ओलीले नै उपहार पठाइदिएका थिए मोदीलाई गेरु कुर्ता सुरुवाल

काठमाडौँ– शुक्रबार जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उस्तै ड्रेसमा देखा परे।

मोदीको जस्तै रंगको मिथिला कुर्ता सुरुवाल ओलीले पनि लगाएको फोटो सार्वजनिक हुने वित्तिकै सामाजिक सञ्जालमा ‘नक्कल गरेको’ भन्दै उछितो काढियो। राष्ट्रवादी छवि बनाएका ओलीले मोदीको जस्तै कपडामा देखिएपछि कतिपयले उनले राष्ट्रियताको अडान छाडेको अर्थसमेत लगाए। तर, दुवै देशका प्रधानमन्त्रीले लगाएको मिथिला कुर्ता सुरुवाल ओलीले मोदीको नक्कल नगरेको भई ओलीकै उपहार मोदीले स्वीकार गरेको थाहा भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार जनकपुरमा दुई देशका प्रधानमन्त्रीले लगाउने कुर्ता सुरुवाल काठमाडौंमा सिलाएर मोदीका लागि पठाइएको थियो। प्रधानमन्त्री ओलीका विश्वासपात्र एक एमाले नेताले भने, ‘पोशाकको बारेमा धेरै नबोलौं। यो हामीले नै उपहार स्वरुप उहाँलाई पठाएका थियौं।’

काठमाडौंको कुन टेलर्समा उक्त पोशाक सिलाएको हो भन्नेबारे ती नेताले बताउन चाहेनन्। कुर्ता सुरुवाल मधेसको सामान्य औपचारिक पोशाक भएकाले दुवै देशका प्रधानमन्त्रीले परिवेशअनुसारको कपडा लगाएका हुन्।

ओली र मोदी दुवै समाज र परिस्थितिअनुसार पोशाक लगाउन र वाकपटुतामा माहिर मानिन्छ।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्