‍चट्याङ लागेर एकै परिवारका चार घाइते

बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिकामा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन्।

शनिबार राति परेको चट्याङ लागेर जगन्नाथ गाउँपालिका–२ लुमामा एकै परिवारका चारजना घाइते भएका छन्।

घाइते हुनेमा गोरख सार्कीको श्रीमती जुनपुरा सार्की, छोरी रेश्मा सार्की, मीना सार्की छोरा जीवन सार्की र छाया सार्की रहेका छन्। घाइतेमध्ये १३ वर्षका छाया सार्कीको अवस्था गम्भीर रहेको गाउँपालिकाका प्रवक्ता डबल विकले जानकारी दिए।

गम्भीर घाइते छायाको उपचार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा भइरहेको छ भने अन्यको जगन्नाथ स्वास्थ्य चौकीमा भइरहेको छ।

खाना खान भनेर बसिरहेको बेला परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन्। चट्याङका कारण घरभित्र रहेको समानमा क्षति पुगेको छ भने घरको छानो समेत भत्किएको छ।

शनिबार रातिकै हावाहुरी र असिना पानीले जिल्लाका विभिन्न स्थानको अन्न र तरकारी बालीमा क्षति पुगेको छ। त्रिवेणी नगरपालिकामा असिनाले तरकारी र गहुँबालीमा क्षति पुर्‍याएको छ।

बैशाख २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्