मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- ७)

वीरमा ज्वाइन गरेपछि सुरु भयो जीवनको नयाँ अध्याय

इन्टर्नसिप बडो रमाइलो तरिकाले पूरा गरियो। म सर्जरीमा बढी चासो लिने भएर मैले मेहनत गरेर सर्जरीको प्रोफेसरलाई धेरै रिझाएँ। उहाँलाई थाहै भएनछ, म सर्जरी रोटेसन सकेर मेडिसिनमा गएको, शुक्रबारदेखि। अनि सोमबार उहाँले सोध्नुभएछ मलाई नदेखेपछि, ‘त्यो नेपाली इन्टर्न कहाँ गयो?’ भनेर। रोटेसन सकी मेडिकल युनिटमा गइसकेको रजिस्ट्रारले बताए। त्यसपछि कहिल्यै नभएको के भयो भने प्रोफेसरले ‘त्यसलाई बोलाऊ, त्यसले राम्रो काम गरेको छ, एउटा अपरेसन दिन मन लाग्यो मलाई’ भन्नुभएछ। सर्जरीको रोटेसन सकेको मलाई बोलाइयो। ‘प्रोफेसर जैनले तिमीलाई बोलाउनु भा’छ, तिमी सर्जरीको दिनमा आऊ, तिमीलाई हाईड्रोसीलको सर्जरी गर्न दिन खोज्नु भा’छ’ भनियो मलाई।

अनि म त्यो दिन मेडिकल युनिटबाट छुट्टी मागेर अपरेशन थिएटरमा हाइड्रोसिलको अपरेशन गर्न गएँ। जानुभन्दा अघिल्लो दिन खुब प्राक्टिस गरेँ। नट कसरी बाँध्ने प्राक्टिस गरेँ। होस्टेलमा। अनि तयार भएर गएँ। अनि उहाँले मलाई असिस्ट गर्न एकजना पोस्ट ग्र्याजुएटलाई अह्राउनुभो। पोस्ट ग्र्याजुएटले असिस्ट गर्नुभयो, मैले अपरेसन गरेँ। राम्रो सर्जरी भयो फटाफट। बीचमा प्रोफेसरले पनि हेर्नुभो। मलाई असिस्ट गर्ने पीजीभन्दा मैले राम्रो गरेँ।

विज्ञापन

‘यति राम्रो अपरेसन गर्ने रहेछौ, तिमी चाँडै डिपार्टमेन्ट ज्वाइन गर’ भन्नुभो उहाँले। म नेपाली त्यहाँ बस्ने कुरा थिएन। योग्यताको कदर भएको एउटटा घटनाका रुपमा लिएँ मैले। रोटेसन सिध्याएर गएकालाई फिर्ता बोलाई अपरेसन गर्न दिनु आफैँमा ठूलो कुरा थियो। यसरी नै इन्टर्नसिपका बेला सकेसम्म सिक्ने प्रयत्न गरेँ। प्राक्टिकल सिक्ने बेला त्यही थियो। हरेक विषयमा चाहिनेभन्दा बढी नेपालको आवश्यकतालाई मध्यनजर राखेर र नेपालमा एक्लै छँदा कसरी गर्ने सबै काम। सिक्दा धेरै नै अगाडि पुगेछु। त्यहाँ गुरुको गाली नखान झारा गर्नेहरुभन्दा नेपाल फर्केपछिको आफ्नो आवश्यकता कति जान्नुपर्छ, के गर्नुपर्छ, त्यो अनुसार आफ्नो तालिमलाई त्यतातिर मोडेँ मैले। मेडिसिनको सबै कुरा ठिकै भयो, तर हाम्रो कलेजमा फरेन्सिक डिपार्टमेन्ट त्यति राम्रो थिएन।

मलाई पीर पर्‍यो, पोस्टमार्टम के गर्ने? जिल्ला अस्पतालमा गएपछि त पोस्टमार्टम गर्नैपर्छ। त्यसमा यति ठूलो जिम्मेवारी छ। गलत कुरा लेख्नु भएन, नजाननेको कुरा लेख्नु भएन। त्यहाँ सिभिल सर्जन आएर पोस्टमार्टम गर्ने गर्थे। त्यहाँको पालेलाई भनlराख्या थेँ, पोस्टमार्टम भएको समयमा गएर हेर्ने गर्थ्यौँ। अनि अन्तिममा त्यहाँको पोस्टमार्टमको फर्म कसरी भर्ने, के गर्ने? लिएर नै आएँ नेपालमा। परिआएको खण्डमा हाम्रो जिल्लामा काम लाग्छ र मिल्छ भने त्यसकै आधारमा काम गर्न पर्छ भनेर। फर्केर आउँदा सम्पूर्ण तयारी थियो मेरो। आएको भोलिपल्ट जिल्ला अस्पतालमा पोस्टिङ गर्‍यो भने आँखादेखि गाइनोसम्म सबै कुरा म्यानेज गर्न सक्ने डाक्टर भएर फर्किँएँ। म जिल्लामा काम गर्छु भन्ने डिटरमिनेसनका साथ फर्केको हुँ ।

तीनजना नेपालीले सकेर सँगै फर्केका थियौँ। गौरी, म र सुदीपकृष्ण भट्टराई लैनचौरका। न्यायाधीशको छोरा। आउँदा पनि रमाइलो। कस्तो उट्पट्याङ भने, तीनैजनाले अलिअलि पैसा ‘पूल’ गर्यौँ। काठमाडौं पुग्दासम्मको खर्चका लागि। ३ सय रुपैयाँ मैले राखेँ। होस्टेलदेखि रिक्सा भाडा, गुवाहाटी भएर आउनुपर्‍यो। एयरपोर्टदेखि शहर जाँदाको ट्याक्सी खर्च, होटल उनीहरुले नै बुक गरिदिएका थिए। कलकत्ताको होटेलमा आफैँ तिर्न भनेका थिए। खर्च गर्दै जाँदा, पछि मिलिहाल्छ नि भन्ने भयो। कलकत्ता आइयो। त्यसअघि एक दिन गुवाहाटी बसियो।

मेडिकल लाइसेन्स लियौँ काउन्सिल रेजिस्ट्रेसन आसाम सरकारको। हामी गुण्टासुन्टा छोडेर आयौँ। एक्सेसवेट हुन्छ भनेर। सिरक, डस्ना थोत्रो के बोकेर आउने, प्लेनबाट आउने मान्छे। सुदीपले गुण्टासमेत लिएर आयो। कलकत्तासम्म आउँदा त डाक्टरी पढेर आएका हामी त ‘हिरो’। गुडविल जेस्चरका रुपमा ओभरवेट पनि छाडिदिएँ। अब कलकत्ताबाट नेपाल आउने बेला केजीकेजी तौलेर आउनुपर्ने भयो।

सुदीपले मतिर पुर्लुक्क हेर्‍यो, मैले तिरेँ। उसको ओभरवेटले नै ३/४ सय बढी खायो। काठमाडौं आइसकेपछि हिसाबकिताब गरौँ न, मेरो धेरै खर्च भा’छ भनेँ। गौरीले ‘मोर अर लेस’ दियो, मिल्यो। अनि सुदीपले कस्तो जवाफ दियो भने सरकारको स्कलरसिपमा गा’को, तिम्रो पनि घरको पैसा हैन, हाम्रो पनि घरको पैसा हैन, स्कलरसिप सकेर आइयो त्यो सुल्यो, भन्छ। त्यत्ति उट्पट्याङ थियो त्यो। त्यो उमेरमा त्यस्तै थियो। गौरी त्यस्तो कुरामा त्यत्ति अनफेयर थिएन। अब के हिसाब गर्ने, नेपाल आइसकियो, भन्यो सुदीपले।

कलकत्ता आएपछि हामीले विचार गर्‍यौँ, नेपाल गएपछि प्राक्टिस गर्नुपर्छ। त्यही सोचले कलकत्ता मेडिकल कलेज भा’को स्ट्रिट गएर अलिअलि मेडिकल उपकरण, ब्लड प्रेसर इन्स्ट्रुमेन्ट यताउता किन्यौँ। तयारीका साथ नेपाल आइयो। तर हामीलाई थाहा थियो हामी जाने बेला ५ वर्षको ‘बन्ड’ गरेर गाथ्यौँ। फर्केर पाँच वर्ष श्री ५ को सरकारको सेवा गर्छौँ भनेर।

हामी गएको अर्को वर्ष सिंहदरबारमा आगलागी भएर शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाको कागज डढेका थिए। धेरैजसोले हामीलाई भनेका थिए, तिमीहरुको कागजपत्र पनि डढिसक्यो। बेलायत, अमेरिका जहाँ गए पनि हुन्छ तिमीहरु। नेपाल फर्कन पर्दैन। त्यो बेला इन्डियाको डिग्री लिनेहरु त्यतैबाट बाहिर उछिटिन्थे। हामी आयौँ। सोझो मान्छे। नियम मान्ने। विचार गर्‍यौँ गौरी र मैले। शिक्षा मन्त्रालयबाट गा’को, त्यहीँ गएर एप्लिकेसन दिने सोच बनायौँ। शिक्षा मन्त्रालयको तालिम शाखामा गएर हामीले अध्ययन सकेर आएका छौँ, हाम्रो बण्ड पूरा गर्न केके गर्नु पर्छ, व्यवस्था गर्नुहोस् भनेर एप्लिकेसन दिएर गएको त्यहाँ त तहल्का मच्चियो। कारण के रहेछ भने कसैले पनि त्यसरी फर्कने गरेका रहेनछन्।

उनीहरुलाई झण्झट पो भो। कहाँबाट बुद्धि नभएका सोझा मान्छे आइलागे। अनि टालटुल गर्न खोजे खरदार, सुब्बा, सेक्सन अफिसरहरुले। हामी बण्ड पूरा गर्न चाहन्छौँ, तपाईंले कि सम्भव छैन भनेर भन्नुहोस् या जागिरको व्यवस्था गर्नुहोस्, भन्यौँ। नत्र बण्डबाट मुक्ति दिनुहोस् भनेपति शिक्षा मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई एउटा चिट्ठी दियो, यसरी छात्रवृत्तिबाट फर्केका फलाना फलानालाई फलानो सेवा अन्तर्गत राख्नुहोस भनेर।

अनि त्यो चिठ्ठीसहित हामी स्वास्थ्य सेवा विभाग गयौं। त्यहाँ त झन् चक्कर रहेछ। त्यहाँका सेक्सन अफिसर र सुब्वाहरु त अति रवाफिला। त्यहाँ हामी दुई तीन दिन लगातार त्यही जागिरको खोजीमा जाँदा एक दिन हामी त्यहीँ कुरेर बसिरहेको बेलामा अचम्मको घटना घट्यो। त्यसपछि हाम्रो सोचाइ नै बदलियो। हामी त्यहीँ बसिराख्या बेला प्रख्यात सर्जन, त्यस बेलाका धेरै चर्चित अञ्जनीकुमार शर्मा जसको हामीले फोटो मात्र देख्याथ्यौँ, उहाँ सुटटाइ लगाएर स्वास्थ्य सेवा विभागमा आउनुभयो। उहाँले नै त्यो सेक्सन अफिसरलाई पहिला नमस्कार गर्नुभयो। अनि हामीले बुझ्यौँ यहाँका ब्युरोक्र्याट धेरै शक्तिशाली रहेछन्। हामीले जानेको त्यति ठूलो सर्जन, हाम्रो प्रोफेसरहरुको समकालीन हुनुहुन्छ। उहाँलाई पनि यिनीहरुले नमस्कार गराउन सक्ने रहेछन्। अनि हामीले मुखामुख गर्‍यौँ, अनि बाहिर निस्केर भन्यौँ, ‘बुझिस् भाइ, अब यहाँ हाम्रो केही काम छैन। यहाँ काम गर्न सकिँदैन।’ डाक्टर अञ्जनीकुमार शर्मासँग त चाकडी खोज्नेहरुले हाम्रो लागि केही किन गर्लान्? अनि हाम्रो स्ट्राटिजी चाहिँ जागिर दिन सक्नुहुन्न  भने छोडिदिनुस् भन्ने भयो। स्वास्थ्य सेवा विभागमा तत्काल खाली छैन, नेपालभित्र जहाँ काम गरेपनि हुन्छ भनेर छाडिदिए। त्यसपछि हामीले होमवर्क गर्न थाल्यौँ। हामीसँग दुईओटा विकल्प थिए। सरकारी सेवामा पस्नलाई त लामो प्रक्रिया हुने भयो। लोकसेवा पास गर्नुपर्‍यो। कहिले विज्ञापन गर्ला, अस्थायी नोकरी दिन्न भनिहाल्यो, अञ्जनी डाक्टरसाहेबको सलाम खानेले। हामीले होमवर्क गर्दा दुईओटा पक्ष केलायौँ। एउटा त महाराजगञ्ज क्याम्पसमा एमबीबीएस खोल्ने हो कि भनेर शिक्षकहरु खोजिरहेको बेला थियो। अर्को प्रहरी अस्पतालको तयारी हुँदै थियो, खुलिसकेको थिएन। अनि सोच्दै थियौँ, हामी कता लाग्ने, प्रहरीतिर की महाराजगञ्जतिर?

मेडिकल कलेजबाट भर्खर फर्किएको मान्छेलाई प्रहरीभन्दा महाराजगञ्ज नोकरी अट्य्राक्टिभ लाग्यो र पहिलो प्राथमिकता महाराजगञ्ज बनायौँ। अनि गएर दर्खास्त दिएको त कोही पनि गएकै रहेनछ। भोलिपल्टदेखि नै काम गर्न आइहाल भने, पढाउने मान्छे नै रहेनछन्। हामी तीनजना सँगसँगै काम गर्न थाल्यौँ। उनीहरु मभन्दा धेरै बाठा। दुई तीन महिनासम्म काम गरेपछि उनीहरुले बुझिहाले, अब यहाँ पनि धेरै चाँडै केही होला जस्तो छैन। त्यहाँ गयो दिनदिनै, इँट्टा झरेको देखेपछि अस्पताल बन्न लागेको थाहा भयो, अनि मख्ख पर्‍यो। अस्पताल नै रहेनछ, पढाइ कसरी होला। त्यही पनि आशावादी भएर बसियो। हेल्थ असिस्टेन्ट विद्यार्थीलाई पढाउनुपर्ने थियो। सरकारी अस्पतालमा लगेर सिकाउनुपर्ने उनीहरुलाई। कहिले टेकु, कहिले वीर अस्पताल। केटाकेटीलाई पढायो, आफ्नो अस्पताल थिएन, प्राक्टिस गर्ने। मेडिकल कलेजमा पढेको बिर्सने डर। त्यो संकट देखेपछि उनीहरुले फेरि एक्सप्लोर गरेछन्। अस्थायी नोकरी खुल्यो। स्वास्थ्य मन्त्रालयबाट टेम्पोररी पोस्टिङ लिएर मेरा दुई साथीहरु वीर अस्पतालमा काम गर्न थाले।  मचाँहि अलि सोझो। मलाई बुद्धि अलि ढिलो आउने, त्यसमाथि पनि अलि जिद्दी। मचाँहि अझै पनि केही हुन्छ की क्याम्पसमा लागे। २/४ महिना ढिला होला तर केही हुन्छ कि भनेरै म महाराजगञ्ज क्याम्पसमै बसेँ। त्यसपछिका एक वर्षभित्र थुप्रै उपलब्धि पनि भए। म सबै विषय पढाउथेँ, हेल्थ असिस्टेन्टहरुलाई। फिजियोलोजी, सर्जरी, कम्युनिटी मेडिसिनदेखि लिएर सबै पढाउथेँ। त्यहाँका अरु डाक्टर साहेबहरु चाँहि नयाँ भर्खरभर्खर आएको जोशिलो डाक्टर फेला पारेपछि काम मलाई लगाएर बस्नुहुन्थ्यो र म लाइब्रेरीमा गएर अध्ययन गर्थेँ, विद्यार्थीलाई पढाउँदै। त्यो बेला केही पढाएका हेल्थ असिस्टेन्ट विद्यार्थीहरुमध्ये अहिले चर्चित नेताहरु नारायणकाजी श्रेष्ठ, प्रकाशशरण महत पनि थिए।

उनीहरुलाई म साथीका रुपमा व्यवहार गर्थेँ। नबुझेको सोध्न सजिलो थियो। कति नै मान्छे थिए र? उनीहरु मेरो डेरामा आउँथे, त्यहीँ पढाइदिन्थेँ,  आउट अफ अफिस आवर पनि। म वास्तवमा विद्यार्थीबीचको राम्रो पढाउने शिक्षकका रुपमा चिनिएँ। ठूलो गहनाका रुपमा लिए मैंले त्यसलाई। अन्त्यमा त्यहाँ कुनै ‘आउटलेट’ नदेखिँदा अर्थात तत्काल अस्पताल बन्ने सम्भावना नदेखेपछि विकल्प सोच्नतिर थालें।

त्यो बेला केही पढाएका हेल्थ असिस्टेन्ट विद्यार्थीहरुमध्ये अहिले चर्चित नेताहरु नारायणकाजी श्रेष्ठ, प्रकाशशरण महत पनि थिए।उनीहरुलाई म साथीका रुपमा व्यवहार गर्थेँ। नबुझेको सोध्न सजिलो थियो। कति नै मान्छे थिए र?

त्यो बेला मेडिकल कलेज पनि बेग्लै बनाउने भन्न थाले। सरकारी अस्पतालहरु प्रयोग गर्ने, मेडिकल कलेजले आफ्नो अस्पताल नबनाउने, मेडिकल कलेज बिथाउट बाउण्डरीका कुरा हुन थाल्यो। मुलुकभरिका स्वास्थ्य सेवाहरु प्राक्टिसका लागि प्रयोग गर्न पाउने भन्ने राम्रो कन्सेप्ट थियो। तर, त्यो भएपछि आफ्नो अस्पताल हुने भएन। अस्पताल नहुँदा कहाँ प्राक्टिस गर्ने? म पनि विकल्प सोच्न बाध्य भएँ। अन्तिममा लोकसेवा आयोग दिएर सरकारी सेवातिर पस्ने निर्णय गरेँ। अनि त्यो थाहा पाएपछि तत्कालिन डिन डा. मोईन शाहले मलाई बोलाउनुभयो। उहाँलाई सुराकीहरुले भनि दिएछन्, ‘देवकोटाले छोड्न लागेको छ भनेर।’ अनि उहाँले मलाई बोलाएर अनेस्टली भन्नुभयो, ‘मेरो छोरो तपाईंको विद्यार्थी हो। हरेक टिचरले कस्तो पढाउँछ, म सोध्ने गर्छु अनिललाई। तपाईँको विषयमा उसले धेरै राम्रो कुरा गर्छ। तपाईँ राम्रो पढाउने शिक्षक हुनुहुन्छ। हुन त म पनि इन्स्टिच्यूट छोड्दै छु। तर, म जानुभन्दा पहिला तपाईंजस्तो मान्छेलाई एउटा करिअरको ग्यारेन्टी गरेर विदेश पढ्न जाने व्यवस्था गरेर मात्रै छाड्छु। तपार्इं नजाओस्।’

मैले भनेँ, ‘सर मैले मेडिसिन बिर्सन लागेँ, प्राक्टिस गर्न नपाएको एक वर्ष भइसक्यो।’

उहाँले म तपार्इंलाई तत्काल वीर अस्पताल काजमा पठाइदिन्छु, वीरमा काम पनि गर्नुहोस्। यता नछोड्नुहोस् भन्नुभयो. खान बस्न सबै उनीहरुले व्यवस्था गर्छन्, त्यो भनेपछि मैले हुन्छ भनेँ। यता कसैकसैले मोईन शाहको मान्छे भन्न थाले। यसैबीच लोकसेवा पनि खुल्यो र हामी २९ जनाले लोकसेवा पास गर्‍यौँ। बुझ्दै जाँदा वीर अस्पतालमा एउटा मात्र दरबन्दी, २८ अन्यत्रै जानुपर्ने। वीरमा हुन सकेन भने डिनको ‘अफर’ लिने विकल्प थियो। आफ्नो सोर्सफोर्स छैन। कसलाई भन्न लगाउने? स्वास्थ्य विभागका त्यत्ति सिनियर डाक्टरहरुलाई नमस्कार गर्न लगाउने आँट भएकाहरुमा हाम्रो पहुँचको कुरै भएन।

मनमा आयो राजेश्वर देवकोटा, आफ्ना बन्धु किन नभन्ने एकपल्ट। उहाँको घर गएँ महाराजगञ्ज। रानी एश्वर्यको जन्मदिन परेको रहेछ। उहाँको घर पुग्दा उर्दीमा जान लवेदा सुरुवाल लगाई जुत्ता पालिस गर्दै हुनुहुन्थ्यो। नाता अनौठो थियो हाम्रो। उमेरमा उहाँ धेरै सिनियर तर म काका। मैले छोटोमा उहाँलाई आफ्नो कुरा बताए। मन्त्री को छ?  उहाँले सोध्नुभयो। पद्मसुन्दर लावती। असाध्य चर्चित। अनुशासनहीन डाक्टरलाई देख्नै नचाहने। सिनियरलाई पनि ट्रान्सफर गरिदिहाल्ने। उहाँले (राजेश्वर देवकोटा) केही भन्नुभएन। उर्दीमा निस्कनुभयो। एकछिन उहाँकी श्रीमतीसँग बसें। एक ग्लास गाईको दूध खाएँ,  निस्केँ। तत्काल मीनपचासको छुट्टी सुरु भयो। घर गएँ। यता वीर अस्पालतको खासै आश थिएन। माधव दाइ त्यसबेला काठमाडौंमा काम गर्नुहुन्थ्यो। छुट्टी थिएन उहाँको। म चाहिँ एक महिनाका लागि घर गाथेँ। १० दिनपछि माधव दाइ पनि गोर्खा पुग्नुभयो। स्वास्थ्य सेवाको फाइलबाट मेरो नाम वीर अस्पतालमा भएको थाहा पाउनु भएछ। तुरुन्तै नआए अरुले लिने खतरा। हतार हतार फर्कें। चिठठी बुझेँ स्वास्थ्य सेवा गएर। त्यो बेलाको पत्रमा फलानो डाक्टर सरुवा भई खालि हुन आएको पोस्टमा फलानोलाई खटाइएको छ, भनिएको थियो। संयोग मेरै कलेजमा पढेका माधवेन्द्रपुरुष ढकालको बुटवल सरुवा भएकाले म आएको रहेछु वीरमा।

‘मेरो छोरो तपाईंको विद्यार्थी हो। हरेक टिचरले कस्तो पढाउँछ, म सोध्ने गर्छु अनिललाई। तपाईँको विषयमा उसले धेरै राम्रो कुरा गर्छ। तपाईँ राम्रो पढाउने शिक्षक हुनुहुन्छ। हुन त म पनि इन्स्टिच्यूट छोड्दै छु। तर, म जानुभन्दा पहिला तपाईंजस्तो मान्छेलाई एउटा करिअरको ग्यारेन्टी गरेर विदेश पढ्न जाने व्यवस्था गरेर मात्रै छाड्छु। तपार्इं नजाओस्।’

वीर अस्पतालका सुरिटेण्डेन्टलाई चिनाएँ, म फलानो डाक्टर, ज्वाइन गर्न आएको भनेर। डा. जोगेन्द्रमान सिंह हुनुहुन्थ्यो, धेरै भलाद्मी। चिठ्ठी दिएँ। उहाँको टेबलमा अर्को चिठ्ठी पनि रहेछ, डा. मोईन शाहको, वीरमा मेरो डेप्युटेसनका लागि। उहाँले सोध्नुभयो महाराजगञ्जको पनि चिठ्ठी छ, कुन रोज्नु हुन्छ? मैले स्वास्थ्य सेवा विभागकै कर्मचारी भएर ज्वाइन गर्ने निर्णय सुनाएँ। डाक्टर सिंह बिहान ८:३० बजे सुपरिटेन्टेड अफिस आउनुहुन्थ्यो, सबैलाई इन्स्ट्रक्ट गर्नुहुन्थ्यो। अरुका कुरा सुन्ने। भर्खरै ज्वइन गरेकालाई सुरुको तीन महिना इमर्जेन्सीमा काम लगाउने र त्यसपछि मात्र वार्डमा पठाउने चलन थियो। इमर्जेन्सी ‘फ्रेस’ डाक्टरबाटै चलाइन्थ्यो। वार्डमा गएपछि कोही फर्केर नआउने इर्मजेन्सीमा। मेरो जीवनको एउटा नयाँ पाटो शुरु भयो।

बैशाख २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्