कवि तथा उपन्यासकार सरस्वती प्रतीक्षासँग अन्तर्वार्ता

‘आफ्नो जीवनको नायक र खलनायक म आफैँ हुँ’

धेरैले भन्छन्, सरस्वती प्रतीक्षा रहस्यकी पोको हुन्। कतिपय सन्दर्भमा उनका खुल्ला अभिव्यक्तिहरु पढ्दा उनी एकदमै खुल्ला किताब हुनजस्तो लाग्छ। कतिपय सवालमा उनको रिजर्भनेस देख्दा उनी एकदमै बन्द किताब हुन् जस्तो लाग्छ। कवितामा उनको स्वर जहिले पनि बागी रह्यो। एक हातमा फूल र अर्को हातमा तरबार लिएर कविता नृत्य गरिरहिन् सधैं।

उनै बागी कवि पछिल्लो समय उपन्यासकारको छविमा देखिइन् र आफ्नो पहिलो उपन्यासबाटै स्थापित उपन्याकारमा दरिन सफल भइन्। उनको पछिल्लो कृति ‘नथिया’ यतिबेला चर्चाको शिखरमा छ। सामलीजस्ता पात्र जन्माएर र वैचारिक लेखहरुमार्फत आफैँ उपस्थित भएर नारीलाई भोग्यावस्तुको रुपमा मात्र परिभाषित गर्ने परम्परागत सोचबिरुद्ध सरस्वतीको कलम शक्तिशाली क्षेप्यास्त्र बनेको छ। उनै चर्चित साहित्यकार सरस्वती प्रतीक्षासँग देशसञ्चारकी जमुना बर्षा शर्माले गरेको कुराकानी:

वर्ष २०७४ सरस्वती प्रतीक्षाका लागि कस्तो रह्यो ?
–एकदमै यादगार रह्‍यो। किनभने २०७४ मा मेरो पहिलो उपन्यास नथिया प्रकाशित भयो। वर्षौदेखिको एउटा सपनाले विपनाको रुप धारण गर्‍यो। फरक खालका पाठकहरु र फरक खालका प्रतिक्रियाहरु पाएँ। आफ्नो नयाँ अवतार स्वीकृत भएको अनुभूति भयो।

यहाँकै भाषामा एउटा दुस्साहसबाट जन्मिएको नथियाको हुर्काइ चाहिँ कसरी भइरहेको छ ?
–नथियाको हुर्काइ साँच्चै रोमाञ्चक छ। नथिया निस्किएपछि म चाहन्थेँ, एकदमै रिजर्भ बसुँ। नथिया–यात्रा गर्नुबाहेक आफ्नो तर्फबाट रिजर्भ बस्ने प्रयास पनि गरेँ। किताबको बारेमा, लेखन अनुभूतिको बारेमा, पात्रहरुको बारेमा लेख्न गरिएको अनुरोध वा अन्तर्वार्ताको रुपमा आएका थुप्रै इमेल तथा फोनहरु यो वा त्यो बहानामा पन्छाइरहेँ। फेरि पनि स्वतस्फूर्त रुपमा जति पाठक प्रतिक्रियाहरु आए, त्यसले मलाई एकदमै रिजर्भ बस्न चाहिँ दिएन र फरक ढंगका पाठकहरुसँग निरन्तर जोडिइरहेँ। असाध्यै खुसी र उत्साहित छु, नथियाले पाठकहरुबाट स्वीकृति पायो।

यहाँले सामाजिक सञ्जाल र अन्तर्वाताहरुमा नथियाबाट आफूले सोचेभन्दा धेरै राम्रो प्रतिक्रिया र पाठकको माया पाएको बताउँदै आउनुभएको छ। एक लेखकलाई अद्भूत तरिकाबाट प्राप्त माया जोगाएर राख्न कत्तिको गाह्रो हुँदोरहेछ?
–माया पाउनु ठूलो कुरा त हो नै, मायालाई जोगाउन सक्नु त्यो भन्दा पनि ठूलो कुरा लाग्छ। यस अर्थमा नथियाले पाएको माया, विश्वास र बढेको अपेक्षाले अबको लेखन झन् चुनौतीपूर्ण लागिरहेको छ। पहिलो उपन्यासमा सफल अधिकांश उपन्यासकारहरु दोस्रो उपन्यासमा चुक्छन् भन्ने आरोप लाग्ने गर्छ। यस अर्थमा दोस्रो उपन्यासको निम्ति मेरो सामु चुनौतीको ठूलो पहाड छ। आफूले आफ्नै अघिल्लो किताबलाई हाँक दिने गरी लेख्नु छ। २०७५ साल लाग्दा नलाग्दै दोस्रो उपन्यासको निम्ति मानसिक रुपमा तयार छु।

महिलाहरु अक्सर भावनामा बग्छन्,वास्तविकतासँग जुध्न त्यति सक्षम हुँदैनन् भन्ने आरोप पनि लाग्ने गर्छ। एउटा वादी वस्तीमा पुगेर रगत र विर्यबीचको डरलाग्दो परिवेशलाई बाहिर ल्याउन तपाईँले मनलाई कत्तिको कठोर बनाउनु पर्‍यो?
– भावुक हुनु र भावनामा बहकिनु फरक–फरक कुराहरु हुन्। नथियामा मेरो भावुकता छ, भावनाको बहकाइ छैन। जहाँ पहिले देहव्यापार हुन्थ्यो, आजकल हुन्थेन, ती क्षेत्रहरुमा त त्यति साह्रो अप्ठ्यारो भएन। जहाँ अहिले पनि देहव्यापार हुन्थ्यो, ती क्षेत्रहरुमा चाहिँ ज्यान जोखिममा राखेर हिँड्नु परेको थियो। एउटी स्वास्नीमान्छे वीर्य र रगतको दलदलमा जाँदा दलदलको फोहोर लाग्ने सम्भावना त रहन्थ्यो नै। राजापुरमा स्थलगत अध्ययनको सिलसिलामा जाँदा म जुन होटेलमा बसेँ, मेरो बसाइको उद्देश्य सुनेपछि त्यो होटलको साहुले तर्सेर भन्नुभएको कुरा अहिले पनि सम्झन्छु– ‘तपाईँ बढी नै खतरा मोल्न यहाँ आउनु भएको छ।’ वादी वस्ती र वादी वस्तीमा आउने ग्राहकहरुका शंकालु आँखाहरुले घेरिरहेका हुन्थे। थुप्रै कुराहरुको जोखिम थियो र त काम गर्न पनि मज्जा आयो।

सामली बलात्कृत भएको अध्याय लेखेको रात सपनामा मैले आफू नै बलात्कृत भएको देखेथेँ, बलात्कारको पीडा भोगेथेँ।

नथियाकी सामली र लेखक सरस्वती प्रतीक्षाबीचको समानता ?
– सामलीको जीवनप्रतिको आस्था मेरो पनि आस्था हो। सामलीको संघर्षप्रतिको नजरिया मेरो पनि नजरिया हो। जिन्दगी आफ्नै सर्तमा मात्र बाँच्न रुचाउने सामलीको बचाइ मेरो पनि बचाइ हो। सामलीको कठोरतामा कताकता म आफ्नै कठोरता पाउँछु। भोगाइ र भोगाइको पृष्ठभूमि फरक होला, तर एक स्वास्नीमान्छेको रुपमा सामली र सरस्वती प्रतीक्षाका बीचमा खासै अन्तर देख्दिन।

सामलीलाई उपन्यासकी नायिका बनाएर उतारिरहँदा आफू महिला हुनुको नाताले कस्तो अनुभुति गर्नु भयो ?
–एउटा उपन्यासकार आफ्नो उपन्यासको पात्रमा सम्पूर्ण डुब्न सकेन भने उक्त पात्रलाई न्याय गर्नै सक्दैन। उपन्यास लेख्दै गर्दा उपन्यासकारको चेतना कोमामा गएर पात्रको चेतना आफूभित्र जगाउन सक्यो भने सही अर्थमा पात्रको अनुभव र अनुभूतिलाई सही रंग दिन सकिन्छ। यी सब कुरा सुन्दा जति सजिलो सुनिन्छ, अभ्यास गर्दा उत्तिकै कठिन कुरा हो। सामलीलाई उपन्यासमा उतार्दै गर्दा स्वयं सामलीमा डुब्न जरुरी थियो र त्यसका लागि आफैँलाई भुल्न। ध्यानदेखि योगा सबलाई अपनाएर नै मैले आफैँभित्र सामली जगाएर लेखेकी हुँ नथिया। सुन्दा अनौठो सुनिन्छ तर सामली बलात्कृत भएको अध्याय लेखेको रात सपनामा मैले आफू नै बलात्कृत भएको देखेथेँ, बलात्कारको पीडा भोगेथेँ। अन्य थुप्रै अध्यायहरुसँग जोडिएका रोमाञ्चक थुप्रै कथाहरु कुनै दिन विस्तृतमा लेख्नेछु।

नथियामा वादी महिलाहरुको पीडा र आक्रोशको जुन सटीक चित्र छ, त्यसको सर्वत्र प्रशंसा भयो। कतिपयले चाहिँ सरस्वती प्रतीक्षाले पनि स्वास्नीमान्छेको आँसु बगाएरै किताब लेखी भन्ने आरोप पनि लगाए। के सामलीको आँसुबिना नथिया लेख्न सम्भव थिएन ?

–एकदमै सम्भव थियो, किन नहुनु? चाहेको भए सामलीलाई जन्मबाटै भयंकर क्रान्तिकारी देखाउन सक्थेँ। जन्मँदै उसको हातमा द सेकेण्ड सेक्स थमाउन सक्थेँ। क्लारा जेट्किन वा रोजा लक्जम्बर्गको नयाँ अवतारमा उतार्न सक्थेँ। देहव्यारमा कत्ति पनि नलगाइकन सम्पूर्ण वादी महिलाहरुलाई सीपमूलक तालिम लिँदै हिडेको, मूलधारको राजनीति गरेको जस्ता कृत्रिम कायापलट देखाउन सक्थे। तर यो सब गर्दा तीनदेखि चालिसको दशकको अर्थात जुन समयको मैले कथा लेखेकी हुँ, त्यो समयको झुठो तस्बीरमात्र निर्माण हुन्थ्यो।

आँसु एउटै भए पनि आँसुको भाषा फरकफरक हुन्छ। एलिस वाकरको उपन्यास द कलर पर्पलकी शेलीको आँसु विद्रोहको आँसु होइन भनेर कसले भन्न सक्छ? एउटी स्वास्नीमान्छे एकदमै बलियो हुन ऊ पीडाका हर पराकाष्ठा हुँदै गुज्रन जरुरी छ। सामलीले पीडाका हर पराकाष्ठा भोगेकोले नै ऊ वदिनीबाट बघिनी भएकी हो। जस्तै दिनदु:खीको कथा लेखे पनि अन्तर्यमा परिवर्तनको संदेशको रुपमा लेखकले आफ्नो तर्फबाट चेतनाको झिल्को मात्र छोड्ने हो। पात्रलाई क्रान्तिकारी बनाउन जथाभावी मसाल नै मसाल बोकायो भने त्यो अप्राकृतिक कथा हुन्छ। अन्तर्यमा सामलीले वादी बस्ती छोड्ने र छोरीलाई पढाउने जुन निर्णय लिएकी छ, त्यो लेखकको तर्फबाट छोडिएको त्यही झिल्को हो।

केही समयपहिले सामाजिक सञ्जालमा अर्को कृति लेखनको तयारीमा जुट्न लागेको संकेत गर्नुभएको थियो। त्यो किताबको विषयवस्तुको बारेमा केही बताउन मिल्छ ?
– मिल्छ, तर अबको लगभग दुइ वर्षपछि मात्र। किताबको विषयवस्तु किताब प्रेसमा गएपछि मात्र सार्वजनिक गर्नेछु।

पहिलो उपन्यासबाटै सकमबरी, सुम्निमा, इन्द्रमाया जस्तै सबैको मन,मष्तिष्कमा बस्ने पात्र ‘सामली’ दिनुभयो। अबको किताब पनि के यस्तै महिला पात्रलाई नै मुख्य पात्र बनाइने किताब हुनेछ ?
–बिल्कुलै हुनेछैन। अबको उपन्यासको मुख्य पात्र पुरुष र पुरुषहरु हुनेछन्। एक रेखामा बगेको छ नथिया। अबको किताब एकसाथ थुप्रै रेखाहरुमा बगेको किताब हुनेछ। समुदायको कथा भए पनि नथियामा एक व्यक्ति र व्यक्तिको भोगाइ हाबी छ। अबको किताबमा सिंगो समाज र समाजको मनोविज्ञान हावी हुनेछ।

पछिल्लो समय सरस्वती प्रतीक्षा साहित्यको क्षेत्रमा अग्लिँदै गरेको नाम हो, यो उचाइमा आफूलाई टिकाइराख्न अबको लेखन यात्रालाई कसरी र कुन विधाबाट अगाडि बढाउँदै हुनुहुन्छ ?
– मूलत: कविता र उपन्यासकै क्षेत्रमा काम गर्नेछु। वैचारिक निबन्धहरु पनि मेरा रुचिका विषय हुन्। यी तीन विधामा बाहेक अन्य विधामा सरस्वतीको उपस्थिति खासै देखिने छैन।

सरस्वती प्रतीक्षा बनेर यहाँसम्म आउँदा भोग्नु परेको एकदमै दुखलाग्दो पल कुनै सम्झनु पर्दा ?
– मेरो जिन्दगीका कतिपय सत्यहरु एकदमै अपत्यारिला छन्। कुनै दिन संस्मरण लेखे भने पनि मान्छेहरुले यो त फिल्मी कहानीभन्दा पनि बढी भयो भन्देलान् भन्ने डर छ। भोगेको दुख पनि त्यस्तै छ, भित्रभित्रै बग्ने लाभा जस्तो। बाहिरबाट कसैले अनुमान नै गर्न नसक्ने खालको। न बाल्यकालको कुनै सुखद सम्झना छ, न किशोरावस्थाको। फेरि पनि दुखमा दुखेर मात्र नबसिकन दुखलाई नै इन्जोय गर्ने बानी छ मेरो।

यो सँगै अविचलित यात्रामा आफूलाई होमिरहँदा र त्यसबाट प्राप्त खुशीको उच्चतम अवस्थामा आफुलाई पाएको पल?
– ज्ञानको यात्रा मर्दासम्म टुंगिदैन भन्ने लाग्छ। यस अर्थमा ज्ञानको पाठशालाको म सिकारु विद्यार्थी नै हुँ। अनुभूतिको पाठशालामा भने उमेरभन्दा पहिल्यै खारिएकी विद्यार्थी हुँ। प्रेमको, यौनको, प्राप्तिको, उत्सर्गको, संघर्षको, सन्तुष्टिको सबैसबै कुराको उच्चतम रुप देखिसकेकी छु, भोगिसकेकी छु। सबैभन्दा बढी खुसी यस अर्थमा लाग्छ कि मैले हिँडिरहेको बाटो म आफैँले रोजेको बाटो हो। यस मानेमा हर सुस्केरा र थकानले पनि मलाई उत्तिकै उर्जा दिइरहेका हुन्छन्।

आजकल त जसले जे भने पनि बिल्कुलै छुँदैन। लाञ्छनाहरु पनि लाञ्छना होइन, लाञ्छनाका पोस्टर जस्ता लाग्छन् । प्यासनको यात्रामा जाबो प्रहारले को नै रोकिन्छ र?

यो समाजमा जहाँ महिलाको योग्यता, दक्षता र क्षमतालाई सधैँ गौण बनाएर अनेक बहानामा महिलाप्रति दृष्टिकोण बनाएर आत्मरतिमा रमाउने गरिन्छ, यहाँको भोगाइ?
– केही समय पहिले एउटा आर्टिकल पढेकी थिएँ, आर उमन बिल्ट फर पेन? शीर्षकमा। पीडा सहन गर्ने क्षमता एउटा लोग्नेमान्छेमा भन्दा स्वास्नीमान्छेमा बढी हुन्छ भनेर रिसर्चहरुले नै प्रमाणित गरिसकेका छन्। यही कारणले त होइन होला, तर स्वास्नीमान्छेको हर प्राप्तिमा उसले चुकाउनु पर्ने मूल्य अलि बढी नै चर्को हुन्छ। बहसमूलक कार्यक्रमहरुमा पनि लोग्नेमान्छेलाई सोधिने प्रश्न र स्वास्नीमान्छेलाई सोधिने प्रश्नको वजन नै फरक हुन्छ। चलेको नायकको अन्तर्वार्ता पढे उसले गरेको संघर्ष, भोगेको भोगाइ, आरोह अवरोहका भित्री कुराहरु खोतल्ने ध्येयले प्रश्न सोधिन्छ। चलेकी नायिकाको अन्तवार्ता पढे उसले लगाउने लुगा, गर्ने मेकअप वा उसको ब्वायफ्रेण्डको आनीबानीको सेरोफेरोमा सोधिन्छन् प्रश्नहरु। जुनसुकै क्षेत्रमा किन नहोस्, स्वास्नीमान्छेले मेहनत गरे एक थान सफलता त हात लाग्छ, सँगसँगै दुई थान चारित्रिक प्रमाणपत्र र लाञ्छनाको लागि मानसिक रुपमा तयार हुनैपर्छ। सब कुराहरु सहँदा सहँदा यस्तो भइयो कि आजकल त जसले जे भने पनि बिल्कुलै छुँदैन। लाञ्छनाहरु पनि लाञ्छना होइन, लाञ्छनाका पोस्टर जस्ता लाग्छन् । प्यासनको यात्रामा जाबो प्रहारले को नै रोकिन्छ र?

नथियामा पुरुष मनोविज्ञानको त धज्जी नै उडाउनु भएको छ। रेञ्जर जस्तो यौनपिपासु र मोहम्मद जस्तो निरीह पात्र मार्फत पुरुष मनोविज्ञानको डरलाग्दो चिरफार गर्नुभएको छ। एक महिला भएर पुरुष पात्रको यति मिहीन ढंगमा चित्रण गर्न कसरी सम्भव भयो ?
– कतिले इनबक्समा त कतिले स्टाटस मार्फत नै लेख्नु पनि भयो। कमजोर मुटु हुने पुरुषले नथिया पूरै पढ्नै सक्दैन खालको स्टाटस आयो। नथिया पढ्दै गर्दा आफू पुरुष भएकोमा वितृष्णा जागेर लिंग नै काटेर फाल्न मन लाग्यो भन्ने सम्मका अभिव्यक्ति आए प्रतिक्रियाका रुपमा। कुनै महिलाले पढून्, नपढून, हरेक पुरुषले एकपटक पढ्नै पढ्ने किताब रहेछ भन्ने धारणा पनि राख्नु भयो, केही पुरुष पाठकहरुले। जो जसले जयनेपाल वा दिवाकरमा आफूलाई भेट्नु भयो, तिनलाई त खुसी लाग्यो होला। तर डरलाग्दो रेन्जर वा कमजोर मोहम्मदमा म पनि कतै छु भन्ने लागेपछि कति पुरुष पाठकहरु त बिच्किए पनि होलान् भित्रभित्रै। भनिन्छ, हरेक स्वास्नीमान्छेभित्र एउटा लोग्नेमान्छे र हरेक लोग्नेमान्छेभित्र कतै न कतै एउटी स्वास्नीमान्छे हुनुको भाव हुन्छ। किताब लेख्दै गर्दा सामलीमा डुबेजस्तै अन्य एकएक पुरुष पात्रहरुमा पनि डुबेकी हुँ म चुर्लुम्मै। त्यसरी डुब्दा मभित्रको लोग्नेमान्छे जाग्यो होला र पुरुष मनोविज्ञान त्यो रुपमा पोखिएको होला भन्ने लाग्छ।

नथिया लेखक भएर त लेख्नु भयो एक पाठक भएर पढ्दा कस्तो पाउनु भयो ?
– म जति निर्मम लेखक हुँ, त्योभन्दा कयौँ गुणा बढी निर्मम पाठक हुँ। नथियाको लेखक मात्र होइन, नथियाको पहिलो पाठक पनि म आफैँ हुँ। सुरुमा अध्याय–अध्यायमा लेखिएको नथिया जब कम्पाइल गरेर एउटै फाइल बनाएँ, तब त्यो सम्पूर्ण फाइल एक पाठकको रुपमा पढ्दाको क्षण मेरो निम्ति सबैभन्दा निर्णायक क्षण थियो। त्यो सम्पूर्ण पाण्डुुलिपी पढ्दा मैले आफू त्यसको लेखक हुँ भन्ने बिर्सेर र अरु कसैको किताब पढ्दैछु भन्ने सोचेर पढेकी थिएँ र मलाई सबैभन्दा बढी डर नथिया मलाई मन परेन भने के हुन्छ भन्ने थियो। विशुद्ध पाठकको रुपमा पहिलोपटक नथियाको पाण्डुलिपि पढ्दा यदि त्यतिबेला मलाई नथिया मन पर्थेन भने सप्पूर्ण किताब नै म डम्प गर्न सक्थेँ वा अझै वर्षौवर्ष लगाएर रिराइट गरिरहेकी हुन्थेँ कि त! एक पाठकको रुपमा नथिया मन परेकोले नै नथिया सार्वजनिक गरेकी हुँ।

आज बीउ रोपेर दुइ महिनामै खान तयार हुने साग जस्तो हुँदैन साहित्यिक यात्रा। यहाँ त फल लाग्न वर्षौवर्ष कुर्नुपर्ने हुन्छ। आर्थिक रुपमा सबल हुन पनि पाठकले पत्याउनुपर्‍यो र पाठकले पत्याउने लेखक आजको भोलि नै बन्न सकिँदैन।

सरस्वती प्रतीक्षालाई पढ्न चाहने पाठकले अब कति समय धैर्य गर्नुपर्छ नयाँ पुस्तकका लागि ?
– यति नै समय त भन्न सक्दिन तर रातदिन नभनी काम गरेँ भने पनि कम्तिमा दुइदेखि तीन वर्ष त कुर्नै पर्छ। आफूलाई चित्त बुझेन भने चाहि पाँच वा दश जति नै वर्ष लागोस्, तर म किताब बजारमा ल्याउँदिन। एक लेखकको रुपमा १०० प्रतिशत दिएँ भन्ने नलागेसम्म त्यो किताब बजारमा आउँदैन।

एक महिला सफल लेखक बन्न के के कुरा त्याग जरुरी हुँदोरहेछ ?
– आज बीउ रोपेर दुइ महिनामै खान तयार हुने साग जस्तो हुँदैन साहित्यिक यात्रा। यहाँ त फल लाग्न वर्षौवर्ष कुर्नुपर्ने हुन्छ। आर्थिक रुपमा सबल हुन पनि पाठकले पत्याउनुपर्‍यो र पाठकले पत्याउने लेखक आजको भोलि नै बन्न सकिँदैन। वर्षौको अथक मेहनत र धैर्यता चाहिन्छ। त्यहीमाथि एउटी महिलालाई अल्झाउने कुराहरु त कति हुन्छन् हुन्छन्। अहँ, लेखनको बाटो सजिलो बाटो हुँदै होइन।

सामाजिक न्याय र समतामूलक समाजका लागि महिला लेखकले कस्तो विषयको उठानमा जोड दिनुपर्ने ठान्नु हुन्छ ?
– आफ्नो क्षमताले भ्याएसम्म सबै खाले विषयहरु उठान गर्दा राम्रो। महिलाले महिलाको विषयमा मात्र लेख्नु पर्छ भन्ने छैन। हस्तक्षेपकारी उपस्थितिको लागि यथासम्भव बहुल दृष्टिकोण राखेर बहुल विषयवस्तुमा कलम चलाएको राम्रो।

तपाईको विचारमा जीवन के हो ?
– जीवन भनेको आफूले आफैलाई कुँदेर मूर्ति बनाउनु हो र त्यसमा प्राण भर्ने हिम्मत गर्नु हो। मूर्ति कुद्ने कला र धैर्यता छ भने सुन्दर बन्छ जीवन, नत्र कुरुप!

अन्तमा सरस्वती प्रतीक्षाको नजरमा सरस्वती प्रतीक्षा को हो ?
–एकसाथ एकदमै कोमल र एकदमै कठोर हुन सक्ने स्वास्नीमान्छे हो। आफ्नो जीवनको नायक र खलनायक पनि ऊ आफैँ हो। कतिपय अवसरहरु ढोकामै ढकढक गर्दै आउँदा पनि जानीजानी सबलाई वेवास्ता गर्दै हिँड्ने बेपर्वाह र मनमौजी स्वास्नीमान्छे हो।

बैशाख २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्