ब्लग

प्रधानमन्त्री ज्यू, ‘पाहुना’ पत्रकार पाउँदा हामीमाथि विभेद किन ?

पत्रकार जहाँका भए पनि उनी उनीहरुले दिने सूचना नै हो । हरेक पत्रकारले आफूले दिने सूचना, फोटो वा भिडियो सकेसम्म राम्रो अनि भरपर्दो होस् भनेर नै फिल्डमा गएको हुन्छ ।

सामान्य मानिसलाई लाग्न सक्छ पत्रकारको काम के हो र ? तर एउटा पत्रकारको अवस्था र पीडा उसलाई जति अरुलाई के थाहा ?

एउटा सूचना लिनका लागि वा फोटो लिनको लागि पत्रकारले गर्ने संघर्ष कति हुन्छ ? यस्तै संघर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा पनि नेपाली पत्रकारले गर्नु पर्‍यो ।

बर्षा शाह

मोदी आउने दिन नजिकिँदै गर्दा सूचना विभागले आफ्नो साइडमा एउटा सूचना जारी गर्‍यो । जसमा मोदीको नेपाल भ्रमणका लागि जारी गरिने पासको बारेमा थियो । त्यहि अनुसार नेपालका निजी संचारमाध्यमका पत्रकारले त्यो सुरक्षा पासका लागि निवेदन दिए पहिलो दिन । र, दोस्रो दिन दिउँसो २ बजे आउने भनिएको पास ४ बजेपछि मात्र आयो ।

पास अन्तर्राष्ट्रिय मिडियालाई सबै ठाउँका लागि भनेर दिइएको थियो । तर नेपाली मिडियालाई ठाउँ छुट्याइएको थियो । निकै कम मात्रामा मात्र त्यो पास उपलब्ध गराइएको थियो ।

त्यस पासमा लेखे अनुसार नै हामी एयरपोर्टमा फोटो तथा भिडियो खिच्न गएका थियौँ । यसपाली रिपोर्टरलाई भने निकै कम पास दिइएको थियो । एयरपोर्टमै पनि नेपाली मिडिया र भारतबाट आएकालाई गरिएको विभेद प्रष्ट थियो । तर पनि हामीले केही बोलेनौँ । त्यसपछि त्यहि दिन टुँडिखेलमा गार्ड अफ अनर थियो । जसका लागि म लगायत पास हुने साथीहरु पुगेका थियौँ । त्यहाँ पनि विभेद थियो ।

नेपाली मिडियालाई एक साइडमा कोचाकोच गरी राखिएको थियो भने भारतबाट आएकालाई अरु बेला मिडियाको ठाउँ भनेर छुटाइएको स्थानमा । उनीहरु बसेको ठाउँमा प्रस्तत ठाउँ थियो । तर पनि त्यहाँ केही बोलेनौँ हामीहरु । त्यस दिनको पास अनुसार मेरो अरु ठाउँका लागि नभएकोले अन्य ठाउँमा गइन ।

दोस्रो दिन मोदी मुक्तिनाथपछि पशुपतिनाथ दर्शनका लागि आउने भनिएको थियो । र मेरो पासमा त्यहाँका लागि फोटो खिच्न दिने थियो । लगभग म ९ः४५ बजे पशुपति पुगेँ । म पुग्दा त्यहाँ सर्वसाधरणलाई बहिर निकालिँदै थियो ।

दुई ठाउँमा सेक्युरिटीले मेरो कार्ड हेरे र मलाई जान दिए । तर एक ठाउँमा एक प्रहरी जवानले कार्ड नै नहेरी हुँदैन भनेर मसँग विभेद गरे । उनलाई मैले राम्रोसँग कार्ड पढ्न आग्रह गरेर भित्र गएँ । त्यहाँ भारतका मिडिया पनि थिए । कतिले त हामीले लाएका जस्ता कार्ड पनि लाएका थिएनन् । तर उनीहरुलाई रोकिएको थिएन् । ९ः४५ मा भित्र छिरेको म मोदी जी १२ बजे मात्र पशुपति आउनु भयो ।

अगाडि नजानु पछि सेक्युरिटीले छिर्न दिँदैन । गएपछि कममा पनि त्यो घाममा २ घण्टा मोदीको कुराइमा बित्यो । पशुपतिपछि मोदी ह्यात होटल । त्यसपछि काठमाडौं महानगरपालिकाले दिने अभिनन्दन कार्यक्रम, जुन सभागृहमा थियो ।

जसका लागि पास लिएका म लगायत केही साथीलाई त्यहाँ खिच्न दिने भनेर कार्डमा सेक्युरिटी चिफ अफ भनेर कर्णेल विष्णु कुमार खड्काले साइन गरेको कार्ड हामीलाई दिएको थियो । तर बिडम्बना हामीलाई बाहिर नै रोकियो र भनियो भित्र ठाउँ छैन । त्यसैले जान मिल्दैन ।

अचम्मको कुरा सभागृहमा अघिपछि कार्यक्रम गर्दा जति पनि ठाउँ हुने तर आज नहुने एउटा प्रश्न र अर्को भारतीय मिडियालाई सहजै जान दिने तर नेपालीलाई आफ्नै नेपालमा ठाउँ नहुने ? अर्को प्रश्न यदि ठाउँ हुँदैन त्यहाँ भन्ने त पहिला नै थाहा रैछ भने किन सुरक्षा पास भन्दै दिएको पासमा सभागृहको लागि मिल्ने भनेर दिएको ? के पत्रकारको इज्जत छैन् ?

के पत्रकारको मन हुँदैन ? यसरी विभेद गर्दा पत्रकारको मन दुख्दैन ? यसरी बारम्बार विभेदपछि माहानगरने दिने भनिएको अभिनन्दन कार्यक्रममा कुनै निजी नेपाली मिडिया छिरेन । सभागृह बाहिर बसेर नै हामीले आफ्ना क्यामरा डाउन गर्‍याैँ । हामीले क्यामरा डाउन गरेका थियौँ । तर मोदी भने कार भित्रबाट हात हल्लाउँदै आएका थिए । सायद मोदीलाई लाग्यो होला नेपाली मिडियाले बाहिरबाट नै मेरो फोटो खिच्न बसे छन् । तर जब मोदी नजिकै आए ।

कुनै पनि पत्रकारले क्यामरा यसरी हात हल्लाउँदै गर्दा आफूतिर तेर्साएको नपाएपछि निरास अनुहारसँगै हल्लाएको हात रोकेर भित्र गए । हामीले क्यामरा डाउन गर्दा नेपाल प्रहरीको एक जमातलाई हाम्रो अगाडि त्यो दृश्य लुकाउनलाई राखिएको थियो । विभेद नेपाली पत्रकारलाई भारतले होइन नेपालले नै गरेको हो । अनि नेपाल सरकारले नै यसरी गरिएको विभेद र रोकतोकबाट नेपालका पत्रकारले के बुझ्ने ? हिजोका दिन जुन हाम्रा अग्रज पत्रकार स्वतन्त्र पत्रकारिता र राजा विरोधी आन्दोलनमा उत्रिएका थिए, के त्यो आन्दोलन आज पत्रकारले यस्तै विभेद भोगुन् भनेर हो ?

मोदीले आफू नेपाल आउँदा नेपाली पत्रकारमाथि गरिएको विभेद भलै थाहा पाउन् वा नपाउन् । तर नेपालका प्रधानमन्त्रीले बुझ्नु पर्ने कुरा के हो भने नेपाली जनताले भोट दिएर हो उहाँलाई जिताएको अनि पहुना पत्रकार होइन् उहाँलाई पनि आफ्ना नेपालका पत्रकारको हो साथ चाहिने । हुन त भिभिआइपीका लागि खटिने सेक्युरिटिसँग पत्रकारको अझ भन्‍नु पर्दा फोटो पत्रकारको धेरै गुनासो छ ।

मुख्य गुनासो त भिभिआइपीलाई फोटो खिच्‍ने क्रममा छेकिदिने नै हो । होला सेक्युरिटिको हिसाबले उहाँहरुको काम होला । तर अन्य देशका सुरक्षाकर्मीले मिडियाले फोटो खिच्दा स्पेस दिने गर्छन् । हाम्रा सधै भिभिआइपी भन्दा पनि आफूहरु फेममा आइदिन्छन् ।

बैशाख ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्