सुध्रिँदै सम्बन्ध, ओभानो बन्दै आँसु

ट्रम्प–किम वार्ताको बाटो सहज बन्दै, फेरिँदै सम्बन्धको स्वरुप

उत्तर कोरियाले रिहा गरेका तीन अमेरिकी नागरिकमा किम हक–सोङ्ग, टोनी किम र किम डोङ्ग–चुल । तस्बिर : रोयटर्स/एएफपी

भन्ने गरिन्छ, जति नै खतरनाक भने पनि दुश्मनी लामो समयसम्म टिक्न सक्दैन, मित्रताले बिस्तारै पगाल्दै लैजान्छ त्यसलाई । यस्तै भएजस्तो देखिन्छ पछिल्लो समय उत्तर कोरिया र अमेरिका बिचको सम्बन्धनमा ।

केही महिनाअघिसम्म को भन्दा को कम भन्दै एक अर्काको आलोचनामा समय बिताउने दुई देश अहिले सम्बन्ध सुधारको बाटोमा छन् ।

परमाणु हतियारको स्वीच तेरो भन्दा मेरो ठूलो भन्ने वाक युद्धमा लागेका अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबिच ऐतिहासिक वार्ताको तयारी भइरहेका बेला सम्बन्ध राम्रो बन्दै गएको देखिएको छ ।

वार्ताको अन्तिम तयारीका लागि अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ अहिले उत्तर कोरिया गए । एक महिनाअघि गुप्तर विभाग सिआइएको निर्देशकको रुपमा गोप्य भ्रमणमा उत्तर कोरिया पुगेका पोम्पेओ यसपटक औपचारिक रुपमै उत्तर कोरिया पुगेका हुन् र यसपटक उनी विदेश मन्त्रीको हैसियतमा ।

पोम्पेओको यसपटकको भ्रमणले अमेरिका–उत्तर कोरियामा वर्षौँदेखि जमेर बसेको ओस ओभानो बनेजस्तो देखिएको छ । उत्तर कोरियाले गएको १७ महिनादेखि बन्धक बनाएका तीन अमेरिकी नागरिकलाई रिहा गरेको छ । अमेरिकाले वार्ताको वातावरणका लागि बन्धक बनाइएका अमेरिकीलाई रिहा गर्नु पर्ने बताउँदै आएको थियो ।

उत्तर कोरियाले आफ्ना तीन नागरिकलाई रिहा गरेको जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले दिएका हुन् । उनले विदेश मन्त्री पोम्पेओ तीन नागरिकलाई लिएर उत्तर कोरियाबाट अमेरिका फर्किँदै गरेको पनि उनले ट्वीट गरेर जानकारी दिए । सबैको स्वास्थ्य राम्रो रहेको पनि ट्रम्पले बताए । ट्रम्पले उत्तर कोरिया र नेता किमको प्रशंसा पनि गरेका छन् ।

यसैगरी पोम्पेओको उत्तर कोरिया भ्रमणले ट्रम्प–किम वार्ताको समय र स्थान पनि तय भएको र केही दिनमा घोषणा गर्ने बताइएको छ ।

उत्तर कोरियाले रिहा गरेका तीन अमेरिकी नागरिकमा किम हक–सोङ्ग, टोनी किम र किम डोङ्ग–चुल रहेका छन् । उनीहरु तीनैजनालाई आफ्नो देश विरुद्ध गतिविधि गरेको भन्दै उत्तरु कोरियाले जेल हालेको थियो । यस्तै उनीहरुलाई श्रम शिविरमा पनि राखिएको थियो ।

बैशाख २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्