डा. उपेन्द्र देवकोटालाई बिरामीको पत्र

भगवान्, मेरो आयु पनि डा. देवकोटालाई थपिदेऊ

डा. उपेन्द्र देवकोटाज्यू

नमस्कार।

२०४८ साल असोजमा मैले रोगीको नाताले तपाईंसँग भेट्न पाएको थिएँ। त्योभन्दा पहिले मैले भदौ महिनामा काठमाडौं आएर डा. दिनेशविक्रम शाहलाई देखाएँ। उहाँले एक्स-रे पनि गर्न लगाएर हेर्नुभयो र व्यथा पहिचान गर्न सक्नुभएन। साधारण भोभेरा नाउँको ट्याबलेट दिएर विदा गर्नुभयो। त्यो पटक तपाईंसँग भेट हुन सकेन। तपाईं विदेश जानुभएको रहेछ।

घर फर्केर गएपछि व्यथाले घट्ने नाउँ लिएन। तपाईंकोबारे चासो राखिरहेको थिएँ। तपाईं आएको थाहा पाएपछि नाउँ लेख्न लगाई तोकिएको दिनमा जँचाउन पहिलेका कागज लिएर उपस्थित भएँ। एक्स-रे हेरेर मेरो घाँटीको cनसा खुम्चेको बताउनुभयो। traction प्रयोग गर्न र कलर लगाउन सल्लाह दिई केही घाँटीका एक्सरसाइज सिक्न पनि सुझाव दिनुभयो। मैले भनेअनुसार गरें। छ हप्तापछि राम्रो भएर तपाईंलाई भेट्न गएँ। केही सुझाव दिएर खुसीसाथ बिदा दिनुभयो। म सन्चो भएँ नसाको पीडाबाट।

२०५४ सालतिर बल्झ्यो। एक्सरसाइज नियमित नभएको भनी तपाईंले सचेत गराउनुभयो। छिटै जाँचबुझका काम सकिएकाले अन्य कुराकानी भए। विमानस्थल भन्सारले तपाईंले विदेशबाट ल्याएका केही उपयोगी यन्त्रहरूमा निकै रकम तिराउन खोजेकाले सामान नछुटाएको कुरा कोट्याएँ। विस्तृत कुरा बताउनुभयो। मनको दुःख पोख्‍नुभयो। तपाईंका लागि केही ‘ठूला मान्छे’ सहयोगी बनेनन्।

२०७२ साल असारमा फेरि व्यथा बल्झ्यो। निकै पीडा भयो। मेरो निजी अभ्यासले काम गरेन। फेरि सहारा खोज्दै तपाईंकहाँ गएँ। एमआरआई गरेर व्यथाको अवस्था हेर्नुभयो र निरन्तर traction प्रयोग गर्न र कलर लगाउन सल्लाह दिनुभयो। राति पनि कलर लगाएँ। व्यथा कम हुँदै गयो। करिब दुई महिनापछि म लगभग सन्चो भएँ।

विश्वराज ढुङ्गाना

तपाईंले मेरो रोग ८० प्रतिशत निको भएमा पनि खुसी हुनुपर्ने बताउनुभएको थियो। हड्डीले बेलाबेलामा नसो च्याप्ने समस्या रहेछ मेरो। धेरैबेर निहुरिँदा वा तकिया नमिल्दा व्यथा ज्यूँदै छ भन्ने अनुभव अहिले पनि हुन्छ। म अहिले ठीक छु। तपाईंलाई सम्झना नहुनसक्छ र देखेपछि चिन्नुहुन्छ। म पोलियो पीडित व्यक्ति हुँ। पहिलो र दोस्रो भेटमा असामान्य रूपले अलिअलि हिड्थें।अहिले ह्विलचेयर नै मेरो सहयोगी बनेको छ।

एउटा अपाङ्ग व्यक्ति भएर पनि लगभग ४० वर्ष पढाउने काम गरें। अहिले पेन्सनले पेट पालेको छु। मलाई सहज रूपले पढाउन सक्ने बनाउन तपाईंले गरेको सहयोग बिर्सन नसकिने छ। तपाईं मेरा लागि महान हुनुहुन्छ।

ईश्वरले मेरो केही आयु थपेर तपाईंलाई निरोगी र दीर्घायु बनाइदिए म कति खुसी हुन्थें, म भन्न सक्तिनँ।

तपाईंले आफ्ना सहयोगी डाक्टहरूको समूहमा मलाई “ही इज इन्टेलिजेन्ट” भनेर मूल्याङ्कन गरेको मलाई सम्झना छ। मैले एसएलसी परीक्षा उत्तीर्ण गरेको अर्को साल तपाईं मर्यादित ढङ्गले उत्तीर्ण भएको मलाई उसैबेला जानकारी थियो। समयक्रमले तपाईं लाखौं नेपालीलाई बाँच्न सहयोग गर्ने मान्छेको रूपमा प्रतिष्ठित हुनुभयो।

डाक्टर साहब, आत्मविश्वास दरिलो बनाउनुहोस्। तपाईंको रोग निको हुन्छ, हुनुपर्छ। ईश्वरलाई अन्याय गर्ने अधिकार छैन। तपाईंलाई लाखौं नेपालीको आशीर्वाद छ।

शुभाकाङ्‍क्षी

विश्वराज ढुङ्गाना

पूर्वशिक्षक :   त्रिमावि कटारी उदयपुर

हाल, बूढानीलकण्ठ नपा– १०, कपन

बैशाख २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्