मलेसिया : आम चुनाव

ढल्ने भयो ६० वर्षदेखिको सत्ता, ९२ वर्षका महाथिर प्रधानमन्त्री बन्ने पक्का

पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले शपथ ग्रहण आउँदो बिहीबार हुने अपेक्षा गरेका छन् । तस्बिर : एएफपी

मलेसियामा भएको आम चुनावमा विपक्षी पार्टीले ऐतिहासिक जित दर्ता गरेको छ । पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम चुनावमा ऐतिहासिक जित निकालेको हो ।

मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले ११५ सिट जितेको निर्वाचन आयोगले जनाएको छ । सरकार बनाउनका लागि ११२ सिटमा जित निकाले पुग्ने थियो ।

९२ वर्षका मोहम्मद नेतृत्वको गठबन्धनले गएको ६० वर्षदेखि सत्तामा रहेको बारिसन नेशनल (बिएन) गठबन्धनलाई हराएको हो । जितपछि मोहम्मदले आफूहरु परिवर्तनका लागि नभइ विधिको शासनका लागि काम गर्ने बताए ।

मोहम्मद अब मलेसियाको प्रधानमन्त्री बन्ने छन् । शपथ ग्रहण समारोह आउँदो बिहीबार हुने अपेक्षा गरिएको छ । उनी विश्व सबै भन्दा बढी उमेरको निर्वाचित नेता बन्ने छन् ।

महाथिर मोहम्मदका समर्थक क्वालालम्पुरमा खुशीयाली मनाउँदै । तस्बिर : एएफपी

चुनावको नतिजा घोषणा भएसँगै पार्टीका समर्थकले उत्सव मनाएका छन् । बिएन र यो गठबन्धनको प्रमुख पार्टी, संयुक्त मलेसिया राष्ट्रिय संगठन (युएनएनओ) सन् १९५७ मा बेलायतबाट देश स्वतन्त्र भएदेखि नै सत्तामा थियो । तर गएको केही वर्षदेखि उसको लोकप्रियता घटेको थियो ।

सन् २०१३ मा भएको चुनावमा विपक्षी नेताले लोकप्रियता पाए, भोट पनि पाए तर सरकार बनाउन आवश्यक जित हाँसिल भएन । तर यो पटक मोहम्मदले अहिलेका प्रधानमन्त्री नजीब रजाक विरुद्ध डटेर अभियान चलाए । अनि जित हाँसिल गरे ।

मोहम्मद आफै एक समय बिएनका मुख्य नेता हुन् र नजीबका राजनीतिक गुरु पनि । तर पछि उनले पार्टीले भ्रष्टारको समर्थन गरेको भन्दै अलग भएको घोषणा गरेका थिए । बिएनले ७९ सिजनमा जित निकालेको छ ।

महाथिर मोहम्मद अहिलेका प्रधानमन्त्री नजीब रजाकका राजनीतिक गुरु पनि हुन् । तस्बिर : गेट्टी इमेज
बैशाख २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्