सेन्ट्रल पेरिसमा चक्कु आक्रमण : एकजनाको मृत्यु, चार घाइते

आक्रमण स्थलमा फ्रान्सेली प्रहरी । तस्बिर : एएफपी

फ्रान्सको राजधानी पेरिसमा भएको चक्कु आक्रमणमा एकजनाको ज्यान गएको छ । अरु चारजना घाइते भएका छन् । सेन्ट्रल पेरिसमा भएको आक्रमण आतंककारी आक्रमण रहेको हुन सक्ने फ्रान्सेली अधिकारीले बताएका छन् ।

चक्कुले सर्वसाधारणमाथि आक्रमण गर्ने व्यक्ति प्रहरीको जवाफी कारवाहीमा मारिएका छन् । आक्रमणकारी प्रहरीको गोली लागेर मारिएका हुन् । प्रत्यक्षदर्शीले आक्रमणकारीले चक्कु प्रहार गर्ने बेला ‘अल्लाह हुअक्बर’ भनेको सुनेको बताएका छन् ।

आक्रमण आक्रमण भएको ओपरा डिस्ट्रिक रात्री जीवनका लागि प्रख्यात छ । तस्बिर : एएफपी

शनिबार बेलुका भएको आक्रमण आफ्ना एक लडाकुले गरेको बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) ले दाबी गरेको छ । रात्री जीवनका लागि प्रख्यात सेन्ट्रल पेरिसमा आक्रमण भएको हो ।

फ्रान्सेली राष्ट्रपछि इम्यानुएल म्याक्रोनले आक्रमणको भत्सर्ना गर्दै आक्रमणकारीलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् । आक्रमणकारीले हिँड्दै गरेका व्यक्तिमाथि चक्कु प्रहार गरेका हुन् ।

ती व्यक्तिले रेस्टुरेन्ट तथा बारमा छिरेर आक्रमण गर्न पनि खोजेका थिए । फ्रान्समा गएको तीन वर्षमा आतंककारी आक्रमणमा २३० जना भन्दा बढीको ज्यान गएको छ । सन् २०१५ को नोभेम्बर १३ मा भएको आक्रमणमा १३० जनाको ज्यान गएको थियो ।

बैशाख ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्