प्रेसलाई समाचार संकलनमा रोक लगाएको भन्दै ओली सरकारको आलोचना

तस्बिर: बर्षा शाह

काठमाडौँ- नेपाल पत्रकार महासंघले काठमाडौँ महानगरपालिकाले सभागृहमा गरेको भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनका क्रममा नेपाली सञ्चार माध्यमहरुलाई प्रवेश नदिएकामा कडा भर्त्सना गरेको छ।

मोदीको नेपाल भ्रमणको क्रममा मुस्ताङ भ्रमण तथा मुक्तिनाथको दर्शनका क्रममा र काठमाडौं महानगरपालिकाद्वारा गरिएको अभिनन्दन समारोहमा सञ्चारमाध्यमलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

दुई दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी शनिबारविहान पर्यटकीय जिल्ला मुस्ताङको भ्रमण एवं मुक्तिनाथको दर्शनका क्रममा र शनिबार दिउँसो काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रियसभा गृहमा गरिएको अभिनन्दन समारोहको समाचार संकलनका क्रममा सञ्चारमाध्यमलाई रोक लगाइएको थियो।

मोदी भ्रमणको समाचार संकलनका लागि सञ्चारमाध्यमलाई विशेष पासको व्यवस्था गरेको भए पनि ती पास लिएका सञ्चारमाध्यमलाई पनि समाचार संकलन रोक लगाइएको थियो। यो घटनाले सरकार प्रेसमाथि निरंकुश रहेको प्रस्ट भएको महासंघको ठहर छ।

नागरिकलाई सुसूचित गराउने संवैधानिक जिम्मेवारी वहन गर्न खटिएका सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाउनु र अवरोध सृजना गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएकोसमेत महासंघको विज्ञप्तिमा उल्लेख छ।

‘यो घटनाले प्रेस र नागरिकको सुसूचित हुने कानुनी तथा संविधानप्रदत्त अधिकारमाथि आघात पुगेको महासंघ ठहर छ। महासंघ यो घटनाको कडा भर्त्सना गर्दछ र प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदोहोर्‍याउन सम्बन्धित निकायसँग माग गर्दछ,’  महासचिव रमेश बिष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्