाद विवाद, भाषण, निबन्ध लेखनमा म धेरै अगाडि थिएँ । कक्षा ६ मा छँदा नै १० लाई जितें र त्यो सिलसिलाले पछिसम्म निरन्तरता पायो । जिल्लाव्यापी प्रतिस्पर्धामा पनि पहिलो भएँ ।

गाउँको पुस्तकालयमा अध्ययन गरी साहित्यमा धेरै अघि भएको थिएँ । छन्द, रस अलङ्कार धेरै बुझ्ने भएको थिए । मैंले त्यहाँ आर्जेका ज्ञान कक्षामा नचाहिने तर बाहिर धेरै उपयोगी खालका थिए ।

कक्षा ८ मा पुगेपछि हामी ८/१० जना विद्यार्थीबिच केही छलफल भयो । विद्यार्थीले भनेको कुरा सुनिन्थेन । हामीले स्टुडेन्ट्स युनियनका लागि आन्दोलन गर्ने सोच बनायौं । मेरा दाइ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको संस्थापक मध्ये नै हुनुहुन्थ्यो, काठमाडौंमा ।

राजनीतिको त्यो सरुवा रोग हामीलाई पनि लाग्यो । काठमाडौंलाई ‘कपी’ गर्नमा लाग्यौं हामी पनि ।

स्कुलको ‘ब्रेक’को समय पारेर कक्षा ६ देखि १० सम्मका विद्यार्थीको बैठक बोलायौं । पूरा स्कुलबाट जम्मा ३/४ जना गएनन । को गएनन् तिनका नाम अहिले नखोलौँ । राजनीतिमा लागे ती मध्ये केही पछि । नजिकैको जंगलमा मिटिङकै बिच हेडमास्टर छापा मार्न आइ पुग्नुभयो ।

हेडमास्टरलाई खबर गरिदिएछन् र हतार हतारमा लन्च खाएर त्यहाँ आइपुग्नु भएछ । भोलिपल्टै स्कुल संस्थापनले ६ देखि १० का सबै विद्यार्थीलाई भेला गरायो, कोर्ट मार्शलका लागि ।

मिटिङ किन ? केका लागि ? नेता को थिए ? एक एक गरी सबैलाई सोधियो । केरिँदा सबैको झण्डै पिसाबै चुहिने अवस्था थियो । अन्ततः हामी तीनजना तिर औंला तेर्सिए । म, (मालतिगैरा गाउँका) बाबुराम देवकोटा र अर्का नारायणबहादुर थापा ।

बाबुराम देवकोटा राम्रो भाषण गर्नु हुन्थ्यो र नेतृत्व शक्ति थियो उहाँमा । नारायणबहादुर थापाको घर अलि टाढा थियो । पछि नेपाली कांग्रेसको जिल्ला नेता हुनुभयो र दुर्घटनामा उहाँको मृत्यु भयो । टिचरहरुले पछि उहाँलाई स्कुल निकाला गरे, त्यो मिटिङको बहानामा ।

पण्डित गाँउमा उपेन्द्र देवकोटालाई निकाल्न संभव थिएन । किनकी उनी राजेश्वर देवकोटका नातेदार थिए र राजेश्वर देवकोटाको काँध चढेर यु एम एन गोरखा पुगेको थियो । अर्को पनि देवकोटा नै । बलीको बोको बनाइयो नारायण थापालाई ।

तर हाम्रो मिटिङ प्रभावहिन रहेन । सम्झौताका आधारमा स्टुडेन्ट्स युनियन बन्ने भयो । तर कस्तो युनियन भने त्यसको अध्यक्ष हेडमास्टरले मनोनित गरेका शिक्षक, जनरल सेक्रेटेरी कक्षा ६ देखि माथिका विद्यार्थीले मतदानद्वारा निर्वाचित गरेका विद्यार्थी हुने ।

हरेक कक्षाबाट एक एक जना प्रतिनिधि चुन्ने व्यवस्था पनि गरियो । पहिलोपटक, त्यत्रो मेहनत गरेकाले बाबुराम देवकोटालाई छान्यौँ । सहमति साथ । प्रतिस्पर्धा भएन । स्वभाविकरुपमा दोस्रोपटक पालो मेरो हुने भयो । म उठें महासचिवको उम्मेदवारमा ।

संस्थापनले दुईजनालाई मेरो विरुद्ध उभ्यायो । खुलेरै लाग्यो मेरा विरुद्ध । मलाई हराइयो । एक मतले हारें म । म भित्रको बिद्रोही बढी जागृत भयो । मेरो संस्थापनलाई हेर्ने दृष्टिमा अन्तर आयो ।

यता त्यसको फलस्वरुप मैंले पाउनु पर्ने नम्बर पनि खोस्नु पर्ने अवस्था आयो । प्रोत्साहन त्यति भएन मेरा लागि । यो बिद्रोह नै मेरो स्कुले राजनीति बन्यो ।

००

सरकारी स्कुलहरुमा विद्यार्थी युनियन खुल्ने प्रथम केही स्कुल भित्र नै पर्छ हाम्रो स्कुल । पछि कति वर्षसम्म चल्यो त्यो युनियन थाहा भएन । शिक्षक नै अध्यक्ष हुने चलन बन्द भयो होला ।

जे होस, पढ्ने विद्यार्थी जाने ठाउँ हैन, बिग्रने विद्यार्थीले मात्र राजनीति गर्छन् भन्ने मान्यतालाई एक किसिमले चुनौती दियौँ हामीले । पछि काठमाडौँमा अमृत साइन्स कलेजमा भर्ना भएपछि पनि म अनेरास्वयुतर्फ लागेँ । हाम्रा विरोधीहरु बुझेर नबुझेर नेपाल विद्यार्थी संघको सदस्यता लिने गर्थे ।

फर्केर हेर्दा धेरै कुरा गरिएको रहेछ । पाठ्यपुस्तक एकपटक पढेपछि पुग्ने, कहिलेकाँही पुस्तकालय जाने अनि अरु समय खेलेर बिताउँथे । ठूलाहरु पढ्नमा व्यस्त हुने हुनाले आफूभन्दा साना भाइबहिनीहरुलाई लिएर खेल्न जान्थे ।

गाउँमा भलिबल महंगो । थोत्रा टालाटुली बटुलेर गोलो बल बनाउथ्यौँ, अनि बाबियाको डोरीको नेट । शनिबार चाहिँ आफ्नो कक्षाको साथीहरु पनि मिसिन्थे । १२/१३ जना थियौँ हामी गाउँमा । म भने अरु दिन पनि भाइबहिनीलाई लिएर निस्कन्थेँ । म उनीहरुप्रति ‘फेयर’ नै थिए ।

उनीहरुलाई सजिलो या अग्लो ठाउँमा राख्थेँ । म अलि तल बस्थेँ । उनीहरु पट्टी ‘नेट’ होचो हुन्थ्यो, म पट्टी अग्लो । म हारी पनि दिन्थेँ । नत्र किन आउँथे र उनीहरु ? एवंम रीतले टालाको भकुण्डोबाट केटाकेटीको टोली खडा गरेँ ।

मलाई एउटा शनिबारको गज्जबको घटना याद छ । हामी त्यहि टालाको भकुण्डो खेल्दै थियौँ । अरु साथीहरु पनि थिए, पुस माघको महिना थियो । गल्ली माथिको ठूलो गरामा, उन्मुक्त वातावरणमा हामी खेल्दै थियौँ । भकुण्डो तल गल्लीमा खस्यो । हामी भकुण्डो लिन तल लाग्यौँ ।

हाम्रो स्कुलको एलकिन्स गुरुआमा शनिबार आफ्नो साथी हेलेनसँग छुट्टी मनाउन त्यहि गल्लीबाट आउँदै हुनुहुँदो रहेछ । साथीहरुको भागाभाग भयो । शिक्षकको अगाडि विद्यार्थीले पढेको मात्रै देखिनु पर्ने हाम्रो मान्यता, तर भकुण्डोको पिछा गर्दे म गुरुआमा नजिक पुगेँ ।

मलाई समातेर सोध्नुभो, ‘के गरेको ?’ टालाको भकुण्डोमा भलिबल अभ्यास गर्ने गरेको इति वृत्तान्त सुनाए । तपाईंलाई म साँच्चिकै भकुण्डो किनिदिन्छु, राम्रोसँग खेल्नुहोस् भन्नुभयो । पछि उहाँले व्यक्तिगत खर्चबाट २२ रुपैयाँको भकुण्डो र ३० रुपैयाँको नेट किनेर किनिदिनुभयो ।

हाम्रो बोरा गाउँ टिमलाई ‘मेरो तर्फबाट डोनेसन’ भनेर । हामी अत्यन्त खुशी भयौँ । अनि प्रोपर्ली गाउँमा प्राक्टिस गर्न थाल्यौँ । हामी धेरै राम्रो टीम बन्यौँ । कक्षा ८ मा छँदा मेन स्कुलको (मिडिल तह) लाई चुनौति दिने निधो गर्‍यौँ । यसबेलाको चलनमा खेल्न बोलाएपछि आउनुप¥थ्यो अर्को टिम । हामीले स्कूललाई चिठ्ठी लेख्यौँ । हेड मास्टर नै ‘गेम टिचर’ हुनुहुन्थ्यो ।

उहाँले हाम्रो च्यालेन्ज स्वीकार गर्नुभयो, तिथि मिति तोकियो । स्कुलकै मेन ग्राउण्डमा बोरा गाउँ टीम र स्कुल टीमबीच प्रतिस्पर्धा हुने भयो । स्कुलको पक्षमा सबैले ‘चियर’ गर्ने नै भए । हाम्रो पक्षमा ८/१० जनामात्रै थिए । म्याच सुरु भएपछि एलकिन्स गुरुआमाले हाम्रो पक्षमा ताली बजाउन थाल्नुभयो । मुख्य खेलाडी म थिएँ, हामीले म्याच जित्यौँ ।

स्कुलमा पनि म मेन टिममा पुगेको थिएँ, एउटा विशेष परिस्थितिको कारण ।

स्कुलमा दुई टिम थिए । जुनियरमा थिएँ म । एक दिन खेल्न नपाएपछि घरतिर हिडेँ । तर सिनियर टिमका दुई खेलाडी त्यो दिन गयल हुँदा खेल हुन नसकेको रहेछ । हेडमास्टर तथा खेल टिचर भर्गिज थोमस सिठ्ठी लिएर बस्नुभएको थियो ।

खेलाडी नपुगेकाले सोध्नुभयो, ‘तिमी खेल्छौ सिनियर टिमबाट ?’ शट हान्न अति सिपालु हुनुहुन्थ्यो सीताराम अधिकारी । अहिले उहाँ रत्नराज्य कलेजमा पढाउनुहुन्छ । उहाँलाई पास दिनेगरी मलाई राखियो ।

बुद्धि श्रेष्ठले बल रिसिभ गर्ने, मलाई दिने अनि ‘रेज’ गरेर सीतारामलाई दिने अनि उहाँले शट हान्ने । त्यहि दिन पछि मेरो प्रमोसन भयो सिनियर टिममा । त्यो कम्बिनेशन निकै जम्यो । झण्डै ९० प्रतिशत हीट रेट हुने गर्थ्यो । १० सम्म, भलिबलमा धेरै पल्ट जितियो । त्यो सँगै ब्याडमिन्टन पनि खेलियो । पछि मेडिकल कलेजमा पनि भलिबलमा धेरै नै इज्जत कमाए ।

राजनीति जहाँ पनि हुन्छ । लोकलहरुले डिब्रुगढ (आसाम) मा एमबिबिएस पढ्दा मलाई टिममा राख्ने तर तर खेल्न भने नदिने । मलाई स्पेअर खेलाडीका रुपमा राख्थे । मेडिकल कलेजको टिम विश्वविद्यालय फाइनलमा पुगेको थियो । त्यसका लागि क्याप्टेनले मलाई खेल्न अनुरोध गरे । आफ्नै मेडिकल कलेजमा गेम हुने भयो ।

क्याप्टेनलाई मेरो स्कील थाहा थियो । बिहानै मलाई बोलाउन आए र खेल्नुपर्छ भनेर गए । स्पेअरमा राख्ने गरेकोले मलाई विश्वास भई हालेन । त्यसैले म्याच सुरु हुनु आधा घण्टा अघि सम्म कोठामा बसीरहेँ । क्याप्टेन फेरी लिन आए आफै । कलेजका प्रिन्सिपल, भाइस प्रिन्सिपल सबै बाहिर । मलाई लिएर गए, खेलाए ।

पहिला मलाई सबभन्दा कमजोर पोजिसनमा राखेँ । ‘रोटेशन’ हुँदै म ‘सर्भिस’ मा पुग्दा हाम्रो ३ र अर्को पक्षको १३ थियो स्कोर । सर्भिसबाटै जितेँ, म ‘हिरो’ भए । अनि प्रिन्सिपल आएर हात मिलाए । गोरखाको अभ्यासको प्रतिफल थियो त्यो । मैले स्पोर्टसबाट दुई कुरा सिकेको छुँ ।

शारीरिक तन्दुरुस्ती त धेरैले बुझेकै कुरा हो ।

धेरैले नबुझेको कुरा के हो भने, स्पोर्टसले नियम या ‘रुल अफ ल’ को परिधिमा रहन सिकाउँछ ।

‘स्पोर्टस म्यान सिप’ या स्पोर्टस स्पिरिटले मेरो जीवनका धेरै पक्षलाई प्रेरित गरेको छ । मलाई सिकाएको छ । कसै कसैलाई आफूले जसरी पनि जित्नुपर्छ भन्ने लाग्छ ।

मैले फेयर स्पोर्टस खेलेकोले फेयरनेश र नियमबाट निर्देशित हुने गरेको छु, चाहे मेरो चिकित्सा पेशामा होस् या राजनीतिमा । मैले त्यो स्पोर्टसबाटै सिकेको हुँ । सधैँ जित्नुपर्छ र जिती हाल्नु पर्छ, गलत मानसिकता बोकिन ।

(क्रमश:)

बैशाख २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्