मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- ६)

कुखुराको मोलतोल गर्दागर्दै बुबा आएपछि बर्बाद!

मेडिकल कलेजमा पढ्दाका दुईचार वटा रोचक घटना छन्। जस्तो पहिले नै मेरो फिलोसोफी मेडिकल कलेजमा पसेपछि पहिला-दोस्रो हुनुभन्दा पनि नेपाल फर्किएपछि जिल्ला अस्पतालमा गइन्छ, एक्लै आफूले सबै कुरा म्यानेज गर्नुपर्दा के के कुरा आवश्यक पर्छ, त्यो कुरालाई केन्द्रविन्दु बनाएर पढ्नुपर्छ भन्ने थियो। त्यसका लागि कति कुरा कोर्सभन्दा बाहिरका पर्थे। एउटा डाक्टरले सबै रोग म्यानेज गर्न कति जान्न पर्छ, त्यसलाई टार्गेट बनाएर, त्यसका लागि कोर्सभन्दा पनि बाहिरका विषयहरु पढाइ भइरहेको छ भने त्यहा पनि गएर एटेन्ड गरेँ।

एक जना प्रोफेसरको यति राम्रो सर्जरी थियो कि उहाँको सर्जरी हेर्न म क्लासै छाडेर जान्थेँ, एक वर्षसम्म। पछि सर्टिफिकेट लिन जाँदा मैले उहाँलाई भने, ‘तपाईको सर्जरी हेर्न म अरु क्लास छाड्ने गर्थेँ।’ उहाँले भन्नुभो, ‘आइ फिल भेरी अनर्ड।’ त्यसरी म आफनो उद्देश्यका लागि कतिपय क्लासहरु छोडिदिन्थेँ, अन्यत्र प्राक्टिकल एटेन्ड गर्ने गर्थेँ। त्यसको उद्देश्य टड्कारो थियो- प्राक्टिकल हुनुपर्छ भन्ने मेरो सिद्धान्त थियो।

रमाइलो र रोचक घटना के भयो भने हाम्रो एमबीबीएसको पहिलो दुई वर्षपछि एनाटोमी,  फिजियोलोजीको जाँच हुन्छ। त्यो बेलासम्म विद्यार्थीको कुनै परीक्षा लिइएको हुँदैन। त्यसैकारण को विद्यार्थी राम्रो र को नराम्रो छुट्टिसकेका हुँदैन। त्यस्तै बेलामा एकजना एनाटोमीको शिक्षकले एउटा होमवर्क दिनुभो सबै क्लासलाई। १५० विद्यार्थीलाई मस्तिष्कमा फोर्थ भेट्रिकलबारे लेख्न दुई हप्ताको समय दिनुभयो।

सबैका बीचमा प्रतिस्पर्धा थियो। कोही परिचित थिएनन् परीक्षा शैलीसँग। लेख्दाखेरी कसैले ५ पेज, डायग्राम पनि एकदम सेडिङ गरेर बनाइएको, थ्री डाइमेन्शनल चित्रसहित जटिल उत्तर तयार गरे। त्यस्ता खालका एकदम जटिल उत्तरहरु उनीहरुले तयार गरे दुई हप्ता लगाएर। मैले चाहिँ सामान्य स्केच, लाइन ड्रइङ अनि डिस्क्रिप्सन, एकदम सिम्पल। ठूला ठूला किताबबाट गरे उनीहरुले। मैले सधैँ पढ्ने गरेको टेक्स्टबाट अलिअलि आफ्नो बुद्धि लगाएर बुझाएँ। नेपाली साथीहरुले पनि मलाई बडो गिज्याए। दुई हप्ता समय पाउँदा पनि यति सानो के लेखेको भनेर। मैले स्कुलमा पढ्दा सिकेको- टाइटल, सबटाइटल छुट्याएर लेख्ने, अन्डरलाइन गर्ने, उपयुक्त स्पेस छाड्ने, कापी हेर्दा नै फरक देखियोस्। दुई हप्तापछि बुझाइयो। सबैले बुझाए। अर्को एक हप्तापछि तिमीहरुलाई कपी देखाउँछु भने टिचरले।

१५० जनालाई ठूलो हलमा बोलाइयो। हरेकको कापी फिर्ता गर्न थाल्नुभो। यसको यति नम्बर, उसको उति नम्बर भन्दै फिर्ता गर्नुभो। १० मा ३, ४, ५ भन्दा बढी कसैले ल्याएन। १० वटा कपी बाँकी रहँदा पनि मेरो आउँदैन। त्यसपछि मलाई लाग्यो, केही कुरा अनौठो भइरहेको छ, सबै हतास निराश। त्यति राम्रो लेखेको, त्यति ठूलो किताबबाट सारेकोहरुलाई चार नम्बर मात्र दिइयो। अनि अन्तिममा दुईपेज भएको मेरो कापी माथि देखाएर भन्नुभयो, मैले यो लास्टमा राखेको, यस्तै हुनुपर्छ भनेर देखाउन। उत्तर यस्तो हुनुपर्छ भनेर मेरो कापी देखाइयो।  मेरो उत्तरमा ट्रिक केही पनि थिएन। मैले के याद गरेँ भने परीक्षामा आधा घण्टाभित्र जवाफ दिने प्रश्न हो यो। फाइनल एक्जाममा आधा घण्टामा दिने जवाफ हो। दुई हप्ता लगाएर लेख्नुपर्ने कुरै छैन।

त्यसैले त्यत्ति समय लगाएर सेट गरेको डायग्राम एकजामको बेला प्राक्टिकल छैन। स्केच मात्रै गर्न सकिन्छ। एनाटोमीको स्ट्रक्चर र त्यो हेडिङ र सब हेडिङ, अन्डरलाइन उहाँलाई मन परेछ। उहाँले त्यही तीन वटा कुरा हाइलाइट गर्नुभो। तीनवटा कुरालाई त्यो कपीले मीट गर्छ। जाँचमा आधा घण्टामा लेख्ने हो। चार घण्टामा जवाफ दिन पाउँदैनौँ। छोटो हुनुपर्छ। सबै कुरा समेटिनुपर्छ। देख्दाखेरि स्केच, हेडिङ र सबहेडिङ देखिनुपर्छ। अनि मेरो कपी त साथीहरुले लुटे। फिर्ता गरेनन्। के लेख्याछस् तैँले सबभन्दा राम्रो? त्यसपछि अन्डरलाइन गर्ने, हेडिङ, सबहेडिङ राख्ने लहर नै चल्यो मेडिकल कलेजमा।

त्यो घटना बडो रोचक र रमाइलो थियो। त्यो फस्ट र सेकेण्ड इयरको फिजिओलोजीको फाइनलको बेला थियो। अनि फिप्थ इयरका दाइहरुलाई पनि सर्जरीको एउटा पार्टमा एनाटोमी सोध्ने चलन थियो। हाम्रो कलेजमा त्यसबेलाका  प्रिन्सिपल एनाटोमीबारे धेरै जान्ने भएका कारणले सर्जरीको परीक्षामा एनाटोमीको स्ट्रक्चर राखेर प्रश्न सोध्ने गर्नुहुन्थ्यो। त्यो बेलामा दाइहरुलाई दादा भन्ने चलन थियो। दाइहरु पनि रिभिजनका लागि जुनियर कक्षामा आउने गर्थे। अनि एउटा ग्रुपलाई मैले एक घण्टामा रिभाइज गरेपछि फाइनल इयरका अर्थात डाक्टर हुनै लागेका दादाहरुका बीचमा चर्चा भएछ।

त्यसपछि मलाई ३/४ दिनसम्म समातेर उनीहरुले ट्युटरजस्तो गर्न थाले। ‘आइज हामीलाई सिकाइ दे’ भनेपछि मैले सबैलाई एनाटोमी पढाइ दिएँ। यो अर्को रमाइलो। एक घण्टामा सिद्धिन्थ्यो। त्यसपछि दादाहरु माया पनि गर्ने, पढाइ सकेपछि लिएर जान्थे, चिया, समोसा, रसबरी खुवाउँथे। यसरी नै आसामीहरुसँग मिलेँ। उनीहरुसँग भिजेर त्यहाँ रमाइलोसँग समय बिताइयो। गेम्स र स्पोर्टसमा भाग लिएको कुरा मैले पहिला नै भनिसकेको छु। त्यसले गर्दा मलाई आसाममा मेडिकल कलेजमा अरु नाताले चिनेनन्, भलिबल प्लेयर भनेर चिन्थे। त्यो बीचमा छुट्टीमा घर आइयो बारम्बार। अन्तिम समयमा एमबीबीएस पास गरेर इन्टर्नसिप गर्न लाग्दाखेरी हाम्रो प्रिन्सिपल अलि बढी डाइनामिक हुनुहुन्थ्यो। उहाँ (नयाँ प्रिन्सिपल) सर्जरीको प्रोफेसर हुनुहुन्थ्यो, प्रोफेसर जमा। असाध्य शिक्षित परिवारको अनि सबै दाजुभाइहरुले राम्रो गरेका। त्यो बेला विद्यार्थीहरुमा कताकता पुरानो प्रिन्सिपल अथोरिटेरियन भएका हुनाले विद्रोहजस्तो अलि अनुसाशासाहीनता बढेको थियो। मलाई याद छ,  एक दिन सबै विद्यार्थीलाई अडिटोरियममा जम्मा हुन भन्नुभयो। उहाँ आफू पनि आफ्नो बेलाको असाध्यै राम्रो विद्यार्थी। बेलायतमा गएर एफआरसीएस गर्नुभएको। राम्रो सयममा पास गरेर फर्केको असल विद्यार्थी।

उहाँले हलमा एक घण्टा लेक्चर दिनुभयो। ‘डाक्टर हुने मान्छे, कति जिम्मेवार हुनुपर्छ, तिमीहरुलाई समाजले अरुभन्दा धेरै सम्मान गर्छ, त्यसकारण तिमीहरुको दायित्व पनि छ समाजप्रति । अरुजसरी उच्छृंखल हुन पाउँदैनौँ।’

कहिलेकाहिँ टाउनमा गुण्डागर्दी गरेको थाहा पनि पाउनु भएको रहेछ। अनि एउटा राम्रो उदहारण दिएर सम्झाउनुभयो। उहाँको परिवारमा आसामको त्यो मुसलमान परिवारमा त्यत्ति पढेलेखेको कोही थिएन। उहाँ साँइलो छोरा। उहाँका दुईजना दाजुहरुमा एकजना हाइकोर्टको चिफ जस्टिस, कानुनी सेवामा राज्यकै सबभन्दा माथि। अर्को इन्जिनियरिङ सेवामा सबभन्दा माथि आसाम राज्यमा। त्यसपछि अर्को आसाम एग्रिकल्चर डिपार्टमेन्टको डाइरेक्टर जनरल। उहाँचाहिँ मेडिकल कलेजको प्रिन्सिपल।

उहाँले भन्नु भो, ‘मेरो परिवारको बारेमा तिमीहरुलाई थाहै छ। सबैले मेरो भन्दा राम्रो गर्‍या छन्। तर हामी इदको बेला घर जम्मा हुँदा मेरा बाआमाले पनि अरु छोराहरु भन्दा बढी माया गर्नुहुन्छ, मलाई। एउटा फरक थियो म डाक्टर हुँ। म डाक्टर भएको हुनाले बाआमाले कताकता धेरै माया गर्छन्।’

त्यस कारणले तिमीहरुले डाक्टर हुन पाएकोमा उच्छंखृल भएर समय नबिताऊ। जिम्मेवार व्यवहार गर भनेर सम्झाउनु भयो। मैले पछि पनि सम्झिराखेँ यो कुरा। वास्तविकता पनि त्यही हो। कताकता डाक्टर भएका छोरा छोरीलाई बाआमाले पनि अरुभन्दा बढी माया गर्ने या पक्षपात गर्ने हुन् कि भन्ने अनुभूति मैले पनि गरेको हो।

त्यत्ति ‘थटफुल’ हुनुहुन्थ्यो हाम्रो प्रिन्सिपल। विद्यार्थीलाई ‘सबसिडाइज’ गरेर अलइन्डिया टुर गराएर इन्डियाका ठूला ठूला शहरमा घुमाउनु भयो। विद्यार्थीहरुले अलिअलि हाल्नुपर्ने, कलेजले अरु हालेर हामी ‘इक्सकर्सन’ गयौँ। दुईजना शिक्षकलाई गाइड बनाएर पठाउनुभयो। हाम्रो अलइन्डिया टुर सुरु भो। खुब रमाए, इन्टर्नसिप गर्न थालेका डाक्टरहरु। दुई महिनामा सकेर घर फर्कने तयारीमा थियौँ हामी। पढाइको बोझ थिएन, त्यसबेला। अलइन्डिया टुरमा आसामबाट कलकत्ता हुँदै, चेन्नई, मद्रास (त्यो बेलाको), बैंग्लोर, बम्बे हुँदै अलाहावाद भएर फर्कियौँ एक महिना लगाएर। बीचमा रोकिँदै।

ट्रेनको कोच ‘बुक’ गरिया हुन्थ्यो। साथीभाइहरु बस्या हुन्थ्यौँ। दुई जना शिक्षकलाई बोर हुने। के गरेर बस्ने ट्रेनमा। अनि उहाँहरुलाई तास खेल्न मन लागेछ। एकजना फिजिओलोजीको प्रोफेसर हुनुहुन्थ्यो- टी सी साइकिया। उहाँ पछि नेपाल आएर पनि पढाउनुभयो, चितवन र नेपाल मेडिकल कलेजमा। अर्को प्याथोलोजीको विजय गोगोई हुनुहुन्थ्यो। दुईजना टिचरहरु हाम्रो त्यो बेलाको गाइड- असाध्यै राम्रो टिचर। जुवा त त्यो लेभलका मान्छेले खेल्ने भएनन्। अनि उहाँहरुलाई ब्रिज खेल्ने मान्छे चाहियो। विद्यार्थीहरुबीच तिमीहरु मध्ये कसैले ब्रिज खेल्न जान्याछौ भनी सोध्दै आउनुभयो। लोकल केटाहरु कसैलाई पनि ब्रिज खेल्न आउँदो रहेनछ। अनि दुईजना नेपालीहरुलाई ब्रिज खेल्न आउँथ्यो। गौरीशंकर अधिकारी (मेरा साथी) र म। हामी खेल्छौँ भन्यौँ। लोकलहरुको अगाडि टिचरहरुसँग उहाँहरुको कम्पार्टमेन्टमा गएर तास खेल्यौँ। त्यो चाहिँ असाध्यै मोरल बुस्ट हुने खालको काम भयो। जुवा होइन, ब्रिज खेल्दा इज्जत रहने। एक महिनासम्म टिचरहरुसँग ब्रिज खेलेर आइयो ट्रेनमा। अनि हाम्रो विशेष सम्बन्ध भयो उहाँहरुसँग।

त्यसको एक महिनापछि नेपाल फर्कने बेलामा हाम्रो ब्रिज पार्टनरहरुले हामीलाई घरमा खाजा खान बोलाउनुभयो। बिदाबारी पनि गर्नुभयो। टिचरले विद्यार्थीलाई गर्ने सामान्य व्यवहार थिएन त्यो। टिचरहरुले विद्यार्थीलाई घरमा खाना खान बोलाउँदैन थिए। त्यो ब्रिज जान्या भएर भएको फाइदा। त्यसपछि मलाई एउटा फाइदा के भयो भने ब्रिज खेल्न सिकेर नेपाल फर्केपछि तासै खेलिनँ। त्योभन्दा तलको खेल्नै मन लाग्दैन। ब्रिज खेल्न पार्टनर नपाउने।

धेरैपछि थाहा पाएँ, नेपालमा ब्रिज सोसाइटी नै रहेछ। मलाई तासप्रतिको आकर्षण घटिसकेपछि थाहा पाएँ।

नेपालमा ब्रिज पनि खेलिन त्यसपछि कहिल्यै पनि।

एमबीबीएस दिएर घर आएर रिजल्ट कुरेर बस्यौँ। पहाडमा थिएँ। अब रिजल्ट हुने बेला भयो भनेर काठमाडौं आएँ। पहाडमा कसले खबर गर्ने। सान्दाइ (माधव देवकोटा) काठमाडौंमा पढ्दै हुनुहुन्थ्यो। उहाँसँगै बसेँ। रिजल्ट कुर्न थालेँ। म पहाडबाट आएको भोलिपल्ट बिहान गौरीशंकर अधिकारी हाम्रो डेरामा आइपुगे। उनको एड्रेस (नेपालको) छोडेर आएका थियौँ। रिजल्ट भएपछि नेपाली अरु विद्यार्थीले उनको घरमा टेलिग्राम पठाएछन्। हामी पास भएको  पोजिसन पनि राम्रै आएको अनि गौरीशंकर बिहानै आएर त्यो खबर भने।

त्यसको वरिपरितिर हामी पकनाजोलतिर डेरा गरी बस्ने गाउँघरका अरुहरु पनि हुनुहुन्थ्यो। ५/७ जना। त्यसपछि अनुरोध भयो, डाक्टरी पास गरेपछि मासु र भात खुवाउनुपर्छ। पार्टी भनेको त्यही हो। त्योबेला खसीको भन्दा कुखुराको मासु महंगो थियो। कुखुराको मासु ‘नोभेल्टी’ मानिन्थ्यो। खसीभन्दा महँगो र कुखराको मासु भन्या धेरै ठूलो कुरा। ‘ल आज भरे कुखुराको मासु र भात खुवाउनु तपाईँले’ भने। ‘ल हुन्छ’ भने। घाम अस्ताउन-अस्ताउन लाग्दा हामी कुखुरा किन्न गयौँ। पकनाजोलमा बस्ने, नयाँबजारमा पोल्ट्री फर्म थियो। कुनै बेला त्यहाँ कम्युनिष्ट नेता निर्मल लामाले पनि काम गर्नुहुन्थ्यो। उहाँलाई चिनेको भएर अलिकति सस्तो पनि पाइन्थ्यो। नयाँ बानेश्वररको पोल्ट्री फर्ममा कुखुरा किन्न जाँदै थियौँ। त्योबेला ८/१० रुपैयाँमा ठूलै कुखुरा पाइन्थ्यो।

हामी कुखुराको मोलतोल गर्दै थियौँ। एकजना गाउँका दाइ कोठाबाट दौडँदै हामी भएको ठाउँमा पुगे। अनि भने, ‘कुखुरा नकिन्नु्स्, कुखुरा नकिन्नुस्।’ किन भनेर सोधेको, जवाफ आयो- बा डेरामा आइपुग्नु भयो। कुरा के भएछ भने  म काठमाडौँ आइपुगे पनि पहाडमा खबर नपुगेपछि बालाई पनि कौतुहल भएछ- पास भयो कि फेल भयो भनेर। रिजल्ट जाँच्न बा पनि काठमाडौं आउनुभएछ। त्यत्तिबेला उहाँ टक्क डेरामा आइपुग्नुभएछ। अब बर्बाद भयो। बा आउनु भएको छ,  बाहुनको छोराले कुखुरा काटेर कसरी खाने? त्यही भएर कुखुरा नकिनोस् भनेर उहाँ दौडिँदै आउनु भएको रहेछ।

‘ल’ भनेर कुखुरा रोकेर क्षेत्रपाटीतिर लागेर खसीको मासु ल्याएर आइयो। त्यस्तो बेला थियो। हामी खान्छौँ भन्‍ने बालाई थाहा थियो। उहाँ अगाडि ठ्याक्कै खाएर देखाउन मन नपराउने। त्यसरी एमबीबीएस पास गरेको, कुखुराको मासु खान खोज्दाखोज्दै नपाएको। तर, खसीको मासु खाएर सेलिब्रेट गर्‍यौँ।

बैशाख २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्