प्रदेश राजधानी वीरेन्द्रनगर व्यवस्थित बनाईंदै

डोजर लगाएर भत्काइएको वीरेन्द्रचौक ।

सुर्खेत–पछिल्लो समयमा वीरेन्द्रनगर व्यवस्थित गर्न थालिएको छ । संघीय संरचना अनुसार कर्णाली प्रदेश राजधानी तोकिएपछि नगरलाई सुन्दर र मनमोहक बनाउन थालिएको हो । साविकका क्षेत्रीय सदरमुकाम रहेको वीरेन्द्रनगरलाई व्यवस्थित बनाउने रणनिती अनुसार पुराना संरचना भत्काउन थालिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले वार्षिक कार्यक्रम अन्तरगत रकम विनियोजन गरि यहाँका पुराना संरचनालाई पूर्ननिर्माण, मर्मत सुधार गर्न लागेको हो । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वाराका रुपमा रहेको वीरेन्द्रनगरलाई नगरपालिकाले विशेष योजना बनाएर व्यवस्थित गर्न लागेको हो ।

योजना अन्तरगत पहिलो चरणमा अवस्थित रुपमा निर्माण गरिएका टहरा हटाइएको थियो । नगरपालिकाले दिएको जानाकारीअनुसार वीरेन्द्रनगरमा व्यवस्थित गर्न ट्राफिक समस्या समाधान र हरित नगरका रुपमा विकास गर्न लागिएको हो ।

विगतदेखि निर्माण भएका चौकहरु समेत भत्काइएको छ । वीेन्द्रनगरस्थित रहेका वीरेन्द्रचौक र मंगलगढी चौकलाई भत्काइएको हो । चौकको अवस्था अस्थव्यस्त रहेकाले सफा र रंगरोगनससहित पुनःनिर्माणका लागि भत्कइएको नगरपालिकाका कार्यकारी अधिकृत कृष्णबहादुर खड्काले बताए ।

व्यवस्थित शहर बनाउने योजना अनुसार नै भत्काइएको चौकहरुलाई नगरपालिकाको गुरुयोजनामा समेट्ने गरी निर्माण गरिने भएको हो । मुख्य बजारमा रहेको वीरेन्द्रचौकले ठुलो क्षेत्र ओगटेकाले सानो क्षेत्रमा पूनःनिर्माण गरिने अधिकृत खड्काले बताए । उनका अनुसार बढ्दो शहरीकरणसँगै चौक आकार ठूलो हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको थियो ।

ट्राफिक दुर्घटना रोक्नसमेत मदत पुग्ने गरि सानो चौक निर्माण गरिने छ । नगरपालिकाबाट चौक निर्माणका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ । अधिकृत खड्काले दिएको जानकारी अनुसार हरित नगर बनाउन वीरेन्द्रचौक र मंगलगढी चौक वरीपरि गमला राखि फुलहरु रोपिने, वत्ति जडान गरिने छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देबकुमार सुवेदीले विगतदेखि अस्तव्यस्त रहेको वीरेन्द्रनगरलाई व्यवस्थित बनाउन लागिएको बताए । उनले नगरलाई रमणीय, स्वच्छ र स्वस्थ नगर बनाउने योजना अनुसार नगरपालिकाले तीव्र रुपमा काम बढाएको छ । उनकाअनुसार चारलेन सडक निर्माणका लागि मंगलगढी चौकलाई भत्काइएको हो ।

जसका लागि सडक डिभिजन कार्यालय सुर्खेतसँग नगरपालिकाले सहकार्य गरेको छ । पहिलो चरणमा टहरा भत्काएको नगरपालिकाले दोस्रो चरणमा व्यवस्थितसहित पूनःनिर्माणका लागि चौक भत्काइएको हो । विभिन्न कालखण्डमा भएका आन्दोलनबाट राजा वीरेन्द्रनगको शालिक फालेपछि अव्यवस्थित बनेको वीरेन्द्रचौक व्यवस्थित बनाउन लागिएको हो । उपभोक्ता समितिमार्फत निर्माण थालिएको चौकमा शालिक निर्माण भने नगर्ने नगरपालिकाले जनाएको छ ।

सुन्दर नगरका रुपमा परिचित गर्न टहरा हटाइएको खाली ठाउँमा हरित पार्क निर्माण गर्न योजना अगाडी सारिएको छ । नगरप्रमुख सुवेदीका अनुसार घण्टाघरस्थित खाली जग्गामा हरित पार्क निर्माण गर्ने नगरपालिकाको योजना छ । आगामी वर्षे अधिवेशनमा व्यवस्थित, हरित, सुन्दर र स्वच्छ नगर बनाउन आवश्यक रणनीतिसहितको गुरुयोजना निर्माण गरिने भएको छ ।

यस्तै, पार्किङ्गलाई व्यवस्थित गर्ने, सडकका जेव्रा क्रस, बत्ति र सबै स्थानमा सीसी क्यामेरा जडान गरिने नगरप्रमुख सुवेदीले बताए । बढ्दो प्लटिङ्गका कारण नगर क्षेत्र कुरुप बन्दै गएकाले त्यसलाई व्यवस्थित गर्नसमेत लागिएको छ । ‘जग्गा प्लटिङ्ग रोक्न विज्ञको टोली वीरेन्द्रनगरमा आउँदैछ’ प्रमुख सुवेदीले भने, ‘नयाँ संरचनाअनुसार गुरुयोजना निर्माण नभएकाले आगामी सभाबाट व्यवस्थित नगर बनाउन गुरुयोजनासमेत निर्माण गरिदैछ ।’

मापदण्ड नै तोकेर नगरपालिका व्यवस्थित बनाउन लागिएको उनले बताए । ‘कुन क्षेत्र वस्ति विस्तार गर्ने, कुन क्षेत्र खेती गर्नेलगायतका रणनीति बनाएर गुरुयोजना निर्माण गरिदैछ ।’ असोजसम्म वीरेन्द्रनगर व्यवस्थित गरिसक्ने प्रमुख सुवेदीको दावी छ ।

 

बैशाख २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्