अस्वस्थ भए पनि डा. देवकोटा सक्रिय हुने प्रयासमा

अस्पतालकै बैठकमा सहभागी हुने क्रममा डा. उपेन्द्र देवकोटा। फाइल तस्बिर: देशसञ्चार

काठमाडौँ- आफ्नै न्यूरो अस्पताल बाँसबारीमा उपाचार्थ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाले अस्वस्थताकाबीच पनि काममा सक्रिय हुने प्रयास गरेका छन्।

स्वास्थ्य अवस्था स्थिर रहेका बेला डा.देवकोटा मंगलबार घर पुगेर केही घन्टा बिताएका छन् भने बुधबार बिहान अस्पतालको बैठकमा सहभागिता जनाएका छन्। घरमा केही घन्टा बिताएर उनी अस्पताल नै फर्केका छन्।

अस्पतालका सीइओ बसन्त देवकोटाका अनुसार डा. देवकोटाले करिव ४५ मिनेट बैठकमा सहभागि भएर बिरामीको अवस्था र अस्पतालको सेवाबारे विस्तृत जानकारी लिएका छन्।

यस्तै सबै किसिमको उपचार र शल्यक्रिया कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा अस्पतालका चिकित्सक, नर्स लगायतको समूहलाई उनले सुझावसमेत दिएका छन्।

‘डा. देवकोटाको स्वास्थ्य अवस्था त उस्तै हो तर पनि उहाँ बैठकमा सहभागि हुनु भयो। लामो समयपछि अस्पतालका चिकित्सक, नर्स र कर्मचारीको अनुभव सुन्नु भयो र आफुले पनि कसरी उपचार प्रभावकारी बनाउन सकिन्छ भन्ने सुझाव दिन भयो। त्यसबाट अस्पताल परिवारलाई अझ हौसला मिलेको छ’, सिइओ देवकोटाले भने।

अस्पतालकै बैठकमा हुने क्रममा डा. उपेन्द्र देवकोटा। तस्बिर: देशसञ्चार

प्रख्यात न्युरोसर्जन डा. देवकोटालाई पित्तथैलीको क्यान्सर भएको छ। बेलायतमा पाँच महिना उपचार गरेर बाँकी जीवन आफ्नै देशमा जिउने चाहना सहित फर्किएका उनी आफ्नै अस्पतालमा उपचार्थ छन्।

डा. देवकोटाको स्वास्थ्य लाभको कामना गर्दै उनलाई भेट्नेको दिनहुँ अस्पतालमा लर्को लाग्ने गरेको छ। उनले अस्पताल प्रशासनलाई आफूलाई भेट्न आउने जोकसैलाई पनि नफर्काउनु भन्ने अनुरोध गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायत मुलुकका उच्च व्यक्तिहरु डा.देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बाँसबारी पुगिसकेका छन्।

डा. देवकोटाले ‘मेरो माटो, मेरो चन्दन’ श्रृंखलामा उनका अनुभव र अनुभूतिहरु देशसञ्चारमा नियमित रुपमा प्रकाशित गरिरहेका छन्।

बैशाख २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्