उत्तर कोरियामाथि प्रतिबन्ध होइन विकासका लागि सहयोग गर्ने अमेरिकी प्रस्ताव

उत्तर कोरियाले परमाणु कार्यक्रम त्यागेमा उसको अर्थतन्त्र सुधारका लागि सहयोग गर्ने अमेरिकाले बताएको छ ।
उत्तर कोरियाको भ्रमण गरेर फर्किएका अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उत्तर कोरिया परमाणु कार्यक्रम त्याग्न राजी भएमा अमेरिका उसको अर्थतन्त्र ‘रिबिउल्ड’ गर्न तयार रहेको बताएका हुन् ।
अमेरिका आर्थिक समृद्धिका लागि उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक रहेको उनले बताएका छन् । यसमा दक्षिण कोरियाको पनि साथ रहने विदेश मन्त्री पोम्पेओको भनाई छ ।

आउँदो जुन १२ मा सिंगापुरमा हुने भनिएको राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको वार्ताको तयारीका लागि उत्तर कोरिया गएर फर्किएका विदेश मन्त्री पोम्पेओले किमसँग राम्रो छलफल भएको बताए ।
यसअघि एक अर्काको उछितो काट्नमा को भन्दा को कम हुने गरेका ट्रम्प र किमले गएको अप्रिलमा वार्ताका लागि तयार भएको भन्दै विश्व समुदायलाई अचम्मित पारेका थिए ।
बिच बिचमा पनि चेतावनी तथा वार्तामा संका आइरहेका थिए । तर दुवै देशका अधिकारीले गोप्य रुपमा लामो तयारी गरेपछि बिहीबार अबेर मात्रै वार्ताको मिती र स्थान सार्वजनिक गरिएको हो ।
उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण अमेरिकासहित दक्षिण कोरिया तथा जापानसँग पनि उसको सम्बन्ध खराब थियो । सन् २०१८ लागेसँगै उत्तर कोरियाले सम्बन्ध सुधारको प्रयासलाई तीब्रता दिएको छ ।
गएको मार्चका अन्तिममा उत्तर कोरियाका किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनबिच वार्ता भयो । यसले दुई देशको सम्बन्ध सुधार गर्नमा ठूलो भूमिका खेलेको विश्लेषण गरिएको छ । अब किम र ट्रम्पबिच वार्ताको तयारी छ ।
यो वार्ताले विश्व शान्तीका लागि ठोस कमद चाल्ने आश गरिएको छ । उत्तर कोरियाका नेता किमले सही बाटोको छनौट गरेर परमाणु कार्यक्रम त्यागेमा उत्तर कोरिया तथा त्यहाँका नागरिकलाई समृद्धि र शान्तीले चाँडै नै स्वागत गर्ने अमेरिकी विदेश मन्त्री पोम्पेओले बताए ।

पोम्पेओ उत्तर कोरियाबाट फर्किए लगतै उनलाई भेट्न दक्षिण कोरियाका विदेश मन्त्री काङ्ग किउङ्ग–वाह वासिङ्गटन पुगेका थिए ।
काङ्गसँगको भेटपछि शुक्रबार पोम्पेओले उत्तर कोरियाले वार्ता लगतै परमाणु निशस्त्रिकरणलाई तीब्रता दिनु पर्ने बताए ।