सुजीव शाक्यले ल्याए ‘अर्थात् अर्थतन्त्र’

ललितपुर–अर्थतन्त्रको गाँठोलाई सुझाउने पुस्तक ‘अर्थात् अर्थतन्त्र’ सार्वजनिक भएको छ। आर्थिक क्षेत्रका सुपरिचित ‘विद’ सुजीव शाक्यले पाठकसमक्ष अर्थात् अर्थतन्त्र लिएर आएका हुन्। नेपालय पब्लिकेशनले प्रकाशन गरेकोे पुस्तक शनिबार विमोचन भएको हो।

‘हाम्रा सबै कुराकानी जताबाट घुमेर गएपनि अन्तिममा टुंगिने त उही अर्थतन्त्रमै हो,’ उनले पुस्तकको नामाकरण बारे रहस्य खोल्दै भने, ‘त्यसैले यसको नाम‘अर्थात् अर्थतन्त्र’ राखेको हुँ।’

अन्तर्राष्ट्रिय क्षेत्रलाई आकर्षित गर्ने शैक्षिक पृष्ठभूमिका बावजुद नेपालमै केही गरेर देखाउने अठोट बोकेका तन्नेरीहरुमा ‘फिनलिट नेपाल’ का प्रकाश कोइराला, ‘अर्बन गर्ल’ की निकिता आचार्य, ‘एभरेस्ट समिट लज’की केन्चो ओङडी र सुजीवकै सुपुत्री सुयेशा शाक्य थिए।
सुजीवले यसअघि अंग्रेजीमा लेखेको ‘अनलिसिङ नेपाल’ पेन्गुइन बुक हाउसले प्रकाशित गरिसकेको छ। प्रस्तुत पुस्तक भने आफूले मैना धितालको सहयोगमा तयार पारेको उनले जानकारी दिए।

नेपाली अर्थतन्त्रको भाग्यरेखा इतिहासबाटै निर्देशित भएको सुजीवले बताए। त्यसलाई अर्थ्याउँदै उनले एकै कालखण्डमा उदाएका अर्थशास्त्री एडम स्मिथ र नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले पहिल्याएका बाटाहरुबाटै आफ्नो पुस्तक सुरु हुने जानकारी दिए। आफूले मुलुकको उज्यालो भविष्य देखिरहेको बताउने आशावादी सुजीवले त्यसैका बाटा र घुम्तीहरुलाई यो पुस्तकले प्रस्तुत गरेको बताए।

सुजीव अर्थशास्त्रको विद्यार्थी हुन्। अर्कोतिर उनको सानिध्य नेपाली लेखन क्षेत्रसँग पनि रहन पुग्यो।

‘कलिम्पोङमा स्कुल पढ्दा पारसमणि प्रधानको संगत पाएदेखि नेपाल आएपछि कामकै सिलसिलामा कमलमणि दीक्षितसम्मको सामिप्य पाएँ,’ उनले भने, ‘यसबाट आफूले जानेबुझेका कुरा नेपालीमा लेख्ने हुटहुटी पलाएको हो।’

‘नेपालमा कार्टेलिङ र सिण्डिकेटबाट मुक्त एउटै मात्र व्यवसाय मःम पसल हो,’ उनले उपस्थित सबैलाई हँसाउँदै थपे, ‘हाम्रा सम्पूर्ण व्यापारहरु मःम पसलजस्तै प्रतिस्पर्धी र सेवामुखी हुनुपर्छ।’

आख्यान, गैरआख्यान र दैनिक उपयोगीताका विविध विधामा उभिएका पुस्तकहरु पाठकसामु प्रस्तुत गर्दै आएको पब्लिकेशन्स नेपालयले आर्थिक मामिलामा पहिलोपटक यस पुस्तकलाई पाठक समक्षल्याएको हो।

‘नेपाली अर्थतन्त्रलाई यो पुस्तकले सरल किसिमले ब्याख्या गरेको हाम्रो विश्वाश छ,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले भनिन्।

मुलुकका सबैजसो प्रमुख पुस्तक पसलहरुमा यो पुस्तक उपलब्ध भइसकेको छ।

 

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्