किङ्ग अर्थात Mohamed Salah

तोडियो रोनाल्डोसहितको कीर्तिमान : जमिनलाई ढोगे, चुमे गोल्डेन बुट

यो सिजन लिभरपुलका लागि उत्कृष्ट रह्यो भन्दा फरक नपर्ला । अब एउटा कसी बाँकी छ, च्याम्पियन्स लिग फाइनल । जो साबिक विजेता रियल मड्रिडसँग १२ दिनपछि किएभमा हुँदैछ ।

तर प्रिमियर लिगमा उसले चौथो स्थान पक्का गर्दै आउँदो सिजन पनि च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा लिभरपुलले ब्राइटनलाई हरायो र शीर्ष चारमा स्थान बनायो ।

लिभरपुलका लागि भन्दा पनि टिमको जिम्मा काँधमा लिएका इजिप्टियन मोहम्मद सालहका लागि यो सिजन निकै उत्कृष्ट रह्यो । उनले प्रिमियर लिगमा यो सिजन सर्वाधिक गोल गर्दै गोल्डेन बुट पक्का गरेका छन् ।

उनी यो सिजनका मात्रै होइन प्रिमियर लिग इतिहासमा एउटै सिजन धेरै गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाउन सफल भएका छन् ।

ब्राइटनसँगको खेलमा टिमलाई ४–० को जित दिलाउने क्रममा सुरुवाति गोल सालहले नै गरेका हुन् । उनले २६ औँ मिनेटमा गरेको गोल उनको त्यो कीर्तिमानी गोल थियो, जसले अरुलाई पछि पार्‍यो ।

उनले लिभरपुलका लागि अहिलेसम्म यो सिजन सबै प्रतियोगितामा गरेर ५१ खेलमा ४४ गोल गरेका छन् । प्रिमियर लिगमा मात्रै उनले ३२ गोल गरे । गोल्डेन बुट पक्का गरे । अनि एकै सिजन धेरै गोल गर्ने खेलाडीको रुपमा आफ्नो नाम पनि लेखाए ।

गएको समरमा रोमाबाट ३४ मिलियन पाउण्डमा लिभरपुल आएका सालहले जादु नै गरे । उनले ३२ गोल गरेर सन् १९९५–९६ को सिजनमा ब्ल्याकबर्नका एलन शिएररले बनाएको कीर्तिमान भंग गरे ।

यस्तै क्रिष्टियानो रोनाल्डोले सन् २००७–०८ को सिजनमा म्यानचेस्टर युनाइटेडबाट ३१ गोल गरेर तोड्न नसकेको कीर्तिमान तोडे । अनि सन् २०१३–१४ को सिजनमा लिभरपुलकै लुइस स्वारेजले ३१ गोल गरेर पनि पार गर्न नसकेको क्लब तथा लिग कीर्तिमान सालहले आफ्नो नाममा लेखाए ।

शिएररले ब्ल्याकबर्नका लागि सन् १९९४–९५ तथा न्युक्यासलका एण्डी कोलीले सन् १९९३–९४ को सिजनमा ३४ गोल गरेर लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । तर त्यो बेला लिगमा ४२ खेल हुन्थ्यो । अहिले ३८ खेल । यसको अर्थ मोर्डन प्रिमियर लिगमा सालहको कीर्तिमान मान्य छ ।

आइतबार बेलुका सालहले कीर्तिमान बनाए र गोल्डेन बुट पक्का गरे । उनको दिनको सुरुवात पनि राम्रो थियो, उनले प्रिमियर लिग प्लेअर अफ दि सिजन अवार्ड जितेका थिए । यस्तै उनले यो वर्ष पिएफए वर्ष खेलाडी तथा फुटबल राइटर्स् एसोसिएसनको वर्ष खेलाडी अवार्ड पनि जितेका छन् ।

सालहले लिगमा यो सिजन ३२ गोल मात्रै गरेनन्, १० गोलका लागि सहयोग पनि गरे । टोटनह्यामका ह्यारी केनले ३० गोल गरेका छन् ।

बैशाख ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्