मलेसिया : चुनावपछिको फेरिएको अवस्था

९२ वर्षका महाथिर सरकारको निर्णय, पूर्व प्रधानमन्त्री नजीब देश बाहिर जान नपाउने

मलेसिया बाहिर जान प्रतिबन्ध लागेका पूर्व प्रधानमन्त्री नजीब रजाक । तस्बिर : एएफपी

मलेसियाका पूर्व प्रधानमन्त्री नजीब रजाक देश बाहिर जान नपाउने भएका छन् । उनलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको मलेसियाका अधिकारीले बताएका छन् ।

नजीबले आफू र श्रीमती शनिबार बिदामा जाने तयारीमा रहेको बताएपछि सरकारले यस्तो निर्णय गरेको हो । यो हप्ताको सुरुमा भएको चुनावमा लामो समयदेखि सत्तामा रहेका नजीवको पार्टी पराजित भएको थियो । उनको बारिसन नेशनल (बिएन) गठबन्धनलाई ९२ वर्षका महाथिर मोहम्मदको गठबन्धन सामु निरिह देखियो ।

मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर मोहम्मद । तस्बिर : रोयटर्स

बिएन र यो गठबन्धनको प्रमुख पार्टी, संयुक्त मलेसिया राष्ट्रिय संगठन (युएनएनओ) सन् १९५७ मा बेलायतबाट देश स्वतन्त्र भएदेखि नै सत्तामा थियो । तर गएको केही वर्षदेखि उसको लोकप्रियता घटेको थियो ।

सन् २०१३ मा भएको चुनावमा विपक्षी नेताले लोकप्रियता पाए, भोट पनि पाए तर सरकार बनाउन आवश्यक जित हाँसिल भएन । मोहम्मद आफै एक समय बिएनका मुख्य नेता हुन् र नजीबका राजनीतिक गुरु पनि । तर पछि उनले पार्टीले भ्रष्टारको समर्थन गरेको भन्दै अलग भएको घोषणा गरेका थिए ।

मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले ११५ सिट जितेको निर्वाचन आयोगले जनाएको छ । सरकार बनाउनका लागि ११२ सिटमा जित निकाले पुग्ने थियो ।

पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले शपथ ग्रहण आउँदो बिहीबार हुने अपेक्षा गरेका छन् । तस्बिर : एएफपी

९२ वर्षका मोहम्मद नेतृत्वको गठबन्धनले गएको ६० वर्षदेखि सत्तामा रहेको बारिसन नेशनल (बिएन) गठबन्धनलाई हराएको हो । जितपछि मोहम्मदले प्रधानमन्त्रीको रुपमा शपथ लिइसकेका छन् । उनी विश्व सबै भन्दा बढी उमेरको निर्वाचित नेता बनेका छन् ।

मलेसिया बाहिर जान प्रतिबन्ध लागेका पूर्व प्रधानमन्त्री नजीबमाथि ७ सय मिलियन अमेरिकी डलर हिनामिना गरेको आरोप लागेको छ ।

उनले राज्यको लगानी कोषको रकम हिनामिना गरेको आरोप लागेको भए पनि तत्कालीन सरकारले उनलाई छुट दिएको थियो । बिहीबार महाथिरले प्रधानमन्त्रीको रुपमा शपथ लिएसँगै नजीबमाथिको मुद्दामा अनुसन्धान हुने देखिएको छ ।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्