खेती र पानी

मकैका लागि वरदान अहिलेको पानी

फाइल फोटो

काठमाडौं – अहिले तराईमा वसन्ते मकैले सुत्ला हाल्ने बेला भएको छ । यस्तै पहाडका खेतमा लगाइएका मकैको पनि पहिलो गोडाइ सकिएको छ ।

तराई तथा पहाड दुवै क्षेत्रमा लगाइएको मकै बालीमा पानीको अवश्यकता थियो । आइतबार राति तथा सोमबार बिहान देशका अधिकांश क्षेत्रमा पानी परेको छ ।

यो पानी विशेष गरी मकै बालीका लागि निकै उपयुक्त रहेको मकैबाली विज्ञ निर्मल गदालले बताएका छन् ।
ठूलो हुरी बतास तथा असिना बिना परेको पानी मकै बालीका लागि उपयुक्त हुने उनले बताए ।

‘तराईमा सुत्ला हाल्न ठिक्क परेको वा सुत्ला हाल्दै गरेको तथा पहाडमा पहिलो गोडाइ सकिएको मकैका लागि पानी चाहिएको बेलामा परेको छ’ मकै बाली विज्ञ गदालले भने, ‘हुरी बतास तथा असिना बिनाको पानी मकैको उत्पादनका लागि राम्रो हुन्छ ।’

तराईको मकैलाई पानीले राम्रो गरे पनि हुरीले क्षति पुर्‍याउने सम्भावना रहेको तर पहाडको मकै बाली अहिले कतै पहिलो गोडाइ सकिएको या पहिलो गोडाइको काम हुँदै गरेकोले असिना नपरे हुरी बताससहित पानी आए पनि राम्रै हुने उनको भनाई छ ।

अहिले नेपालमा विशेष गरी खुल्ला सेन्चित र वर्णशंकर गरी दुई प्रजातिका मकैको खेती हुने गरेको छ । खुल्ला सेन्चित तर्फ ६ तथा वर्णशंकरमा १५ जातका मकैको खेती किसानले गर्ने गरेका छन् । खुल्ला सेन्चितमा अरुण २ र अरुण ४ तथा वर्णशंकरमा कञ्चन जातको मकै किसानले बढी रुचाएको मकै बाली विज्ञ गदालले बताए ।

जनु जातको भए पनि अहिले तराई र पहाड दुवै क्षेत्रको मकै बालीका लागि पानी आवश्यक रहेको उनको भनाई छ । अहिलेको पानीले मकैमा राम्रो फल लाग्न वा बोट सप्रिन सहयोग गर्ने गदालले बताए ।

यष्तै अहिले पहाडी क्षेत्रमा फलफूलमा चिचिला लाग्ने बेला भएको र यो पानी चाहिने बेला रहेकाले अहिलेको पानीले राम्रो गर्ने उनको भनाई छ । पहाडी क्षेत्रमा अहिले सुन्तला, नास्पाती सहितका फलफूलमा चिचिला लागेका छन् ।

मकै तथा फलफूल दुवै बालीका लागि बोरिङ्गबाट लगाइएको भन्दा आकाशबाट परेको पानी सबैतिर समान रुपले पुग्ने भएकाले उपयुक्त रहेको गदालले बताएका छन् ।

बैशाख ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्