क्याम्पस पढ्न सहारा खोज्दै दृष्टिविहीन इनावरी

भीमदत्तनगर- सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानले व्यापकता पाइरहेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया शिविरका दृष्टिविहीन इनावरी राना थारु भने क्याम्पस जान नसक्दा निराश छिन्।

विभिन्न दलका नेतादेखि जनप्रतिनिधि विद्यालय जाने बालबालिकाको अभिभावकत्व ग्रहण गर्नमा व्यस्त छन्। दृष्टिविहीन इनावरीको क्याम्पस पढ्ने इच्छा पूरा हुन सकेको छैन।

अध्ययन गरेर परिवारको भविष्य बनाउने उद्देश्यका साथ केही वर्षअघिसम्म दुई छोराको सहारामा क्याम्पस आवतजावत गर्दै आएकी इनावरी अहिले गृहिणी जीवन बिताइरहेकी छिन्। उनी हाल झलारी मुक्त कमैया बस्तीमा बस्दै आएकी छिन्।

शुक्लाफाँटा नगरपालिकास्थित श्रीकृष्ण उच्च माविमा प्रविणता प्रमाणपत्र तहमै पढाइ छाडेकी ३८ वर्षीया इनावरी अध्ययनका लागि वातावरण मिलाइदिन विभिन्न निकायलाई हारगुहार गर्दै आएकी छिन्। कहीँकतैबाट सुनुवाइ भएको छैन।

‘पढेर केही रोजगारी गरौँला सोचेकी थिएँ,’ इनावरीले भनिन्, “श्रीमान्‌समेत दृष्टिविहीन भएकाले परिवारको खर्च टार्न धौधौ परेको छ, बीचमै पढाइ छाड्न बाध्य भएँ।’

शुक्लाफाँटा नगरपालिका–१० स्थित मुक्त कमैया शिविरमा आश्रय लिँदै आएकी दृष्टिविहीन दम्पती इन्द्र राना र इनावरीको दैनिकी निकै कष्टपूर्ण रहेको छ। आर्थिक अवस्था कमजोर भएकै कारण जेठो छोरा जीवनले सात कक्षामै पढाइ छाड्नु परेको इनावरीले बताए।

“छोरालाई त पढाउन सकिएन, श्रीमतीलाई कसरी पढाउने,” इनावरीका श्रीमान् इन्द्रले भने, ‘श्रीमती अध्ययन गर्न नपाएको भन्दै निराश छिन्।”

स्थानीय तहमा भर्ना अभियानले व्यापकता पाइरहेका बेला राना परिवारलाई सो अभियानले छोएको छैन । दृष्टिविहीन इन्द्रले केही समयअघिसम्म झलारी बजारमा मजदुरी गरेर परिवारको खर्च जुटाएका थिए। उनी अहिले माछाको व्यापार गरिरहेका छन्।

झलारी बजार नजिक नदी छेउमा झुपडी बनाएर माछा बिक्री गर्दै आएका इन्द्रले दैनिक १० देखि १५ किलोसम्म माछा खपत हुने गरेको बताए। “जेठो छोरालाई स्कूल पढाउन नसकेपछि माछा पसलमै सघाउँदै आएको छ,” उनले भने, ‘दुई छोरालाई आर्थिक अभावका कारण पढाउनै नसक्ने भएँ।’

कान्छा छोरा पवन आठ कक्षामा अध्ययनरत छन्। उनको खर्च जुटाउन दृष्टिविहीन राना दम्पतीलाई धौधौ परेको छ। सरकारले कमैया मुक्त हुँदा दिएको पाँच कट्ठा जग्गामा खेतीसमेत गर्दै आउनुभएका इन्द्रले श्रीमती तथा छोराको पढाइ खर्च जुटाइदिन विभिन्न निकायलाई आग्रह गर्दै आएका छन्।

“विगतमा दुई छोराले मलाई डोर्‍याएर क्याम्पससम्म लैजान्थे।” इनावरीले भनिन्, ‘अहिले पढाइ छोडनुपर्दा रुन मन लाग्छ।”

इनावरीले २०५४ सालमा धनगढीको पञ्चोदय उच्च माविबाट एसएलसी उत्तिर्ण गरेकी थिइन्। विसं २०५८ मा झलारी मुक्त कमैया शिविरका दृष्टिविहीन इन्द्र रानासित वैवाहिक जीवनमा बाँधिइन्।

केही समय पढाइ गर्न पाएपनि पछि उनले पढाइलाई निरन्तरता दिन सकिनन्।उनले क्याम्पस पढ्न विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई गुहार्दै आएकी छिन्। उनको इच्छा भने पुरा हुन सकेको छैन्।

बैशाख २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्