मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- ५)

बिरामीले पैसा दिए लिने, नदिए पनि धर्म त हुन्छ!

सायद यो कुरा जान्ने चाहना धेरैको होला। कुन उमेरमा डाक्टर बन्न चाहेँ म! सम्झँदा लाग्छ, पिताजी होमनाथ देवकोटाले आयुर्वेद उपचारको अभ्यास गर्दा म उहाँलाई सहयोग गर्थेँ, सानैदेखि। जडिबुटी कुट्थेँ, पुरिया बनाउँथेँ। यद्यपि त्यो पद्धति पक्कै पनि वैज्ञानिक थिएन।

यूएमएनबाट डाक्टर आइसकेका थिए गोर्खामा। उनीहरुको उपचार लाग्ने, रोग ठ्याक्कै निको हुने। पिताजीको उपचार छोडेर त्यतातिर लाग्ने सोच बन्न थाल्यो ममा।

विज्ञापन

तर, म डाक्टर नै बन्छु भनेर घोषणा गरेँ कक्षा ७ मा छँदा। समाजसेवी डा. इभामुरा स्कुल आउनुभएको थियो। उहाँले  व्यक्तिगत रुपमा सबै विद्यार्थीसँग भेट्नुभयो। पहिलो बीसीजी भ्याक्सिन उहाँकै टीमले दिएको हो हाम्रो स्कुलमा। त्यही क्रममा दिनभरि विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नुभयो उहाँले।

पढेर ठूलो भएपछि के गर्छौ?

मैले डाक्टर हुन्छु भनेँ। गाउँ फर्क, देश फर्क, डाक्टर बन्नुपपर्छ भन्नुभो उहाँले। ब्रेनड्रेन सुरु भइसकेको अवस्था थियो। त्यसैले गाउँ फर्कने र देश फर्कने कुरा गर्नुभएको थियो उहाँले।

धेरैपछि मैले एमबीबीएस अध्ययन सुरु गरेपछि भेट भयो उहाँसँग। आँपपिपलबाट उहाँ डुम्रे जाँदै हुनुहुन्थ्यो, म डुम्रेबाट घर। उहाँलाई चिनाएँ, म त्यही विद्यार्थी हो पनि भनेँ। खुसी हुनुभयो।

मेरो पिताजी भन्ने गर्नुहुन्थ्यो, ‘चिकित्सा कहिल्यै पनि निष्फल हुँदैन।’

क्वचिद् धर्मः क्वचिन्मैत्रि क्वचिदर्थः क्वचिद्यशः ।

कर्माभ्यासः क्वचिच्चेति चिकित्सा नास्ति निष्फला ।।

सार हो, कहिले धर्म हुन्छ, कहिले मित्रता। कहिले पैसा पाइन्छ र कहिले यश। यीमध्ये केही पाइएन भने पनि चिकित्साको अभ्यास त हुन्छ नै। त्यसैले चिकित्सा कहिल्यै निष्फल हुँदैन।

त्यसबेला बिरामीलाई घरमै राखेर औषधि गर्ने चलन थियो। पैसा दिए लिने,  नभए नलिने, धर्म हुन्छ भनिन्थ्यो। आजभोलि जस्तो व्यापारीकरण भएको थिएन चिकित्सा पेशा।

कलेजको कुरा गरौँ अब, डाक्टर पढ्ने निर्णय त गरियो, मान, सम्मान, इगो कस्तो हुँदो रहेछ, त्यसको अनुभव र अनुभूति पनि गरेँ, भोगेँ। एसएलसीमा राम्रै नम्बर ल्याएँ। डाक्टरी पढ्न बायोलोजी र इन्जिनियरिङ गर्न म्याथ्स पढ्न पर्ने। बुझ्दै जाँदा बायोलोजी पढेर फस्ट डिभिजन ल्याएको कसैले थिएन। सेकेण्ड डिभिजन ल्याउन त के पढ्ने? बरु मेडिकल नै नपढ्ने सोच आयो।

कहिले धर्म हुन्छ, कहिले मित्रता। कहिले पैसा पाइन्छ र कहिले यश। यीमध्ये केही पाइएन भने पनि चिकित्साको अभ्यास त हुन्छ नै। त्यसैले चिकित्सा कहिल्यै निष्फल हुँदैन।

उता घरबाट पनि मेडिकल नै पढ्ने निर्णय भएको थियो। ठूल्दाइ वाचस्पति जेलबाट छुटेर आउनुभएको थियो। उहाँले लगेर भर्ना गरिदिनुभयो, बायोलोजीसहित।

डा. राममान श्रेष्ठ म्याथको टिचर हुनुहुन्थ्यो त्यहाँ, दाइको साथी। म म्याथ पढ्न थालेँ। एक दिन दाइले पढाइबारे सोध्नुभो। म्याथ पढ्न थालेको बताए उहाँलाई। त्यत्रो घमण्ड! अचम्म लाग्छ अहिले सम्झँदा पनि आफैँलाई। दाइले धेरै सम्झाउनुभयो। आफूले नसकेपछि सिन्धुनाथ प्याकुर्‍यालका साथै डा.शम्भुनाथ प्याकुर्‍याल दाइलाई बुझाउन लगाउनु भयो। पकनाजोलमा थियो उहाँको घर। उहाँ भर्खरै पेरिसबाट भाइरोलोजीमा पीएचडी गरेर फर्कनुभयो। त्रिपुरेश्वरमा भेटेरेनरी अस्पतालमा काम गर्नुहुन्थ्यो।

उहाँले भन्नुभयो, राम्रोसँग पढे बायोलोजीमा पनि फस्ट डिभिजन आउँछ। दोस्रो, डाक्टरी पढ्ने निर्णय गरेपछि म्याथ्स किन पढ्नु। उहाँको सुझावपछि करीब २ महिनामा म्याथ्सबाट बायोमा सरेँ। ‘आइ कुड मेक अप!’ (मैले छुटेको पाठ कभर गर्न सकेँ)। वास्तवमा हाम्रो ब्याच पहिलो भयो, बायोलोजी लिएर फर्स्ट डिभिजन ल्याउने। एसएलसीको नम्बर र डिभिजनलाई धेरै महत्व दिइँदा उत्पन्न मनोविज्ञानको परिणाम हो यो। आखिर डाक्टर हुन आइएससीमा राम्रो सेकेण्ड डिभिजन भए पुग्थ्यो, तर डिभिजन बारेको प्रचलित मान्यताले हाम्रो मानसिकतालाई प्रभावित गर्‍यो।

हामीले एसएलसी दिने वर्ष स्कुलको निकै तयारी थियो। मन परेका र नपरेका विद्यार्थीहरुको ध्रुवीकरण बुझिने र देखिने गरी भइसक्याथ्यो। टेस्ट पास गरेर एक महिना पहिले नै सदरमुकाम बस्न थाल्यौँ। यो ब्याचबाट स्कूलले धेरै आशा राखेको थियो। दुईजना शिक्षकहरु हरेक दिन पालोपालो विद्यार्थीलाई भेट्न आउने गर्नुहुन्थ्यो, परिक्षा सकुञ्जेलसम्म। डेराडेरामा गएर परीक्षा सफलताको लागि विस गर्ने र सकिएपछि कस्तो भयो भनेर सोधपुछ गर्नुहुन्थ्यो उहाँहरुले। तर, दुई देवकोटालाई कहिल्यै सोधिएन। म र अर्को भरत देवकोटा। वास्तवमा हामीप्रतिको उनीहरुको व्यवहारबारे हामीलाई जानकारी थियो पहिलादेखि नै। त्यसैले हामीले काठमाडौँमा सेन्टर राख्ने अनुमति चाहेका थियौँ। दाइ पनि त्यतै, तयारी राम्रो हुने भन्दै स्कूललाई दबाब दियौँ। हेडमास्टरले मान्नु भएन। सबै एकै ठाउँमा जानुपर्छ भन्नुभयो।

हाम्रो आशंका त्यत्तिकै थिएन। उहाँहरु सबैको डेरामा जाँदा हामीहरु छुट्ने। विद्यार्थी त सबै बराबर हुनुपर्ने, अन्तमा जाँच सकियो। परिक्षामा राम्रै गरियो। मेरो लेखाइ तथा उत्तरहरु पाठ्यपुस्तक भन्दा बाहिर छिरालिन्थे। धेरै राम्रो नम्बर आउँदैन मेरो भन्ने थाहा थियो। एक्जामिनर (परीक्षक)ले त्यो किसिमको विवेक प्रदर्शन गर्दैनन् भन्ने थाहा थियो।

एसएलसी सकिएको भोलिपल्टै पिताजीले भर्खरै खुलेको गाउँको मिडिल स्कुलमा मास्टर छैनन्, गएर पढाइदे भन्नुभो। अंग्रेजी, म्याथ र साइन्स तीनओटै विषय पढाउन थालें। विज्ञानको प्रयोग (एक्सपेरिमेन्ट) गर्नुपर्ने भो, विद्यार्थीलाई बुझाउन। ‘ट्रोन्सपिरेसन’ मा विरुवाले पानी जराबाट लिन्छ र पातबाट फ्याँक्छ भन्ने देखाउनु थियो। स्कुलको बारको सजिवनको बोट लगेँ। वैशाखको महिना थियो। त्यसलाई प्लास्टिकको थैलोमा राखेँ। भोलिपल्ट त्यसमा पानी देखियो।

रोचक तरिकाले विद्यार्थीहरुले बुझे। अरु विषयमा पनि रोचक तरिकाले पढाउन थालेँ। ‘एक्सपेरिमेन्ट’ देखाउँथेँ। यसैबीच एसएलसीको रिजल्ट भयो। रिजल्ट राम्रै भयो। विद्यार्थीहरु एयरपोर्ट (पालुङटार) सम्म ‘सीअफ’ गर्न पुगे। गोरखाबाट काठमाडौँ पुगियो। त्यहाँ अमृत साइन्स कलेजमा पढ्ने निधो गरिसकेको थिएँ।

आइएससी पढ्दासम्म नै मैले जीवनको सबभन्दा ठूलो मार खेप्नु पर्‍यो। घरबाट खबर आयो, आमा सिकिस्त हुनुहुन्छ भनेर। तीज र दशैँबीचको समय थियो त्यो। आमा हुनुहुन्न भन्ने बुझ्यौँ। दाइ र म पहाडतर्फ लाग्यौँ हिँडेर। बर्खामा एयरपोर्ट बन्द हुने गर्थ्यो। आमाको १३ दिनको काम सकेर फर्कँदा दशैँ छुट्टी भइसकेको थियो। निर्णायक जाँच दिने बेला आमा बित्नुभयो। त्यहीबीच अर्गानिक केमेस्ट्रीका पुरै च्याप्टर पढाएर सकिएछ कलेजमा। जाँच आउने बेला कोर्स दौडाइन्थ्यो।

केही थाहै छैन आफूलाई अर्गानिक केमेस्ट्रीबारे। मैले सुरुमै एउटा प्रण गरेको थिएँ, जति सक्यो आफैँ अध्ययन गर्छु, ट्युसन पढ्दिन। धर्मसंकट आइलाग्यो। कसरी ‘मेकअप’ गर्ने? एक जना साथी होमबहादुरसँग मिलेर अध्ययन गर्न थालेँ, उनले क्लास एटेन्ड गरेका थिए। ‘मेक अप’ गरेँ। टेस्ट पास गरेँ, फाइनल राम्रै भयो। आइएस्सीपछि डाक्टर हुने निश्चित भयो। घरको माहोल पनि अर्कै भयो। आर्थिक र इज्जतको हिसाबले पनि फरक पार्‍यो। पिताजीको खर्चले सबै खर्च धान्न गाह्रो थियो। दाइहरुले काम गर्न थाल्नु भा’ थेन। सबैतिर खर्च भइरहेको बेला स्कलरसिपमा डाक्टरी पढ्ने मौका पाएँ। द्वन्द्व चर्किन्थ्यो होला यदि म पनि काठमाडौँमा नै बस्न परेको भए। पिताजी यी सबै परिस्थितिले इरिटेट हुने गर्नुहुन्थ्यो।

चैतमा रिजल्ट भो। साउनमा एमबीबीएस पढ्न डिब्रुगढ (आसाम) गएँ। सानो सुटकेस भिरेर। प्लेन पनि आफूले पहिले पालुङटारबाट चढेको भन्दा बेग्लै, रमाइलो। खानेकुरा स्यान्डविच, चिया पनि दियो। बीएस्सी पास गरेर एउटै कलेजमा एमबीबीएसका लागि छानिएका र अहिलेसम्मकै मित्र गौरीशंकर अधिकारी पनि मसँगै थिए। स्कटिस कोट, टाई लगाएर एयरपोर्ट पुगे उनी। आफू ज्याकेटमा, मसँग टाई थिएन। कलकत्ता पुग्यौँ दुई लाहुरे।

झ्या‍प्प समात्यो हामीलाई लिन आउनेले एयरपोर्टमा। ‘देवकोटा र अधिकारी’ भन्दै।

सियालदह स्टेशननजिकैको एउटा होटेलमा राखेर कलकत्ता शहर घुमाउन लगे उनले हामीलाई। मान्छेले तान्ने रिक्सा, नाङगो ढाइ,  विरक्त बनायो मलाई त्यो दृश्यले।

तर अर्को कुरा पनि खेल्न थाल्यो दिमागमा। हाम्रो सोर्सफोर्स नभएकाले कलकत्ता, दिल्ली, बम्बे या अन्य ठूला ठाउँमा  पढ्न पाइएन। नम्बर हुँदाहुँदै पनि। इन्डियन एम्बेसीमा मेरो सोर्स कसरी पुग्ने?

हाम्रो सोर्सफोर्स नभएकाले कलकत्ता, दिल्ली, बम्बे या अन्य ठूला ठाउँमा  पढ्न पाइएन। नम्बर हुँदाहुँदै पनि। इन्डियन एम्बेसीमा मेरो सोर्स कसरी पुग्ने?

मलाई पछिसम्म रिस उठिरहन्थ्यो यसबारे। ड्रिबुगढ पुगेदेखि नै ट्रान्सफरका लागि कोशिश गरिरहेँ। थर्ड एयर पुगेपछि जाऊ भने। तर, दुई वर्षका लागि के जाने? अन्यायविरुद्ध लाग्ने बानी मेरो हो। तर, जे हुन्छ त्य‍सले राम्रै हुन्छ। कताकता विश्वास पनि लाग्छ यो भनाइमा।

ठूलो शहरमा बिग्रने अवसर पनि बढी नै हुन्थ्यो होला। तर पढाइ सकेर सबभन्दा पहिला म नै फर्के। जग राम्रै थियो।

कलकत्ताबाट उडेपछि पहिलोपल्ट रेल प्लेनबाटै देखेको हो मैले। गौरीशंकरले त रेल देखेका थिए। उनका पिताजीको नेपालगञ्जमा जागिर थियो।  माल गाडी हो त्यो, उनले चिनाए। कलकत्ताको गर्मीले आत्तिएको, डिब्रुगढ पुग्दा पानी परिरहेको थियो। रिक्सा लिएर होस्टल गयौँ। नेपाली सिनियर दाइहरु आउनु भो र हामीलाई भित्र आफ्नो कोठामा लिएर जानुभो।

भोलिपल्ट ‘एड्मिन’ मा गएर आवश्यक प्रक्रिया सुरु गर्यौ। हामी दुब्ला पातला, स्वास्थ्य परीक्षण हुने बेला पानी र केरा खाएर गएका थियौँ। इन्डियन एम्बेसी काठमाडौंमा पनि ‘हेल्थ चेक अप’ भैसक्या थियो।

हामीभन्दा पहिला दुई जनालाई ‘कलर ब्लाइन्ड’ भएकाले फर्काइएको थियो।

विस्तारै अध्ययनसँगै आफूलाई स्थानीय वातावरणमा एडजस्ट गर्ने कोशिश गर्न थाल्यौँ हामी। स्थानीय विद्यार्थीहरुभन्दा फरक हुनुहुन्न हामी भन्ने मान्याताबाट हामी निर्देशित थियौँ। पक्कै पनि आर्थिक रुपमा हामी धेरै अगाडि थियौँ उनीहरुभन्दा। स्थानीय साथीहरुले रु. १ सय ३० बाट आफूलाई चलाउनुपर्थ्यो। हामीले त रु. ३०० प्रतिमहिना छात्रवृत्ति पाउँथ्यौ। किताबहरुका लागि छुट्टै भत्ता पाउँथ्यौँ। अफोर्ड गर्न सके पनि लोकल सरह नै व्यवहार गर्थ्यौँ हामी। कसै कसैले बढी रवाफ देखाउँथे। मोजा पनि धोबीबाट धुलाउनेहरु समेत थिए, छात्रवृत्तिको पैसाले।

हामी ‘फर्स्ट इयर’ ज्वाइन गरेको दुई महिनापछि दुर्गा पूजा या हाम्रो दशैँमा घर आयौँ। छात्रवृत्ति पाए पनि केही महिना पैसा पाएका थिएनौँ। गौरीका बुवाले पठाउनुभएको पैसाबाट सापट लिएर घरतर्फ लाग्यौँ। हामी फूलपातीका दिन आइपुग्यौँ। म काठमाडौँबाट पहाड गएँ। निर्धारित समयमा फर्कने तयारीमै रहेको बेला उताबाट ‘मेसेज’ आयो, दुई तीन महिना नआउन। आसाममा बंगालीविरुद्ध आन्दोलन सुरु भएको थियो। हामी दंग नै थियौँ। छुट्टी बढेजस्तो भएर। २/३ महिनापछि कलेज खुलेको ‘मेसेज’ आयो।

कलेजका बंगाली विद्यार्थीहरु कलकत्ता पुगे। पछि जहाजबाट ससम्मान उनीहरुलाई थुप्रै व्यवस्थासाथ फिर्ता ल्याइयो।

त्यो मेडिकल कलेज दोस्रो विश्ववयुद्धमा अमेरिकनहरुले बनाएको फिल्ड हस्पिटल थियो। भारत स्वतन्त्र हुने निश्चित भएपछि सन् १९९४७ मा सबै भौतिक पूर्वाधार भएकाले त्यसलाई मेडिकल कलेज बनाइएको थियो। नजिकै चिया बगैँचा, अत्यन्त रमणीय वातावरण। कहिलेकाहिँ मर्निङ वाकमा जान्थ्यौँ। अहिले लाग्छ, एमबीबीएसका लागि त्यो  एकदम उपयुक्त ठाउँ थियो। टीचरहरु एकदम योग्य, समर्पित। त्यहाँ हामी पढ्दा ८ जना सर्जन एफआरसीएस, आठ फिजिसियन एमआरसीपी, एक जना नेत्र विशेषज्ञ एफआरसिएस थिए र उनीहरुले एउटा स्ट्यान्डर्ड कायम गरेका थिए। त्यसैले पढाइ राम्रो भयो।

नेपाल फर्केको झण्डै तीन दशकपछि आसाम गएँ। म साउथ एसिया न्यूरो सर्जन एसोसिएसनको प्रेजिडेन्ट थिए। आफ्नो कलेज गएँ लेक्चर दिन। म पढ्दाको सर्जरी प्रोफेसर प्रिन्सिपल हुनु भएको रहेछ। जुन हलमा हर्नियाबारे जाँच दिएको थिएँ, त्यहीँ मैले लेक्चर दिएँ यसपल्ट। अर्कै अनुभूति भयो। मैले भनेँ, ‘म आभारी छु। मलाई राम्रो तालिम दिनुभएको रहेछ तपाईँहरुले।’ अनि प्रिन्सिपलले भन्नुभयो, ‘यस माइ सन वी ह्याड येट एफआरसीएस व्हेन यु वेयर हियर एन्ड अल इन्डिया इन्सिच्यूट अफ मेडिकल साइन्सेज हायड जस्ट थ्री।’

फेरि सम्झेँ,  ठूला शहरमा पढ्न नपाउँदा मलाई राम्रै भो। पोस्ट ग्रयाजुएट पढ्न भारत जाने मेरो विचार थिएन। फेरि सम्झन्छु, त्यो बेला म  मेडिकल कलेज जाँदा घरको अवस्था त्यति राम्रो थिएन। दाइहरुको ‘जब’ नभाको परिस्थिति थियो। मेरो छात्रवृत्ति छ महिनाको एकैपल्ट आयो। कसैले थाहा नपाउने गरी पार्सलबाट काठमाडौँ पैसा पठाएँ दाइलाई। घरको समस्या मैले बुझेको थिएँ। पछि दाइले ‘जब’ पाउनुभयो। दुईसय रुपैयाँले महिना टर्थ्यो काठमाडौँमा त्यसबेला।

बैशाख २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्