कसले लगायो एनसेल टावरमा आगो?

फाइल तस्बिर

नेपालगञ्‍ज- बाँकेका दुई वटा एनसेल टावरमा आगजनी भएको छ। खजुरा गाउँपालिकाको रनियापुर र बैजनाथको एचगाउँ टावरमा आगलागी भएको हो।

गए राती साढे दश बजे रनियापुर र पौने १२ बजे एचगाउँस्थित टावरमा आगलागी भएको स्थानीयले बताए। दुवै टावरमा लागेको आगो प्रहरी गएर निभाएको थियो। बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले आगलागीबाट टावरको जेनेरेटरमा क्षति पुगेको बताए।

टावरमा आगो लगाउने समूह अगाडि आएको छैन । विप्लव माओवादीप्रति आशंका गरिएको छ।आज ३० गते नेपाल बन्द भनेको विप्लवले अघिल्लो दिन टावर हानेको आशंका गरिएको छ।

विप्लवले बन्दको पूर्वसन्ध्यामा नेपालगञ्जमा राँके जुलुश निकाल्ने हल्ला चलाएपनि निकालेको थिएन। त्यसलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

विप्लवले शुरुदेखि नै एनसेलको टावरमाथि आक्रमण गर्दै आएको छ। यसले यसअघि कालिका कन्स्ट्रक्सनको सामान र एउटा क्रिस्चियन स्कूलमा बम विष्फोट गराएको थियो। बाँकेमा एनसेलका ९२ वटा टावर छन्।प्रहरीले रेकी गरेर सुरक्षा बढाएको जनाएको छ।

यसैबीच, पूर्व–पश्चिम राजमार्गको बर्दियास्थित डुडुवा खोलाको पुलमा अज्ञात समूहले प्रेसर कुकर बम राखेको छ।पूर्वी बर्दियाको डुडुवा खोलाको पुलमा प्लाष्टिकले बेरेर राखिएको प्रेसर कुकर बमलाई विहान दश बजे यात्रुले देखेपछि प्रहरीलाई खबर गरेका थिए।बमलाई नेपाली सेनाले पौने बाह्र बजे पुलबाट तानेर खोलातिर लगेको छ।

विप्लवको बन्दको घोषणा नेपालगञ्ज र आसपासमा कम मात्रामा सवारी साधन चलेका छन्। राजमार्गमा गाडीहरु चलेपछि तर्साउनलाई बम राखेको आशंका गरिएको छ। बाँके प्रहरीले विप्लवका नेताहरुको खोजी थालेको स्रोतले बतायो।

बैशाख ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्