खेल ३७, हार १

बार्सिलोनाको सपना चकनाचुर, मेस्सी नखेलाउनु घातक

यो सिजन बार्सिलोनाले घरेलु लिगमा निकै राम्रो प्रदर्शन गर्‍यो । लिगका केही खेल बाँकी हुँदै उसले स्पेनिस ला लिगा फुटबलको उपाधि उचाल्यो ।

साबिक विजेता रियल मड्रिड तेस्रो स्थानमा रहने देखिएको छ । च्याम्पियन्स लिगमा सोचेको जस्तो प्रदर्शन गर्न नसकेको पनि बार्सिलोना ला लिगाको इतिहासमा यस्तो कारनामा गर्ने ध्यानमा थियो, जो अहिलेसम्म कुनै पनि टिमले गरेका छैनन, कम्तिमा ला लिगाको आधुनिक युगमा ।

बार्सिलोना पूरै सिजन अपराजित रहने कीर्तिमान आफ्नो नाममा लेखाउन चाहन्थ्यो । गएको हप्ता भएको एल क्लासिकोमा रियल मड्रिडसँग बराबरी गरेपछि त उसको यो कीर्तिमान बनाउने यात्रा लगभग गन्तव्यमा पुग्ने आश गरिएको थियो ।

तर अवरोध बनेर आयो लिगको ३७ खेलमा लेभान्टे । मुश्किलले रेलिगेशनबाट जोगिन सकेको लेभन्टेले ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनालाई हरायो । यो सिजन बार्सिलोनाको यो पहिलो हार हो ।

सिजनको ३७ औँ खेलमा आएर बार्सिलोनाले हारको नमिठो भोग्नु परेको छ । घरेलु मैदानमा भएको खेलमा लेभान्टेले बार्सिलोनालाई ५–४ ले हरायो । लेभान्टेका लागि इम्यानुएल बोएट्याङले ह्याट्रिक गरे ।

उनकै ह्याट्रिक बार्सिलोनाको कीर्तिमानी यात्रामा पार गर्न नसक्ने अवरोध बन्यो । यस्तै एनिस बार्धीले दुई गोल गरे । बार्सिलोनाका लागि फिलिप कोन्टिन्होले ह्याट्रिक गरे । लुइस स्वारेजले एक गोल ।

लेभान्टेका बोएट्याङले ९, ३० र ४९ औँ मिनेटमा गरी ह्याट्रिक गरेका हुन् । बार्सिलोनाका कोन्टिन्होले ३८, ५९ र ६४ औँ मिनेटमा गोल गरी ह्याट्रिक गरे । लेभान्टेका बार्धीले ४६ र ५६ औँ मिनेटमा गरी दुई गोल गरेका हुन् ।

बार्सिलोनाका स्वारेजले ७१ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेपनि हार टार्न सकेनन् । यो सिजन ३७ खेलमा आएर बार्सिलोना पराजित भयो । गएको सिजनका पछिल्ला केही खेल र यो सिजनको गरी बार्सिलोना ला लिगाको ४४ औँ खेलमा परातिज भयो ।

बार्सिलोनाको कीर्तिमानी यात्रामा लेभान्टेसँगको खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीलाई आराम दिनु उसका लागि घातक बन्यो । ला लिगाको मोर्डन एरामा कुनै पनि टिमले पूरै सिजन अपराजित रहेका छैनन् ।

सन् १९३० को दशकमा १८ खेल हुने सिजनमा रियल मड्रिड पूरै सिजन अपराजित रहेको थियो । हारपछि च्याम्पियन बार्सिलोनाको एक खेल बाँकी हुँदा ९० अंक छ ।

बार्सिलोनाले यो सिजन ला लिगाका ३७ खेलमा २७ मा जित, ९ मा बराबरी र एक खेलमा हार बेहोरेको छ । उसले ९८ गोल गरेको छ भने २९ गोल खाएको छ ।

बैशाख ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्