देवकोटासँग २७ वर्षदेखि जोडिएको एक बिरामीको सम्बन्ध

डा. देवकोटा भन्थे, पहिले हाँस अनि बल्ल हेर्छु रिपोर्ट

आफ्नो उपचार गरिरहेका डा. उपेन्द्र देवकोटालाई भेट्न बाँसबारीस्थित न्युरो अस्पताल पुगेकी गोरखा पालुङटारकी राधिका देवकोटा । तस्बीर /दीपा दाहाल

काठमाडौं: पहिले अनुहार उज्यालो बनाऊ अनि मात्र सोध्छु तिम्रो स्वास्थ्यबारे। तिमीहरुको हाँसोबिना रिपोर्ट हेर्ने बानी छैन मेरो। थाहा छ नि हैन? आफ्नो अघिल्तर कुर्चीमा बस्ने बिरामीलाई यस्तै भन्थे डा. देवकोटा। डा. देवकोटाले बिरामीलाई हाँस भन्न नपाएको पाँच महिना काट्यो। तर उनले हरेक पटक रिपोर्ट हेर्नु अघि हाँस भनेको सम्झनेहरुको लर्को लामै छ यतिबेला बाँसबारीस्थित न्यूरो अस्पतालमा उनको अनुहार हेर्नका लागि। यस्तै लामो लर्कोको एक पात्र हुन राधिका देवकोटा।

टाउको चड्किएका बेला पनि बिरामी फिस्स हाँस्दै उनका अघिल्तिर उभिन्थे र कुर्चिमा बसेपछि लामो व्यथा सुनाउन सुरु गर्थे। अनि बल्ल सुरु हुन्थ्यो डा. देवकोटाबाट बिरामीको स्वास्थ्य जाँच।  प्रख्यात न्युरोसर्जन डा. उपेन्द्र देवकोटालाई लाग्थ्यो बिरामी हाँसे भने उनीहरुले खेपेको समस्याबारे निर्धक्क भन्न सक्छन्। र आफ्नो उपचार प्रक्रिया स्पष्ट हुन्छ। त्यसैले हरेक बिरामीको अनुहार उज्यालो खोज्थे उनी अति व्यस्त दैनिकीमा पनि। त्यसैले अहिले उनी आफ्नै अस्पतालको शैयाबाट जीवन लम्बाउने कोसिस गरिरहँदा उनलाई सम्झिएर बिरामी भक्कानिरहेका मात्र छैनन्, उनको स्वास्थ्य लाभको प्रार्थना पनि गरिरहेका छन्, बाँसबारी पुगेर मात्र होइन गाउँका कुना कन्दराबाट पनि।

….

तीनैमध्येकी एक हुन गोरखा पालुङटारकी ४८ वर्षीया राधिका देवकोटा। थर र जिल्ला मिलेर राधिका डा. उपेन्द्रसँग नजिकिएकी पक्कै थिइनन्, २७ वर्षदेखि आफ्नो निरन्तर उपचार गरेर जीवन जोगाइदिएकोमा निकै अनुग्रहित छन उनी डा.देवकोटाप्रति।

लामो उपचार प्रक्रियामै राधिकाले थाहा पाइन् देवकोटाका केही त्यस्ता आनीबानी जसले बिरामीलाई सहज बनाउथ्यो र बाँच्ने आसा जगाइदिन्थ्यो। आफूलाई जीवन दिने डा. देवकोटा बिरामी भएको सुनेपछि राधिका आत्तिएर भेट्न आएकी थिइन् गोरखादेखि। डा. देवकोटालाई भेट्नेको लर्को देखेपछि मन बुझाउन डा. देवकोटाले केही महिना अघिसम्म आफुलाई जाँच्ने र लामो समय सम्झाउने गरेको कोठामा पुगिन्। तर डा. देवकोटाले जाँचका क्रममा आफूजस्तै बिरामी र डा. देवकोटा बस्ने कुर्ची देखाउँदा उनी भक्कानिन्।

सम्हालिन उनलाई धेरै बेर लाग्यो। पालो आएपछि आँसु पुछ्दै डा. देवकोटालाई भेट्न दोस्रो तलको ‘भीभीआईपी’ कक्षतिर उक्लिन्।

‘तिमीलाई राम्रो छ ? दुखी हुनुहुन्न है,’ आफ्नै जीवनसँग लडिरहेका डा.देवकोटाले त्यसो भन्दा थामिएका राधिकाका आँसु फेरि झर्न थाले र स्वास्थलाभको कामना गरेको कुरा मनमै राख्दै बाहिरिन् उनी।

….

केही समयको अनौपचारिक कुराकानीपछि राधिका हामी र हाम्रो क्यामेरा अघिल्तिर बोल्न तयार भइन् र डा. देवकोटासँगको उपचारका क्रममा बिताएका विगतमा डुबिन्।  २२ वर्षको उमेर, जोश र होस भरिँदै गएको जीवन, आाफू र समाजका लागि केही राम्रो गर्ने चाहना फक्रिँदै थियो। तर आफ्नो बारीमा मकै खान आएको छिमेकीको गोरुलाई धपाउन खोज्दा उल्टै राधिकालाई उधिन्यो। सबैभन्दा बढी चोट उनको ढाडमा पर्‍यो। तत्कालै उनी बिएण्डबी अस्पताल आइन्। ढाडको समस्या निको भएजस्तो भएपनि २०४८ सालबाट उनको टाउको नराम्ररी दुख्न थाल्यो।

….

डा. देवकोटा वीर अस्पतालमा कार्यरत थिए र त्यतिबेलै उनी धेरै बिरामीको मनमा बसिसकेका थिए, उनको मेहनेत र सेवाभावको बानीका कारण। राधिकाको भाइको उपचार गरिसकेका डा. देवकोटालाई भेट्न वीर अस्पताल जान त्यति समस्या भएन। बाहिर अध्ययन गरेर आएपछि पहिलो शल्यक्रिया डा. देवकोटाले राधिकाको भाइ वासुदेव आचार्यको गरेका थिए २०४७ सालमै।  डा. देवकोटाले राधिकाको टाउको दुख्ने समस्या हल गर्न तीन पटक शल्यक्रिया गरे र औषधि दिइरहे। औषधिले सुरुमा काम गरेपनि पछि गर्न छोड्यो। २०५८ साल पुस २७ गते राधिकाको चौथो पटक शल्यक्रिया गरे डा. देवकोटाले।

‘सहन नसक्ने टाउकोको दुखाइ, पटकपटकको शल्यक्रिया, उपचारका लागि गोरखादेखि काठमाडौंको यात्राले म धेरै गलिसकेको थिएँ। मलाई देखेपछि कहिलेकाहिँ डा.देवकोटालाई पीडा पनि हुन्थ्यो जो म उहाँको आँखामा देख्न सक्थे। पछि सुगर पनि थपियो मलाई। तर पनि उहाँले निरन्तर सान्त्वना दिँदै उपचार गरिरहनु भयो र मलाई बाँच्न मात्र होइन हाँस्न पनि सिकाउनु भयोे’, राधिकाले आफैँलाई नियाल्दै भनिन्,  ‘उहाँ नभइदिएको भए म कहाँ रहन्थेँ र!’

….

डा. देवकोटाले आफ्ना लागि र समाजका लागि पनि स्वास्थ्य सेवाको विस्तार खोज्दै वीर र नर्भिकमा सेवा दिएर आफ्नै न्युरो अस्पताल खोल्न पुगे र त्यसलाई देशकै नमूना बनाउन पनि सफल भए।  यता राधिकाको उपचारमा डा. देवकोटा जहाँ गएपनि प्रभाव परेन, डा. देवकोटा जहाँ जहाँ पुगे उनी पनि पछिपछि लागिरहिन, विश्वास बढेको थियो डा. देवकोटाप्रति र लम्बिएको थियो उनको जीवन।

‘डा. देवकोटाले मलाई उपचार मात्र गर्नु भएन त्यो सफल गराउने काम पनि सिकाउनु भयो। त्यसैले त उहाँले पछिल्लो पटक शल्यक्रिया गर्दा अव तिमीलाई १० वर्ष त केही पनि हुन्न भन्नु भएको थियो। तर १५ वर्ष भयो मलाई केही पनि भएको छैन।’

राधिकाको जीवन लम्बिनुमा डा. देवकोटाको उपचारसँगै उनले दिएका सुझाव पनि हुन्, जसलाई राधिकाले नित्यकर्म बनाइन्।
‘मेरो रोग थाहा पाएपछि मैले औषधि नियमित खानुका साथै खानपानमा ध्यान दिएँ, नियमित योग र ध्यान पनि गर्दै छु र सबैभन्दा ठूलो कुरा हाँसिरहन्छु’, राधिकाले मनको कुरा खोलिन्, ‘उहाँ मेरा लागि भगवान हो र गुमाउने सपना पनि देख्न चाहन्न।’

टाउको दुःख्नुमा रोग मात्र नभएर लिइने पीर पनि मुख्य बताउँथे डा. देवकोटा। त्यसैले बिरामीलाई भन्थे पीर गर्न छोड पहिले अनि रोगले छोड्छ।

‘मेरो सधैँ टाउको दुख्ने। सर मेरो टाउको अझै दुखिराछ भन्थेँ। उहाँले तिमीले धेरै पिर गरेर हो टाउको दुखेको भन्नु हुन्थ्यो’, राधिकाले डा. देवकोटालाई सम्झिन्, ‘तिमीले औठी लगाएर आएको खै त त्यो हेरेपछि तिमी घटेको वा बढेको थाहा हुन्थ्यो भन्दै डा.देवकोटाले गर्ने गरेको ख्यालठ्टा।’  कुराकानीका क्रममा राधिकाको अनितम वाक्य थियो,’ डा. देवकोटाले बिरामीको उपचार गर्न नसकेपनि उहाँलाई सजिलो होस् र हामीले देखिरहन पाउँ अहिलेको जस्तै हँसिलो अनुहारमा।’

बैशाख २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्