मोदीको भ्रमण सफल बनाउन सरकारले कुनै कसर बाँकी राख्दैन- मन्त्री पण्डित

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले मोदीको दुई दिने नेपाल भ्रमणलाई पूर्ण रुपमा सफल बनाउनको लागि सरकारले आवश्यक तयारी गरिसकेको बताएका हुन्।

उनले भने,‘भारतीय प्रधानमन्त्री मोदीजीको भ्रमण सफल बनाउनको लागि सरकार, यहाँका वैधानिक राजनीतिक दलहरु, सामाजिक संघ÷संस्थाहरु सक्रिय भएर लागिपरिरहेका छन्, अहिले हामी उनको भ्रमणको व्यवस्थापन गर्न अहोरात्र खटिरहेका छौं, वास्तवमै भन्ने हो भने एक हिसावले तीव्र रफ्तारमा काम भैरहेको छ।’

साक्षात्कारमा बोल्दै उनले भने,‘मोदीजी भ्रमणको सिलसिलामा जहाँ–जहाँ जानुहुन्छ, त्यहाँ–त्यहाँ अहिले विशेष तयारी भैरहेका छन्, विशेषगरि सजावटका कामहरु धमाधम भैरहेका छन्।’ मोदीलाई जनकपुर विमानस्थलमा नेपाल सरकारका बरिष्ठ मन्त्रीले स्वागत गर्ने उनले जनाए। त्यस्तै जनकपुरको जानकी मन्दिरमा मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा पूजा गर्ने कार्यक्रम रहेको पनि मन्त्री पण्डितले बताए।

भ्रमणको दौरान राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर द्धिपक्षीय हितका विषयमा कुराहरु हुने पनि उनले जनाए । त्यस्तै उनले मोदीसँग राजनीतिक भेटघाटहरुपनि हुने बताए। नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमण जसरी सफल भएको थियो, ठिक त्यसैगरि मोदीको नेपाल भ्रमणलाईपनि सफल बनाउन आफूहरु लागिपरिरहेको उनको विश्वास थियो।

मन्त्री पण्डितले मोदीको भ्रमणसँगै नेपाल-भारत द्धिपक्षीय सम्बन्ध थप प्रगाढ हुने स्पष्ट पारे। ‘नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा थप सकारात्मकताको सुरुवात हुन्छ’ उनले थपे,‘भारतका प्रधानमन्त्री आउनुभयो भन्दैमा हामी हरेक कुरा उहाँले गरिदिनुपर्छ भनेर ठूलो लिष्ट लिएर बस्दैनौं, र मलाई अहिलेसम्म त्यस्तो लिष्ट बनेकोपनि थाहा छैन।’ मोदीको भ्रमणको दौरानमा बडो सौहार्दपूर्ण कुराकानीहरु हुने पण्डितको विश्वास छ।

मोदीको भ्रमणपछि नेपाल–भारत सम्बन्ध उच्च स्तरमा पुग्ने बताउँदै पण्डितले भने,‘सकारात्मक भविष्यको लागि सकारात्मक कुराहरु हुन्छन्, विगतमा भएका सम्झौताहरुलाई कार्यान्वयन गर्ने कुरामा हामी जोड दिन्छौं।’भ्रमणको दौरान नेपाल र भारतबीच रहेको १९५० को सन्धि र सिमा विवादबारेपनि छलफल हुन सक्ने पण्डितले जनाए।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल र राम्रो बनाउन आफ्नो पार्टी लागिपरिरहेको बताएका छन्। उनले भने,‘मोदी नेपाल आउने कुरा ज्यादै खुशीको कुरा हो, भ्रमण हुनु एकदमै राम्रो कुरा हो, यसले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अझै गाढा हुनेछ, भारत र नेपालबीच ज्यादै राम्रो सम्बन्ध छ, सबै हिसावले हामीबीच घनिष्ठ सम्बन्ध छ।’

नेता रायमाझीले नजिक हुनुको नाताले द्धिपक्षीय सम्बन्धमा कहिलेकाहीँ उतारचढाव आउनु स्वभाविक भएको तर्क गर्दै अब विगतका तिता तथा मिठा घट्नाहरुलाई विर्सनुपर्नेमा जोड दिए। उनले भने,‘अब उहाँको भ्रमणकै बेला एक दिनमै सन्धि तथा सम्झौता पूनरावलोकन हुने कुरा होईन, यसको लागि गम्भिर गृहकार्य गर्नुपर्छ।’ मोदीको भ्रमण सफल र पूर्ण सार्थक बनाउनको लागि आफ्नो पार्टीले कुनै पूर्ण रुपमा कोशिस गर्ने पनि उनको विश्वास छ।

फरक प्रसँगमा उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई दुवै पार्टीका नेताहरुले सफल पारेरै छाड्ने जिकिर गरे।उनले भने,‘पार्टी एकता आजको आवश्यकत्ता हो, ईतिहाँस र राष्ट्रको आवश्यकत्ता हो, यसलाई सफल पारेरै छाड्नुपर्छ।’ यद्धपी उनले एकता गर्ने जस्तो कुरा सहज र सजिलो विषय नभएको जिकिर गरे। उनले भने,‘हामीबीच धेरै कुराहरु मिलिसकेका छन्, अब थोरै विषयमा सहमति हुन बाँकी छ, छिट्टै एकता हुन्छ।’

नेता रायमाझीले एमाले–माओवादी केन्द्रबीचको सहकार्यलाई जतिसक्दो एकतामा रुपान्तरण गर्नुपर्ने आवश्यकत्ता औंल्याए। उनले भने,‘यसका लागि गम्भिर गृहकार्य गर्नुपर्छ, एकताको मिति तोक्ने कुरामा मेरो असहमति छ, त्यस्तै एकताको लागि संख्या तोक्ने वा प्रतिशत भनेर भन्ने कुरा होईन, एकता त सम्मानजनक रुपमा हुनुपर्छ, एकता गरिसकेपछि दुवै पार्टी नेता तथा कार्यकर्ताहरुलाई भावानात्मक रुपमा पनि एक भएको महशुस हुनुपर्छ।’ एकताको लागि संख्या र प्रतिशत तोक्ने कुरा कुनै पनि हालतमा राम्रो नभएको उनको जिकिर थियो।

कार्यक्रममा पूर्वराजदुत एवम् परराष्ट्रविद डा. शंकर शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा अरुण तेस्रो परियोजना, रेलमार्ग, जनकपुरको विकासमा प्योकेज घोषणा र रामायण सर्किट बनाउने विषयमा सकेसम्म यति समयभित्रै काम सक्ने वा कार्यान्वयन गर्नेबारे समझदारी गर्न सुझाव दिएका छन् ।
शर्माले हरेक देशको विदेश नीतिको आ-आफ्नै महत्व हुने बताउँदै नेपालको भारतसँग विशेष सम्बन्ध रहेको स्पष्ट पारे । उनले भने,‘भारतसँग हाम्रो दुई तिहाईको ट्रेड सम्बन्ध छ, नेपालमा सबैभन्दा बढि लगानी भारतकै छ, हामीबीच राजनीतिक, सामाजिक, साँस्कृतिक, कुटनीतिक सबै सम्बन्धहरु छन्, खासमा भन्ने हो भने नेपाल र भारतबीच यूनिक सम्बन्ध छ।’

पछिल्लो दुई÷तीन वर्ष यता नेपाल र भारतबीच केही उतारचढाव सम्बन्ध रहेपनि अहिले द्धिपक्षीय सम्बन्ध सुधारको बाटोमा रहेकोले नेपालले अधिकतम् फाईदा लिनुपर्ने उनको भनाई छ। उनले भने,‘नेपाल र भारतबीच धेरै राम्रो सम्बन्ध छ, वास्तवमै भन्ने हो भने हामीबीच राम्रो हाईवेमा सम्बन्ध छ, आगामी दिनमा सम्बन्ध सुदृढ र राम्रो बनाउनुपर्छ।’

नेपालका ७ वटै प्रदेशलाई ईण्डष्ट्रियल स्टेट बनाउने र १४ वटा ईकोनोमिक जोन बनाउने तयारी भैरहकोले यसको लागि भारतीय लगानी गर्न सके राम्रो हुने उनको तर्क थियो। मोदीको भ्रमणमा यस विषयमा पनि कुरा गर्दा राम्रो हुने शर्माले बताए।

त्यस्तै मोदी जनकपुर र मुक्तिनाथको पनि भ्रमणमा जाने भएकोले नेपालले पर्यटन क्षेत्रको विकासमा पनि ध्यान दिन सरकारलाई आग्रह गरे। उनले भने,‘जनकपुरमा रामायण सर्किट बनाउने कुरा धेरै राम्रो हो, मुक्तिनाथ र जनकपुर मोदीजी जाने भनेपछि धार्मिक पर्यटनको पनि विकास हुन्छ, यो सुखद् पक्ष हो।’

नेपाल–भारतबीच रहेको ट्रान्जिट र बोर्डर समस्यापनि हल गर्नेगरि दुवै देश केन्द्रित हुनुपर्ने शर्माको सुझाव छ। उनले भने,‘ट्रान्पोर्टेशन कष्ट घटाउनुपर्छ, अब सम्झौताको लागि सम्झौता मात्रै गर्नुहुँदैन्, कृषिसम्बन्धी साझेदारी बढाउनुपर्छ, नेपालमा कृषिको विकास गर्नुपर्छ, जसरी भारतमा हरितक्रान्ति भएको छ, हिमाञ्चल प्रदेशमा हिजोका भरियाहरु आज मालिक बनेका छन्।’

हाईड्रो पावरको विकासको लागि ईनर्जी बैंकबारे पनि औपचारिक तथा अनौपचारिक बैठकहरुमा कुरा हुनुपर्ने शर्माले बताए। त्यस्तै उनले नेपाल र भारतबीच रहेको सबै खाले समस्या र विवाद हल गर्नको लागि गठित नेपाल-भारत प्रवुद्ध व्यक्ति समूहले सुझाएका सबैखाले सुझाव तथा सल्लालाई दुवै सरकारले ग्रहण गर्नुपर्ने पनि धारणा राखे।

बैशाख २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्