डाक्टर उपेन्द्र देवकोटालाई पत्र​

डाक्टर देवकाेटा ! तपाईसँग विद्यावारिधिको खुशी साट्ने ठूलो धोको छ

आदरणीय डाक्टर साहेब,

पत्रपत्रिकामा तपाईको स्वास्थ्य स्थिति बिग्रिएको समाचार त आजभन्दा केही महिना अघि नै पढेँ । पत्याउन सकिन केही खोज गरेँ । भरपर्दो पत्रिकाहरुमा समाचार थिएन र ढुक्क भएँ । बेकारको हल्ला ठानेँ ।

तर हिजो जब सबेरै तपार्इ प्यान्क्रियाटिक क्यान्सरको पाँच महिनाको उपचार पश्चात अब बाँकी जीवन मातृभूमिमा बिताउने निर्णय लिएर नेपाल फर्किनुभयो भन्ने समाचार पढेँ । त्यस्बेला देखि नै म भित्रैदेखि असीम नरमाईलो अनुभव गरिरहेकी छु ।

दिव्य श्री क्षेत्री

जीवन र मृत्यु नियतिकै खेल होर जीवनको एउटै मात्र सत्य भनेको पनि मृत्यु नै हो ।तर तपाईलाई दुई वर्ष अगाडि नेपाल छोड्नु अगाडि फलो अप चेक अपको लागि भेट्दा पनि तपाई उत्तिकैफुर्तिलो र जोसिलो देखेँथे, जति २०५६ सालमा भेट्दा हुनुहुन्थ्यो ।

डाक्टरसाप ! तपाई नै मेरो जीवनदाता हुनुहुन्छ । २०५६ सालमा मलाई हाइड्रोसिफ्यालस हुँदा तपाई नेपालको न्युरोसर्जरी क्षेत्रमा नहुनुहुँदो हो त आज मेरो जीवननै रहने थिएन होला !

तर नियतिको खेल नै भन्नपर्छ । म जस्ता हजारौँलाई मृत्युको मुखबाट निकाल्ने सीप भएको तपाई नै आज जीवन मरणको दोसाँधमा हुनुहुन्छ ।

तपाईको आत्मविश्वास, लगन र जाँगरबाट म सधैँ प्रभावित भइरहेँ । पहिलो पटक तपाईलाई ह्यम्समा उपचारको लागि भेट्दादेखि आजसम्म म तपाईको व्यक्तित्वको प्रशंसक रहेँ ।

जगदिश घिमिरेले आफ्नो पुस्तक अन्तर्मनको यात्रामा लेखेझैँ वास्तवमा अहिले मैले बाँचिरहेको जीवन फोसामै पाएको जीवन हो । र म यसको लागि यहाँ प्रति हृदयदेखि नै कृतज्ञ छु ।

तपाईले उपचार कक्षमा दिनुभएको आश्वासनका हरेक शब्दहरू मलाई आजसम्म कन्ठ छन् । ती मेरा प्रेरणाका स्रोत हुन्। त्येसैले त मैले अझै हार खाएकी छैन र एउटा गन्तव्यमा पुग्न संघर्ष गरि नै रहेकी छु । तपाई जस्तै डाक्टर बन्‍ने सपना थियो। स्वास्थ्यले गर्दा त्यो त सम्भव भएन । तर समाजशास्त्र अध्ययन गरी विद्यावारिधि गरेरै भए पनि डाक्टर उपाधि लिन्छु भन्ने आँट अझै छ र तपाईसँग त्यो खुशीयाली साट्ने ठूलो धोको छ ।

तपाईलाई लागेको क्यान्सरको उपचार चिकित्सा क्षेत्रमा सम्भव त पक्कै छैन। तापनि सानो गाउँबाट आफ्नो यात्राको सुरूवात गर्नु भएको तपाईसँग अथाह उर्जा र दृढ शक्ति छ।

मलाई पूर्ण विश्वास छ । यो शक्तिले तपाईलाई क्यान्सरसँगको युद्धमा विजयी बनाउनेछ र जीवन सहज बनाउन टेवा पुरयाउने छ ।अनि, मैले तपाईसँग मेरो खुशी साट्ने मौका पाउनेछु ।

मेरो एउटा अनुरोध छ डाक्टरसाहेब ।कृपया तपाईको जीवनको संघर्षका कथाहरु हामीजस्ता तपाईका शुभचिन्तक र प्रसंशकहरुसँग साट्नुहोस् । ती पक्कै पनि सबैका लागि प्रेरणाका श्रोत हुने छन् ।

सिडनी, अष्ट्रेलिया

बैशाख २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्