रुपन्देहीमा अक्सिजन उत्पादन सुरु

रुपन्देही- लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लाण्टबाट अक्सिजन उत्पादन गर्न थालिएको छ ।

प्लाण्टबाट उत्पादित अक्सिजनबाट अहिले अस्पतालमा दैनिक सरदर २३ सिलिण्डर बराबरको ग्यास खपत भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले जानकारी दिए। ग्यास प्लाण्ट स्थापना भएको दुई साता भएको बताइएको छ।

उहाँले अस्पतालको आइसियू, एनआइसियू, इर्मेजेन्सी, मेडिकल वार्डमा उक्त ग्यास वितरण भएर बिरामीलाई सेवा प्रदान गरिएको जानकारी दिँदै अप्रेसन थिएटर, सर्जिकल वार्डलगायतमा ग्यास सिलिण्डरबाट नै काम भइरहेको जानकारी दिए।

रोटरी क्लब अफ बुटवलको रु २१ लाख, रोटरी क्लब डिस्ट्रिक ३२३० भारतको रु १० लाख र रोटरी फाउण्डेशनको रु १९ लाख गरी कूल रु ५० लाखमा सो ग्यास प्लाण्ट स्थापना गरिएको हो।

तीन वर्षअघि सुरु भएको परियोजनाअन्तर्गत सो प्लाण्टले २४ घण्टामा ४२ सिलिण्डर अक्सिजन उत्पादन गर्छ।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण पन्थले अब बिरामीका लागि अक्सिजनको सिलिण्डर लिनुपर्ने अवस्था अन्त्य भएको जानकारी दिँदै यसको उत्पादन क्षमता बढाउँदै लगिने बताए।

बैशाख २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्