मोदीको सभागृह सम्बोधन: भावुकता र अतिप्रशंसाले नाकाबन्दीको घाउ पुर्ने प्रयास

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट बिदाइ हुनु केही बेरअघि मात्रै गरेको भाषण निकै रोचकपूर्ण मानियो। र, नेपालमा उनको घट्दो लोकप्रियतालाई बिर्सने गरी त्यो भाषणको प्रशंसासमेत गरिएको छ।

मोदीले २५ मिनेटमा नेपालले बोकेको सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक पहिचानबारे स्पष्ट व्याख्या गर्ने कोशिस मात्रै गरेनन्, भूगोलको समेत प्रशंसा गर्दै त्यसको विकासका लागि काँधमा काँध जोड्ने प्रतिवद्धता समेत  जनाए।

नेपाली र नेपाललाई सम्वोधन गर्ने क्रममा अधिकांश समय नेपाली भाषा नै बोलेर भाषणको सुरुवात गर्ने प्रधानमन्त्री मोदीले त्यो आफूलाई अभिनन्दन गर्न शनिबार काठमाडौं महानगरपालिकाद्वारा आयोजित समारोहमा अझै लामो बनाए र सहभागिको मन जित्ने प्रयत्न गरे।

मञ्चमा बसिरहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौंका महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतको नाम लिँदै मोदीले सम्बोधन गरे,  तपाईहरु सबैलाई मेरो बिनम्र नमस्कार।

मोदीले त्यति भन्न नपाउँदै सभागृहमा भरिभराउ भएका सहभागीहरुले हाँस्दै मुखामुख गरिसकेका थिए। मोदीले नेपाली भाषामा भाषण त्यतिमा सीमित राख्न चाहेनन् र हात जोड्दै अर्को वाक्य थपे, ‘काठमाडौंको यस राष्ट्रियसभागृहमा उपस्थित तपाईँहरु सबैलाई हार्दिक अभिनन्दन गर्दछु। कृपया स्वीकार गर्नुहोला। मोदीको त्यो वाक्यले पनि सहभागिबाट तालीको ओइरो लगाउन बाध्य बनायो।

त्यसपछि आफ्नै भाषा हिन्दीबाट बोल्न सुरु गरेका मोदीले आफ्नो अभिनन्दन गरिदिएकोमा आयोजकलाई पटकपटक धन्यवाद दिए।  यसलाई उनले आफ्नाका लागि मात्र नभई पुरै भारतीय नागरिकको सम्मानकोरु पमा अर्थ्याए।

काठमाडौं हिरा
मोदीले काठमाडौँसँग हरेक नेपाली र भारतीय नागरिकको आफ्नै नाता र सम्बन्ध रहेको बताए। त्यो नातामा आफू पनि गाँसिने सौभाग्य मिलेको उनको भनाइ थियो।

शान्ति र आत्मीयताको अनुभूतिका लागि राजनीतिक जीवन सुरु गर्नु पहिल्यै नै नेपाल आउने गरेको खुलासा समेत मोदीले गरे। उनले भने, ‘त्यसको एउटै कारण थियो, तपाईँ सबैको जोससहितको स्वागत, सत्कार, माया र सम्मान।’

काठमाडौंलाई उनले जनकपुरसम्म जोड्दै उनले भने, ‘राजा जनकले शस्त्रलाई तोडिदए र स्नेहले जोडिदिए।’ मोदीको आशय थियो, नेपाल र भारतको सम्बन्ध पनि मायाले मात्रै प्रगाढ बन्छ।

मोदीले भने, ‘काठमाडौं एउटा सहर मात्रै नभई छिमेकी र मित्र राष्ट्रको, भगवान बुद्धको जन्मस्थलको, सगरमाथा र लालीगुँरासको राजधानी मात्रै होइन यो पूरै इतिहास बोकेको हिमाल जस्तै उच्च ठाउँ हो।’

काठमाडौं पहिचान त्यति मात्रै नभएको मोदीको ठहर थियो। त्यसैले उनले भने, ‘मलाई काठमाडौंले सँधै तानिरह्यो। किनकि यो सहर जति गहन छ, त्यतिनै गतिशील छ। हिमालको काखमा रहेको एक हिरा हो। यो काठको मण्डप होइन, यो हाम्रो साझा सांस्कृति र विरासतको एक दिव्य भव्य महल हो।’

मोदीले नागार्जुन जंगल, शिवपुरीका पहाड, सयौँ झरना, जलधाराको शीतलता, बाग्मतीका उदगम, हजारौं मन्दिर, मञ्जुश्रीको गुफा र बौद्ध विहारको सहर काठमाडौं दुनियाँमै अनौठो रहेको बताइरहँदा सहभागिहरु ध्यानमग्न हुँदै मोदीलाई सुनिरहे।

आकाश मूनि उपत्यकाबाटै धौलागिरी, अन्नपूर्ण, सगरमाथा अनि कञ्चनजंगा जस्ता हिमालको दर्शन काठमाडौंमा मात्रै सम्भव भएको मोदीले दावी समेत गरे।

हिमालबाट उपत्यकामा प्रवेश गरेका मोदीले बसन्तपुरका सुन्दरता, पाटनको प्रतिष्ठा, भक्तपुरको भव्यता र कीर्तिपुरको कला र ललितपुरको लालित्य संसारकोे कुनै ठाउँमा नमिल्ने मोदीले ठोकुवा गरे। मोदीले त्यसो भन्दा सहभागीहरु खुशीले गद्गद् हुँदै ताली बजाइरहे लामो समय।

‘जसरी इन्द्र धनुषले सबै रंगलाई समेट्छ त्यसैगरी काठमाडौंको हावामा अनेकौं परम्परा घुलमिल छ। पशुपतिनाथको चन्दन लगाउन, स्वयम्भूको सिँढी चढ्दा आनन्द र बौद्धमा परिक्रमा गर्दा बज्ने धून अन्त मिल्दैन’, मोदीले सहभागिलाई ताली बजाउन बाध्य बनाइरहे।

मोदीले काठमाडौंका जातीय विविधताको महत्वबारे पनि प्रस्ट्याउने कोसिस गरे, ‘नेवार समुदायको तिहारमा हिन्दु र बौद्ध धर्मको मान्यता र प्रथाको अभूतपूर्व संगम छ। परम्परा र संस्कृतिले काठमाडौंको हस्तकलाको विकासका लागि कलाकारलाई अचम्मको शक्ति दिएको ठम्याइ मोदीको छ, चाहे त्यो हातले बनाएको कागज होस् चाहे तारा र बुद्धका मुर्ति।’

भक्तपुरका माटाका भाँडाको बयान
मोदीको भाषण काठमाडौंको विशेषतामा मात्र सीमित भएन। मोदीले भक्तपुरको माटोले बनाउने भाँडा होस् या पाटनमा पत्थर, काठ र धातूका मूर्ति बनाउने सीप अनौठो भएको अनुभव सुनाए। मोदीले काठमाडौंको परम्परालाई युवा पुस्ताले अंगालिरहेकोमा खुसी मिल्ने समेत बताए। त्यतिमात्र नभएर नेपाली युवाले आफ्नो परम्परामा युग अनुसारका नयाँपन पनि मिसाइरहेको मोदीले बताए।

लुम्बिनी अवश्य पुग्ने छु
यसअघिका नेपालका दुई यात्रा भगवान पशुपतिनाथमा प्रार्थना गर्ने मौका पाएका र तेस्रो यो यात्रामा जनकपुरको जानकी मन्दिर र मुस्ताङको मुक्तिनाथको दर्शन गर्न सौभाग्य मिलेको समेत मोदीले दोहोर्‍याए। मोदीले यी तिनै तीर्थस्थल नेपाल र भारतबीचको सम्बन्धलाई बलियो बनाउने हिमाल भएको बताए।

बुद्ध भारतमा जन्मिएको भाषण गर्दा विवादमातानिएका मोदीले तीन पटकसम्म नेपाल आउँदा लुम्बिनी नगएका कारण उनी आलोचित समेत बनेका थिए। सायद, त्यसबाट उम्कन मोदीले समय मिल्नासाथ बुद्धको जन्मस्थल लुम्बिनी जाने प्रतिवद्धता जनाए।

भगवान बुद्धको जन्मस्थल नेपाल नै भएको स्पष्टीकरण दिँदै मोदीले भने, ‘आगामी दिनमा जब नेपाल यात्राको अवसर मिल्ने छ, तब म समय निकालेर भगवान बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम पनि अवश्य बनाउने छु। मोदीले त्यसो भन्दा फेरि सहभागि खुशीले दंग परे र तालीबाट त्यसको स्वागत गरे।

शान्ति खोज्दै नेपाल र भारत
शान्ति, प्रकृतिको साथ र सन्तुलन नेपाल र भारतको पहिचान भएको समेत उनले बताए। संसारबाट शान्तिका लागि नेपाल र भारत धाउने गरेको समेत उनले खुलाए। आधुनिक जीवनको बेचैनीको समाधान नेपाल र भारले गरिरहेको समेत उनले बताए। ‘बाग्मतीको किनारमा पशुपतिनाथ र गंगाको किनारमा काशीविश्वनाथ त्यसै निर्माण भएका होइन। त्यहाँबाट विश्वलाई नै शान्ति मिलेको छ’, मोदीले भने। नेपाल र भारतको संस्कृति, परम्परा र धार्मिक स्थल दुवै मुलुकका युवा पुस्ताका लागि सम्पति भएको उनको भनाइ छ।

भारतको विदेश नीति सबैलाई साथ लिएर जाने
सबै विश्व एक परिवार भएको दर्शन भारतले अंगाल्दै आएको, सबैको साथ सबैको विकासको मान्यतालाई अपनाएकाले आफ्नो विदेश नीति र सहयोग उद्धार रहेको र त्यो धेरै नै पवित्र रहेको मोदीले सुनाए।

‘सबैको कल्याण होस्, कसैलाई पनि दुःख नहोस्। भारतका नागरिकले सँधैभरि यही सपना देखेका छन्। यो आदर्शलाई प्राप्त गर्न हाम्रो विदेश नीति सबैलाई साथ लिएर अघि बढ्नेमा केन्द्रित रहेको छ’, मोदीले भने।

जलवायु परिवर्तन समाधानमा एक हौं
मोदीले पछिल्लो समय सबैका लागि समस्या बनेको जलवायु परिवर्तनको समस्या समाधानमा भारत लागेको र त्यसमा विश्वका सबै मुलुकले सहयोग गर्नु पर्नेमा समेत जोड दिए। जलवायु परिवर्तन सबै मुलुकका लागि ठूलो चुनौती बनेको र त्यसको समाधानमा सबै मुलुक साझेदारी गर्न आवश्यक रहेको उनको भनाइ छ। त्यसका लागि आफ्नो देश र फ्रान्सबीच भएको सन्धि महत्वपूर्ण बनेको उनको भनाइ छ।

नेपालमा आशाको माहोल
मोदीले नेपालमा यतिबेला आशाको माहोल भएको भन्दै ‘समृद्धि नेपाल सुखी नेपाली’ भिजन पूरा गर्न भारतले हातेमालो गर्ने बताए। त्यसमा नेपाली आफैँको महत्वपूर्ण योगदान समेत रहेको उनले बताए। भूकम्पमा नेपालीले गरेको धर्यरताको संसारभर प्रशंसा भएको मोदीको भनाई छ ।

छोटो समयमा विभिन्न संक्रमण पार गर्दै अहिले नेपाल समृद्धिको यात्रामा अघि बढेको ठम्याइ मोदीको छ। तीन तहमा लोकतान्त्रिक सरकार हुनु र तीन स्तरको चुनाव एक वर्षमा सम्पन्न गर्ने शक्ति नेपालमै रहेको भन्दै उनले त्यसको प्रशंसा समेत गरे। छोटो समयमै युद्धलाई छोडेर शान्तिको बाटोमा आउने मुलुक नेपाल मात्रै रहेको उनले बताए।

नेपालको प्राथमिकता अनुसार सहयोग

मोदीले नेपाल आफ्ना आवश्यकता र प्राथमिकता अनुसार साथ दिने बताए। यसलाई आफूले जिम्मेवारीपूर्वक भनेको समेत स्पष्ट पारेका छन्। मेरो नेपाल यात्राको एक मात्रै उद्देश्य हो’, नेपाल आफ्नो आवश्यकता र प्राथमिकतामा अघि बढोस्। भारतमा काँधमा काँध मिलाएर अघि बढ्न तयार छ।

मोदीले नेपालीको खुशी नै भारतको खुसी भएको समेत बताए। नेपाल अहिले सगरमाथाको आधार शिविरमा पुगिसकेको र त्यसको चुचुरोमा पुग्नका लागि भारत शेर्पा बन्न तयार भएको समेत बताए। ‘नेपाल अहिले सगरमाथाको बेस क्याम्पमा छ। पर्वतारोहीलाई त्यहाँ भन्दा माथि जान जसरी शेर्पाले सहयोग गर्छन। भारत पनि ती शेर्पा बन्न हरहमेसा तयार छ’, उनले भने।

मोदीले नेपालको प्राथमिकतामा परेको र आफुले त्यसमा सहयोग गर्ने प्रतिवद्धता गरेका विषय रेल्वे, जलविद्युत, प्रसारण लाइन अथवा तेल पाइप लाइन जडानमा सहयोग गर्ने प्रतिवद्धता जनाए। र, अन्तममा मोदीले तीन पटक एउटा वाक्य नेपाली भाषामा दोहोराउँदै विदा भए’, नेपाल र भारत मैत्री अमंर रहोस्।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्