एल क्लासिको

बार्सा २–२ रियल, मेस्सी १–१ रोनाल्डो : मार्सेलोलाई झापड, रोबर्टोलाई रेड कार्ड

क्लब फुटबलको सबैभन्दा भव्य खेल, एल क्लासिको । यो सिजनको अन्तिम एल क्लासिको अर्थात रियल मड्रिड र बार्सिलोना बिचको खेल बराबरीमा टुंगिएको छ ।

यसको अर्थ स्पेनिस ला लिगाको उपाधि उचालेको बार्सिलोना अब लिगका बाँकी तीन खेलमा जोगिएमा पूरै सिजन अपराजित रहने कीर्तिमान बनाउने छ ।

यस्तै रियल मड्रिड गएको डिसेम्बरमा भएको एल क्लासिकोमा बेहोरेको हारको बदला लिन नसके पनि पराजयबाट भने जोगियो ।

आफ्नै मैदान क्याम्प नाउमा भएको खेलमा १० खेलाडीमा सीमित भएको बार्सिलोनाले रियल मड्रिडलाई २–२ को बराबरीमा रोकेको हो ।

दोस्रो हाफ पूरै १० खेलाडीमा सीमित भएर पनि बार्सिलोनाले रियल मड्रिडलाई जित निकाल्न दिएन । पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका सर्गी रोबर्टोले सीधै रातो कार्ड पाएका हुन् ।

तनावपूर्ण एल क्लासिकोमा रोबर्टोले रियल मड्रिडका डिफेन्डर मोर्सेलोलाई झापड हानेकाले रातो कार्ड पाएका हुन् ।

पहिलो हाफमा दुवै तर्फबाट एक एक गोल भएको थियो । खेलमा सुरुवाति अग्रता घरेलु टोली बार्सिलोनाले लियो । १० औँ मिनेटमा रोबर्टोको पासमा लुइस स्वारेजले गोल गरे ।

त्यसको चार मिनेटपछि रियल मड्रिडका लागि स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बराबरी गोल गरे । करिम बेन्जिमाको डाउनवार्ड पासलाई रोनाल्डोले सुन्दर गोलमा परिणत गरेका हुन् ।

१० खेलाडीमा सीमित भए पनि बार्सिलोनाले दोस्रो हाफमा पनि गोेल ग¥यो । ५२ औँ मिनेटमा स्टार स्टाइकर लियोनल मेस्सीले बार्सिलोनाका लागि गोल गर्दै फेरि अग्रता दिलाए । त्यसको २० मिनेटपछि ग्यारेथ बेलले रियल मड्रिडका लागि बराबरी गोल फर्काए ।

रियलका रोनाल्डोले पहिलो हाफ मात्रै खेलेका हुन् । गोल गर्ने क्रममा गोलीगाँठो बाङ्गीएकाले रोनाल्डो दोस्रो हाफमा खेल्न सकेनन् ।

कीर्तिमानको संघारमा बार्सा


गएको हप्ता ला लिगाको उपाधि उचालेको बार्सिलोना पूरै सिजन अपराजित रहँदै ला लिगाका इतिहासमा आफ्नो नाम लेखाउने संघारमा पुगेको छ । लिगका ३५ खेल भइसक्दा उ पराजित भएको छैन ।

एल क्लासिको उसको कीर्तिमानी यात्राको अवरोधका रुपमा आउने डर थियो तर रियल मड्रिडले उसलाई पराजित गर्न सकेन । अब बाँकी तीन खेलमा जित होइन हार नबेहोरे बार्सिलोनाले कीर्तिमान बनाउने छ ।

रियल मड्रिडसँगको बराबरी बार्सिलोनाका लागि जित जस्तै उत्सवपूर्ण छ । बार्सिलोना तेस्रो स्थानको रियल मड्रिड भन्दा १५ अंकले अघि रहेको छ ।

फाइनलमा पुगेको रियल लगातार तेस्रो सिजन युरोपियन च्याम्पियन बन्दै कीर्तिमान बनाउने लयमा छ । तर रियल मड्रिड लिग खेलमा बार्सिलोनालाई हराउन नसकेको यो लगातार चौथो पटक हो ।

आइतबार रातिको खेलमा सायद रियल मड्रिडले जित निकाल्ने थियो । जोर्डी अल्बाले रियलका मार्सेलोलाई समातेका थिए, त्यसमा उसले पेनाल्टी पाउनु पर्ने थियो तर पाएन ।

एल क्लासिको तनावपूर्ण बन्नुको कारण उपाधि विजेता बार्सालाई रियल मड्रिडले गार्ड अफ अनर दिन नमान्नु पनि हो ।

एल क्लासिको : हेड टू हेड


आइतबार भन्दाअघि गएको डिसेम्बरमा रियल मड्रिड र बार्सिलोना आमने सामने भएका थिए । ला लिगा अन्तर्गत घरेलु मैदानमै भएको खेलमा जिनेदिन जिदानको टिम रियल मड्रिड बार्सिलोनासँग ३–० ले विजयी भएको थियो ।

रियल मड्रिड आइतबार राति क्याम्प नाउमा भएको खेलमा त्यो हारको बदला लिन त सकेन तर हारबाट भने जोगियो । सबै प्रतियोगितामा गरेर अहिलेसम्म २३८ पटक एल क्लासिको भएको छ ।

यसमा रियल मड्रिड ९५ तथा बार्सिलोना ९३ खेलमा विजयी भएका छन् । ४० खेल बराबरीमा रोकिएको छ । जित जस्तै गोलमा पनि रियल मड्रिड अघि रहेको छ ।

एल क्लासिकोमा रियल मड्रिडले ४०१ र बार्सिलोनाले ३८९ गोल गरेको छ । एल क्लासिकोमा ४०० गोलको आँकडा पूरा गर्ने पहिलो टिम बन्यो रियल ।

एल क्लासिको बार्सा भर्सेस रियल जस्तै मेस्सी भर्सेस रोनाल्डो पनि हो । एल क्लासिकोमा मेस्सी अघि छन्, गोल र जित दुवैमा अनि खेलमा पनि ।

३८ खेल खेलेका मेस्सीले २६ गोल गरेका छन् र १७ पटक जितको स्वाद लिएका छन् । उनी एल क्लासिकोका सर्वाधिक गोलकर्ता पनि हुन् । ३० खेलमा १८ गोल गरेका रोनाल्डोले ८ पटक जितेको स्वाद लिएका छन् ।

एल क्लासिकोमा बार्सिलोनाका लागि घरेलु मैदान अफाप देखिएको छ पछिल्लो केही समयदेखि । उसले सबै प्रतियोगितामा गरेर घरेलु मैदानमा भएका पछिल्ला चार एल क्लासिकोमा जित निकाल्न सकेको छैन ।

दुई खेल गुमाएको छ भने दुईमा बराबरी गरेको छ । उसले पछिल्लो पटक घरेलु मैदानमा रियल मड्रिडलाई हराएको सन् २०१५ को मार्चमा हो ।

आइतबार रातिको एल क्लासिकोलाई बार्सिलोनाका आन्द्रेस इनिएस्टाको अन्तिम एल क्लासिकोका रुपमा पनि सम्झिइने छ । इनिएस्टाले यो सिजनको अन्त्य सँगै बार्सिलोना छोड्ने बताइसकेका छन् ।

बैशाख २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्