बुढीगण्डकीको ठेक्का चिनियाँ कम्पनी गेजुवाले पाउने सम्भावना कम

काठमाडौं – चिनियाँ कम्पनी गेजुवालाई प्रधानमन्त्री केपी ओलीले सार्वजनिक प्रतिबद्धता जनाए अनुरुप १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत परियोजना निर्माण ठेक्का दिने सम्भावना कम देखिएको छ ।

उर्जा मन्त्री वर्षमान पुनले उक्त परियोजना आगामी आर्थिक वर्षमा खुला टेण्डरका लागि राखिने बताए । ‘हामी सकेसम्म यो परियोजना ऋण लिएर भए पनि स्वदेशकै लगानीमा निर्माण गर्न चाहन्छाैँ ।सम्भव नभए ग्लोबल टेण्डरमा राख्ने छाैँ’ उर्जा मन्त्री पुनले देश सञ्चारसँग भने ।

२ खर्ब ६३ अर्बको लागतमा बन्ने परियोजना तत्कालीन उर्जा मन्त्री तथा माअ‍ोवादी नेता जर्नादन शर्माले केपी ओली सरकारको उर्जा मन्त्रीको रुपमा गेजुवालाई दिने निर्णय गरेका थिए ।

तर त्यसपछि आएको शेरबहादुर देउवा सरकारका उर्जा मन्त्री कमल थापाले गेजुवालाई दिइएको ठेक्का ‘पारदर्शी’ नभएको भन्दै त्यसलाई राष्ट्रिय गौरवको परियोजनाको रुपमा आन्तरिक स्रोतबाटै निर्माण गरिने घोषणा गरेका थिए ।

गएको चुनाव प्रचारताका र चुनाव सम्पन्न भइसकेपछि ओलीले आफू सत्तामा गएपछि परियोजना चीनलाई नै दिने घोषणा गरेका थिए ।

बैशाख ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्