यता मोदी, उता चुनाव

कर्नाटकमा चुनाव, मोदीमाथि ‘आक्रामक’ राहुल

भारतको कर्नाटकमा विधानसभा चुनावका लागि शनिबार मतदान भइरहेको छ । तीन महिना लामो चुनावी अभियानपछि शनिबार कर्नाटकको २२४ मध्ये २२२ विधानसभा सिटका लागि मतदान भइरहेको छ ।

कर्नाटकमा अहिले सत्तामा रहेको कांग्रेस आइ र भारतीय जनता पार्टी (भाजपा) बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर पूर्व प्रधानमन्त्री एचडी देवी गोवदाको जेडी (एस) ले नतिजामा परिवर्तनकारी भूमिका खेल्ने विश्लेषण गरिएको छ ।

कर्नाटकमा सन् १९८५ देखि कुनै पनि पार्टीले लगातार दोस्रो कार्यकालका लागि चुनाव जितेका छैनन् । तर चुनाव अघि भएका अधिकांश मतसर्वेक्षणले झिनो मतअन्तरले कांग्रेस विजयी हुने देखाएका छन् । कांग्रेसलाई केन्द्रमा सत्तामा रहेको भाजपाले कडा चुनौती दिने देखिएको छ ।

झण्डै पाँच करोड मतदाताले २६०० भन्दा बढी उम्मेदवारबाट आफ्नो प्रतिनिधि चयनका लागि मतदान गर्दै छन् । चुनावका लागि ५५ हजार ६ सय मतदान केन्द्र तोकिएको छ । यो चुनावलाई आउँदो वर्ष हुने लोकसभा चुनावको तयारीका रुपमा पनि लिइएको छ ।

चुनाव प्रचारप्रसारका लागि कांग्रेसका अध्यक्ष राहुल गान्धी तथा भाजपाको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी नै सक्रिय भएका थिए । दक्षिण भारतका लागि कर्नाटक भाजपाको प्रवेशद्वार बन्ने भाजपा अध्यक्ष अमित शाहले बताएका छन् ।

भाजपाले सन् २००८ देखि २०१३ सम्म कर्नाटकमा सत्ता सम्हालेको थियो । तर कांग्रेस नेता तथा कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले पार्टीले इतिहास बनाउने र फेरि पनि सत्तामा आउने बताएका छन् ।

कर्नाटकको एक सिटमा भाजपा उम्मेदवारको निधन तथा अर्को सिटमा मतदाता परिचयपत्रमा देखिएको विवादका कारण शनिबार मतदान भएको छैन ।

चुनावको अघिल्लो दिन प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार नेपाल भ्रमणमा आए । उता कांग्रेस अध्यक्ष राहुल गान्धीले मोदीमाथि आक्रामक भाषण गरे ।

मोदीले कर्नाटकका नागरिकलाई भ्रममा पारेको आरोप गान्धीले लगाएका छन् । मोदीले चुनावी  र्‍यालीमा जनताको मुद्दामा कम आफूमाथि आरोप लगाउनमा समय खर्चेको गान्धीको आरोप छ ।

चुनावअघि भएको पत्रकार सम्मेलनमा कांग्रेस अध्यक्ष गान्धीले भाजपाले हिन्दु शब्दको अर्थ नै नबुझेको बताए ।

चुनावअघि आफू मन्दिर मन्दिर गएको बारे उनले भने, ‘देशका बासिन्दा विभिन्न आस्थामा विश्वास गर्छन् । एक नेताको रुपमा म उनीहरुको आस्थाको सम्मान गर्छु । उनीहरुको विश्वाससँगै म पनि उभिन्छु । म गुरुद्वारा जान्छु, मन्दिर पनि जान्छु । तर म मन्दिर जाँदा भाजपालाई निकै समस्या हुन्छ ।’

आरएसएसले कर्नाटकको सँस्कृतिलाई बर्बाद पार्न लागि परेको गान्धीले आरोप लगाए । गान्धीले आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा पनि प्रस्तुत गर्ने गरेका छन्, पछिल्लो समय ।

उनले भने, ‘यो चुनाव मेरा लागि होइन न कि प्रधानमन्त्री पदका लागि । यो चुनाव त कर्नाटकका लागि हो । यो राज्यले देशलाई धेरै दिएको छ । नरेन्द्र मोदीले कर्नाटकको विकाससँग जोडिएका मुद्दा बारे बोल्न छोडेर ममाथि व्यक्तिगत आरोप लगाउनमा समय खर्चिए ।’

केन्द्र सरकार समक्ष युवालाई रोजगारी दिने चुनौती रहेको गान्धीले बताए । मोदी सरकारले हरेक वर्ष दुई करोड युवालाई रोजगारी दिने बताए पनि त्यस्तो गर्न नसकेको उनको भनाई छ ।

गान्धीले भाजपा दलित विरोधी रहेको बताए । प्रधानमन्त्री मोदीले दलितका मुद्दा बारे नबोलेको उनको आरोप छ । यस्तै मोदीको विदेश नीति पनि राम्रो नरहेको गान्धीले बताए । चीन भारतको प्रतिद्धन्द्धी रहेको तर चीन गएर मोदीले डोकलाम बारे केही कुरा नगरेको गान्धीको आरोप छ ।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्