मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- ८)

न्यूरोसर्जरी पढ्न जान्‍नँ भनिदिएँ

म इमरजेन्सीमा आउनेबित्तिकै त्यहाँ परिवर्तन देखिन थाल्यो, सबैले देख्ने, बुझ्ने गरी। सिनियर डाक्टर नहुँदा मैले मौका पाएँ। हरेक ‘केस’ म व्यक्तिगतरुपमा अटेन्ड गर्थें। सबैको डिटेलमा ‘केस हिस्ट्री’ (पूर्ण विवरण) तयार गर्थें। म इमरजेन्सीमा गएपछि मात्रै ‘केस हिस्ट्री’ लेख्ने चलन सुरु भएको हो।

तीन महिना काम गरेपछि चर्चा हुन थाल्यो र त्यसबारे अलिकति थाहा हुन थाल्यो मान्छेहरुलाई। मलाई केही फरक रुपमा हेरिन थाल्यो। त्यसपछि ६ महिनाका लागि मलाई इमरजेन्सीमै पोस्टिङ गरियो। मेरो करिअरको अर्को पाटो खुल्यो र त्यो पाटोसँग जोडिएको एउटा सम्बन्धले अहिलेसम्म निरन्तरता पाइरहेको छ।

विज्ञापन

डा. डी.एन. गंगोल सर्जरी विभागको प्रमुख हुनुहुन्थ्यो। कम बोल्ने, अत्यन्त अनुशासित, सबै तर्सने उहाँसँग। सबै भाग्न खोज्ने उहाँसँग, अघिल्तिर परेपछि मात्र नमस्ते गर्ने उहाँलाई। हामी ५/६ जना मेडिकल अफिसर थियौं। पुरानाले छाडेका, नयाँ आइनसकेको अवस्था थियो। डा. गंगोलको अप्रेशनको दिन थियो। हामी उहाँकहाँ गयौं। सबैको नाम सोध्नुभयो। तत्काल सबैलाई ‘असाइन’ गर्नुभयो। कसैलाई डा मोइन शाह कहाँ, कसैलाई डा. सी.एस. भट्टाचार्यकहाँ। डा. शिव अधिकारी (विराटनगरका) र मलाई आफूसँग बस्न भन्नुभयो।

मलाई आफूसँग बस्नु भन्नु पछाडिको कारण बुझें। वार्डमा भएका बिरामीको ‘केस नोट’ राम्रो अक्षरमा देखेपछि रजिस्ट्रारलाई सोध्नुभएको रहेछ। ‘इम्प्रेसन’ बनिसकेको रहेछ मबारे। मलाई चिनिहाल्नु भो। त्यो दिनदेखि बनेको उहाँको सद्भाव, सम्बन्ध र मेरो आदर आजसम्म कायम छ। अटूट छ हाम्रो सम्बन्ध, एक नासको।

इमरजेन्सीमा मेरो ६ महिना कहिल्यै सिध्दिएन। कामले उहाँको मन जितें। डा. गंगोलको रजिस्ट्रार बनेपछि हैसियत नै अर्कै। जटिल अप्रेसन सिकियो, गरियो। उहाँमा विशालता थियो। जुनियरलाई प्रोत्साहित गर्ने, नयाँ कुरा गर्न दिने। सिक्नका लागि अवसर छ, आफूले नजानेको सिकाउने गुरु छ। योभन्दा उपयुक्त अवसर के खोज्ने? मैले एउटा आदर्श (आइडियल) परिस्थिति र आदर्श गुरु पाएँ। कठिन मेहनतपछि दुई वर्षभित्र सर्जरी विभागमा सबैको मन जित्न सफल भएँ। त्यसको प्रमाण रोचक घटना सुनाउँछु।

शुक्रबार रातिको घटना। झुक्किएर एउटा बिरामीका लागि एन्टिवायोटिकको ‘डोज’ गल्ती लेखेछु। डियुटी सकेर राति ८ बजे घर गएँ। शनिबार बिहान ११ बजे फर्किने गरी।

ब्रेकफास्ट, लन्च, डिनरको चलन थिएन। बिहान खाएर गइन्थ्यो। राउण्डमा गएँ। एन्थिसिलिनको १२५ मिलिग्राम दिनमा एकपल्ट लेखेछु। कसरी दिने? डा. भट्टाचार्य पस्नेबितिकै नर्सहरुले सोधेछन्। कसले प्रेस्क्राइब गरेको? डा. देवकोटाले भनेपछि मलाई त्यत्रो ‘डोज’ त थाहा छैन, तर उहाँले लेखेको भए डा. देवकोटालाई नै सोध्नू भन्नुभएछ। त्यसपछि डा. गंगोल पस्नुभएछ। उहाँले पनि भन्नुभएछ त्यही कुरा। त्यत्रो डोज त कसैलाई पनि दिने गरेको छैन, नयाँ कुरा हो कि, डा. देवकोटालाई नै सोध्नू।

१५/२० मिनेटपछि म आइपुगें। सबैको अघिल्तिर डा गंगोलले सोध्नुभो, अति शीष्ट तरिकाले। हैन सर, ‘गल्ती’ हो भनें। सच्याएँ। मेरो त्यो गल्तीलाई पनि उहाँले त्यो रुपमा उठाउनु भएन।

उहाँहरुको त्यो स्नेह कायमै छ। मैले शंकाको लाभ (बेनिफिट अफ डाउट) पाएँ। डा. गंगोलसँग विशेष सम्बन्ध बन्यो। देशकै सर्जन बन्न पुगें।

नियमित ‘मेडिसिन’ मिटिङ हुने। तर त्यसमा कोही उपस्थित नहुने। दुईजना मात्रै भएपनि मिटिङ गर्ने परम्परा बन्यो। सिकेर, सुनेर फाइदा लिनसक्ने ‘जुनियर’ पनि नआउने। म भने सिक्दै गरौँ भन्नेमा लागें। सर्जरी विभागलाई विस्तार (अपग्रेड) गर्ने प्रयास गर्दागर्दै न्यूरोसर्जरी खोल्ने निर्णय पनि भयो। रातभरि लगातार काम गरिन्थ्यो। अनुसन्धानको सुविधा थिएन। डा. गंगोलले एकपल्ट गरेर देखाउने अनि छोडिदिने गर्नुहुन्थ्यो। वास्तवमा मलाई दुईपल्ट देखाउनु पनि परेन।

म आउनु अघिसम्म डा. गंगोल एक्लै हुनुहुन्थ्यो। उहाँलाई हतार थियो, न्युरोसर्जरी सुरु गर्न। रोगीहरुको चाप बढ्दो थियो। त्यो बेला  सबभन्दा पहिला पीजी सर्जरी एफआरसीएस गरी आउनुभएका डा. लोकबिक्रम थापा र युरोलोजीका विश्वराज दली हुनुहुन्थ्यो। न्युरोमा कोही पनि तयार हुन चाहेन, बाहिर गई ‘स्किल’ हासिल गर्न। बिरामी धेरै आउँदैनन्, प्राक्टिस चल्दैन भन्ने थियो। त्यसैले मैले पनि जान्न भनिदिएँ।

कोही पनि सिनियर जाने नभएपछि मलाई एक किसिमको आदेश दिइयो। मेरो आफ्नो ‘च्वाइस’ भएको भए म के गर्थेँ, नभनौं। हड्डी विशेषज्ञतामा मेरो रुचि थियो। पेपर प्रस्तुत गरेर पुरस्कार पनि पाएको। कोही पढ्न तयार नभएपछि मलाई खटाइने भो। तर, कहाँ जाने पढ्न? मेरो एमबिबिएस मात्र। एकदुई वर्षको तालिमले नपुग्ने। ५/६ वर्ष नै चाहिने।पहिले भारततिर जान भारत सरकारको छात्रवृत्ति खोज्ने चलन थियो। दिने त भयो तर जटिलता अर्कै थियो।त्योबेला हामी ८/९ जना सर्जन थियौं। न्यूरो सर्जरीको सिट पनि आयो। सबैले यो देवकोटाको लागि आएको हामी एप्लाई नगरौं भने। एकजना करिब डेढ वर्ष सिनियरले हालिदिए दरखास्त। उनी डा. गंगोललाई मन पर्ने व्यक्ति थिएनन्। यहाँबाट नाम तोकेर पठाउन नमिल्ने। त्यसैले त्यो सिटमा कसैलाई पठाउनेभन्दा रद्द गर्नेतिर कुरा जान थालेको थियो।

अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा एकपल्ट असफल भएकालाई लिने चलन थिएन। मेरो विचारमा दुबैको एप्लिकेसन पठाएपछि उनीहरुले उपयुक्त पात्र लिइहाल्छन् नि भन्ने थियो। तर त्यो खतरा मोल्न डा. गंगोल तयार हुनुभएन। त्यसपछिको अर्को विकल्प भेलोर थियो। डा. केबी मथाई नाम चलेको सर्जन हुनुहुन्थ्यो त्यहाँ। डा. गंगोलको राम्रो सम्बन्ध थियो उहाँसँग। हरेक वर्ष १/१ महिना तालिम दिन आउने गर्नुहुन्थ्यो उहाँ वीरमा। भगवानजस्तै मान्ने गर्छन् उहाँलाई। भर्खरै बित्नुभो उहाँ।

पहिलो वर्ष २ महिना र पछि १ महिनाका लागि आउनुभएको थियो यहाँ डा. मथाई। राम्रो चिनजान भयो उहाँसँग। मलाई भेलोरमा एडमिसनका लागि आऊ भन्नुभयो।

डा. गंगोललाई पनि भन्नुभो उहाँले।अब विदेश जाने कुरा भो। जर्नल अफ नेपाल मेडिकल काउन्सिलमा आफ्नो लेख बुझाएर त्यहाँबाट काकरभिट्टा, कलकत्ता हुँदै भेलोर लागें। पुगेको भोलिपल्ट विहान डा. मथाईलाई भेट्न प्रोफेसर क्वार्टर गए। ब्रेकफास्टको समय थियो। उहाँसँगै ब्रेकफास्टमा बसेँ। म चाडैं फर्केँ। एक जना ब्रिटिसको लेक्चर थियो। अटेन्ड गरे त्यो पनि। अनि उहाँले भन्नु भयो, ‘पर्सि प्रवेश परीक्षा छ, मैले परीक्षा शुल्क तिरिसकेको छु, तिमी गएर परीक्षा देऊ।’

अहिले फर्केर हेर्दा लाग्छ उहाँको भरोसा थियो ममा। पर्सिपल्ट परीक्षा दिन गएँ। हलमा पुग्दा अन्दाजै थिएन, यो कस्तो परीक्षा हो भन्ने। त्यो त भारतभरिको खुला प्रतिस्पर्धामा आधारित जाँच रहेछ। पूरा तयारीका साथ हजारौं विद्यार्थी। हामी मल्टिपल चोइस मा अभ्यस्त थिएनौं, वास्तवमा त्यो पद्धतिबारे जानकारी नै थिएन। करिब ३०० जति मल्टिपल च्वाइस थिए। मलाई प्रोफेसर मथाईले असल विद्यार्थी मानेर त्यत्ति भरोसा राख्नुभो।

२ सय प्रश्नको उत्तर सकेपछि १५ मिनेटमात्र बाँकी रहेको थाहा पाएँ। हतारहतारमा अरु १५/२० प्रश्न सकेँ होला। समय सकियो। भोलिपल्ट रिजल्ट निस्क्यो। न्युरो सर्जरीमा दुईजनाले पाए। मेरो नाम वैकल्पिकमा निस्क्यो। कताकता स्वाभिमानमा चसक्क चोट पुगेको जस्तो लाग्यो। रिजल्ट हुने बित्तिकै प्रोफेसर मथाईले बोलाउनु भयो। तिमी १ नम्बरले मात्र पछि छौं, दुई वटामात्र अरु ठीक गरेको भए तिमी माथि हुन्थ्यौ भन्नुभयो। यसपल्ट म तिमीलाई एडमिसन दिन सक्दिन, काम गर यहाँ, अर्को वर्ष पक्कै भइहाल्छ भन्नु भो। राम्रै प्रस्ताव राख्नु भो। आजकै मितिदेखि काम गर, बस भन्नु भो। मलाई नरमाइलो लागेको थियो। कहिल्यै पनि असफलताको स्वाद नपाको। खोजेको कुरा पाइन। उहाँसँग उम्किन चाहे। डा. गंगोलसँग सल्लाह गरेर आउँछु भने। तर, प्रोफेसर मथाईले म अहिले नै डा. गंगोललाई टेलिग्राम गर्छु, तिमी बस भन्नुभो। उहाँले आफ्नो संस्मरणमा पनि लेख्नु भा छ, म असफल भएकोमा दु:खी हुँदै।फेरि गएँ, भोलिपल्ट बिदा हुन। काठमाडौंमा आफैं गएर सल्लाह गरेर आउँछु भनेँ। त्यो असफलता मैले पाउनुपर्ने थिएन। तयारी गर्ने अवसर नै पाइनँ।

अहिले त्यहाँका हेड अफ सर्जरी डिपार्टमेन्ट डा. राजशेखर त्यही सफल विद्यार्थीमध्ये हुनुहुन्छ। म काठमाडौं फर्कें। डां गंगोलले भेलोर भएन, अरु राम्रो विकल्पमा लागौं भन्नुभयो। अनि बेलायततिर प्रयास थाल्नुभयो उहाँले।

छोटो अवधिको तालिम र पर्यवेक्षणका लागि म फर्केको डेढ महिनापछि उहाँ बेलायत जानुभयो र सहयोग मागेर आउनुभयो। सबै ठाउँमा भनेर आउनु भएको रहेछ। उहाँलाई सबैले गम्भीरतासाथ लिने। त्यसको झण्डै एक वर्षपछि ग्लासगोबाट चिठ्ठी आयो। प्रोफेसर ग्राहम टीजडेलले डा. गंगोललाई ६ महिनाको काम दिन सक्छु, पठाइदेउ भनेर लेख्नुभएछ। डा. टीजडेल अहिले ‘सर’ हुनुभाछ, त्यसबेला विश्वमै एक नम्बर थियो, ग्लासगो। अनुसन्धानका लागि असाध्यै प्रख्यात।

एक अगस्टबाट सुरु गर्नुपर्ने तालिमका लागि जुनको आखिरीतिर मात्र पत्र आयो। मन्त्रालयको अध्ययन शाखा अर्थात् सरकारले छान्नुपर्ने। अनि ब्रिटिस काउन्सिलमा बाध्यात्मक अंग्रेजी भाषा परीक्षा दिनुपर्थ्यो। महिनामा एकपल्ट जाँच हुने गर्थ्यो। शुक्रबार जाँच हुने भयो, बुधबार मलाई भनियो। तीन ‘मोडेल’ थिए जाँचका। लेखन सुन्ने र ‘कम्युनिकेसन या बातचित।

लेखन धेरै रमाइलो थियो। बिरामी र डाक्टरबीचको कुराकानीका आधारमा एउटा ‘केस समरी’ बनाउनुपर्ने थियो। दूतभात खाएजस्तो लाग्यो। सुन्ने भाग चाहिँ अनौठो खालको थियो। एक्सेन्ट बुझ्नै गाह्रो। येनकेन गरें। अनि ‘कम्युनिकेसन’ मा एकजनासँग २० मिनेट कुरा गर्नुपर्ने थियो मैले।

मैले अनेक यस्ता प्रसंग सुनेको थिएँ। कसैले हाम्रा डाक्टरलाई सोध्यो, ‘भारी सुटकेश बोकेर लाने प्ल्याटफर्ममा, ‘विल यु गिभ मी ह्याण्ड?’ हाम्रा डाक्टरले आफ्नो हात दिएछन्। सुटकेश उठाउन सहयोग नगरेर।

पास भएछु। अंग्रेजी परीक्षामा। जाने तयारी भयो। यसैबीच रमाइलो गतिविधि थपिए। तालिमका लागि ६ महिना ग्लासगोबाट सुरु गर्ने। तर त्यसलाई ३ वर्षको छात्रवृत्तिमा परिणत गर्‍यो। अगस्ट १९८३ मा पुग्‍ने गरी तयारीमा लागेँ।

बैशाख ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्