बाढीले चार घर पुर्‍यो, सडक अवरुद्ध

बियाचौर-म्याग्दीको अन्‍नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ।

भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो। बालकृष्ण मिजारको एक तले, लट्टे गिरीको दुई तले, अकुमारी पुर्जाको दुई तले र ढावा शेर्पाको एक तले घरमा पूर्णरुपमा क्षति पुगेको छ।

गोविन्द पुर्जाको कपडा पसल, टेकनारायण पौडेलको स्टेशनरी र अरुण थकालीको घरमा बाढी पसेर क्षति पुर्‍याएको छ भने केही होटल र घरमा समेत बाढी पसेको छ।

बाढीबाट त्यहाँ रहेका एक दर्जन बढी घर प्रभावित भएका छन्। घरमा बाढी पसेपछि अन्‍नपात, लत्ताकपडालगायत घरायसी सामानमा क्षति पुगेको छ। प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले क्षतिको विवरण संकलन गरिरहेको छ।

दिउँसो ३ बजेदेखि डेढ घण्टासम्म भएको भीषण वर्षापछि बस्ती माथिको पाखोबाट आउने खहरेखोलामा एक्कासि बाढी आएपछि स्थानीयको भागाभाग भएको थियो। खोलालाई कुलोबाट निकास दिएर व्यवस्थापन गरेर क्षतिको विवरण संकलन गरिरहेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख नेत्रप्रसाद पोखरेलले बताए।

वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरो र खोल्सामा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ।

दानाको घट्टेखोला, काभ्रे र बेगखोलामा बाढीले अवरुद्ध बनाएको सडक खुलाउन बेनी जोमसोम कोरला सडक आयोजनाले डोजर परिचालन गरेको सुपर भाइजर इन्द्रसिङ शेरचनले बताए।

घट्टेखोलामा बाढीले निर्माणाधीन पुलमा समेत क्षति पुर्‍याएको छ। सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमण, मुक्तिनाथ दर्शनमा आउने÷जाने भक्तजन तथा पर्यटक समस्यामा परेका छन्।

बैशाख ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्