मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- ९)

पदको दायित्वभन्दा दरबारप्रति आशक्ति थियो

वीरमा मैले कहिल्यै प्राइभेट प्राक्टिस गरिन। जरुरत पनि परेन। डा. मथुरा श्रेष्ठलाई बोस्टन युनिभर्सिटीले सम्पर्क गरेको रहेछ। त्यहाँका डाक्टरलाई फिल्डट्रीपमा नेपाल ल्याउन लागेकाले उनीहरुलाई घुमाउन एक जना नेपाली डाक्टर खोजेका रहेछन्। उहाँले मलाई बोलाउनु भो, आफ्नो बाँसबारी घरमा। ‘जानु हुन्छ बझाङ उनीहरुसँग?’ भनेर सोध्नुभयो। ५ सय अमेरिकी डलर पाउने भएँ। एक महिनाका लागि त्यो ठूलो रकम थियो, ६ सय रुपैयाँ मासिक तलब पाउने मेरा लागि। बस्ने व्यवस्था उनीहरुकै थियो। बझाङमा होटलहरु थिएनन् त्यसबेला।

काठमाडौंबाट एकजना अमेरिकी डाक्टरसँग बुटवल, भैरहवा, लखनउ हुँदै धनगढी लाग्यौँ। अरु अमेरिकी पनि दिल्ली हुँदै धनगढी आए। हामी डडेलधुरा हुँदै बझाङतिर लाग्यौँ। त्यहाँ हेल्थ क्याम्पका लागि तयारी छलफल हुँदै थियो।

भोलिपल्ट रमाइलो भो। एकदिन बस्यौँ त्यहाँ। एउटा १२/१३ वर्षको दुब्लो, कालो अनुहारको केटो आयो। सबै सोधेँ। कलेजो सुन्निएको अर्थात अमियोबिक लिभर एक्सेस भने। अमेरिकीहरु तीन छक्क। कसरी थाहा पाइस् भनेर सोधे। अल्ट्रासाउण्ड नगरी कसरी भन्न सकिन्छ? अल्ट्रासाउण्ड थिएन्। सिरिन्ज र निडल थिएन। पिप निक्ल्यो। दंग परे उनीहरु।

हामी त्यहाँबाट अघि अर्थात जान चाहेको बझाङ पुग्न‍ सकेनौँ। ढुंगारमा पुगेपछि भरियाले हडताल गरे। त्यहाँ दिनभरि बिरामी हेरेपछि राति छलफल, सेमिनारजस्तो हुन्थ्यो। मैले आफ्ना अनुभव भन्थे। उनीहरुले पनि भन्थेँ। एक महिनापछि फर्कियौँ। हामी सबैले नेपाली रोगीबारे मेडिकल विद्यार्थीलाई पनि भन्थ्यौँ। हेल्थ असिस्टेन्ट विद्यार्थी समूहमा डा. अर्जुन कार्की पनि हुनुहुन्थ्यो। तीन जना प्रश्न सोध्नेहरुमध्ये एक। सोधेका प्रश्नको फटाफट जवाफ दिन्थे नेपाली विद्यार्थीहरु। अमेरिकीले मलाई दोष पनि दिए। राति नै सरसल्लाह गरी प्रश्न सोध्ने र जवाफ दिने तयारी नेपालीहरुबीच भएकोसम्म पनि भने। स्मार्ट, असल विद्यार्थीहरु छानेर पठाउनुभाथ्यो डा. मथुरा श्रेष्ठले।

त्यो सबै सिध्याएर काठमाडौं फर्कँदा मलाई ५०० अमेरिकन डलर दिए। मेरो पर्फरमेन्सबाट प्रभावित भए पनि मलाई धेरै कम दिएको लाग्यो् उनीहरुलाई। मलाई अरु तरिकाले क्षतिपूर्ति (कम्पेन्सेट) गर्न चाहे उनीहरुले।

अर्को वर्ष सोझै मलाई सम्पर्क गरे। मलाई फेरि त्यही शिविरमा लैजान चाहन्छौँ भनेर। यसपल्ट दिनको ५० डलर अर्थात महिनाको १५०० डलर दिने भए। यसरी कमाएपछि प्राइभेट प्राक्टिस गर्नु परेन। त्यसैबाट घर पूरा गरेँ। नेपालीमा ४० हजार बराबर हुन्थ्यो त्यो।

अलि अर्को प्रसंग। जिमी कार्टर राष्ट्रपति भएको बेला प्रमुख मेडिकल सल्लाहकार प्रो. जोन ब्रायन्ट आउनुभाथ्यो नेपाल। त्यस्तै काम गरे उहाँसँग पनि एक महिना। पब्लिक हेल्थमा अति नै चिनिनुहुन्थ्यो उहाँ। इम्युनोलोजीका प्राध्यापक हुनुहुन्थ्यो कोलोम्बिया युनिभर्सिटीमा उहाँ। उहाँसँग क्याम्प गरेर फर्कँदा ग्लासगोबाट चिठ्ठी आएर बसेको रहेछ। स्वास्थ्य मन्त्रालय र विभाग हेर्न इच्छा व्यक्त गर्नुभयो मसँग। मैले लिएर गएँ योजना विभागमा। डा. फत्तेबहादुर मल्ल निर्देशक हुनुहुन्थ्यो। उहाँकहाँ भेट्न गएँ डा. ब्रायन्टलाई लिएर। डा. गंगोलको रजिष्ट्रार भनेपछि कुर्नु पर्दैन्थ्यो। टेकु पुग्यौँ डा. मल्लको कार्यालय। तत्काल भित्र बोलाउनुभो। मैले चिनजान गरेँ, डा. ब्रायन्टलाई चिनाएँ। योजना प्रमुखसँग डा. ब्रायन्टलाई चिनाएपछि उहाँ त अक्क न बक्क हुनुभयो। अनि एक  छिनपछि बोली फुट्यो। ‘म तपाईँकै किताब पढिरहेको छु र तपाई यहाँ मेरो अघिल्तिर!’

वीरका अरु केही रमाइला कुरा गरौँ। मैले प्रत्यक्ष महसुस गरेँ। एकदुई घटना भन्न लायक छन्। वि. सं. २०३५ देखि २०४० सम्म वीरमा काम गरेँ। अनौठो राजनीति थियो त्यहाँ। शक्ति र सत्तासँग नजिक पुग्न चाहने खालका थिए सिनियर डाक्टरहरु। दरबार नजिक जान, पुग्न खोज्नेहरुको होडबाजी। मेरा गुरु डा. गंगोल दरबारनजिक हुनुहुन्थेन। उहाँ दरबार विरोधी पनि हुनुन्थेन। तर अति दक्ष भए पनि चाकरी, चापलुसीबाट टाढा भएकाले उहाँलाई ‘रोयल सर्जन’को टाइटल या सम्मान दिइएको थिएन। यस्तोसम्म हुन्थ्यो कि केही सिनियर डाक्टर समयमा नआउने। अनि पछि दरबार गा’ थेँ भन्दिने, सुपरिटेन्डेन्टले सोध्दा। दरबारसँग सोध्ने हिम्मत कसैसँग थिएन। पदको दायित्वभन्दा दरबारतिर आशक्ति। अनि त्यसरी शक्ति आर्जित गरेकाहरु आफ्ना प्रतिस्पर्धीलाई तल खसाल्न प्रयास गरिरहने। अर्कालाई तल झार्ने। त्यो‍ प्रयासमा न्यूरो सर्जरी विभाग सिकार हुन पुग्यो।

शक्ति र सत्तासँग नजिक पुग्न चाहने खालका थिए सिनियर डाक्टरहरु। दरबार नजिक जान, पुग्न खोज्नेहरुको होडबाजी।

मैले डा. केबी मथाईबारे भनिसकेको छु। बराबर आएर सहयोग गरे वीर अस्पताललाई। हामीलाई धेरै प्रोत्साहित गरे। कात्तिकको महिना थियो। डा. गंगोलको अनुरोध स्वीकार गरेर सर्जरी विभागका खालि ६ बेडलाई न्यूरो सर्जरी वार्ड बनाउने निर्णय भयो। हामी अत्यन्त स्पष्ट थियौँ। जारी कुनै सेवालाई असर नगर्ने गरी न्यूरो सर्जरी सुरु गर्यौँ।  हप्ताको एक दिन बाहिरका विरामी (आउट पेसेन्ट) हेर्ने र एक दिन सर्जरी गर्‍यौँ। अनुसन्धान त्यही बीचमा।  माइलोग्राम, अन्जियोग्राम र भेन्टीगोग्राम गरे पुग्थ्यो त्यो बेला। हामीले अरु सेवालाई डिस्टर्ब नगरी एक वर्ष पूरा गरेपछि न्युरो सर्जरी विस्तारको सम्भावना बढ्यो। काम पनि बढ्न थाल्यो‍। त्यसैबीच अर्को पक्ष पनि देखा पर्‍यो। डा. गंगोलका प्रतिष्पर्धीहरुले षड्यन्त्र गर्न थाले। नेपाललाई न्यूरो सर्जरी चाहिएको छैन भन्न थाले।

ती बेडहरु अरुका लागि चाहिएकै थिएन। सुपरिटेन्डेन्ट हाम्रो विरोधीसँग नजिकिनु भएको थाहा पायौँ। एक दिन अपरेसनका क्रममा डा. गंगोलले भन्नुभो, विरक्तिका साथ, कस्तो देश, काम गर्न पनि नपाइने। न्यू्रो सर्जरी बन्द गर्नुहोस्, त्यसको काम छैन भनिएको थियो।

मैले एउटा उपाय निकालेँ। मलाई थाहा थियो, त्यसबेला प्रधानमन्त्री सूर्यबहादुर थापा हुनुहुनथ्यो। मैले डा. गंगोललाई भनेँ, ‘हाम्रो एक वर्ष पूरा हुन लाग्यो। वार्षिकोत्सव मनाऔँ। प्रधानमन्त्रीलाई निरीक्षण गर्न बोलाऔँ र मिडियालाई पनि बोलाऔँ।’ डा गंगोललाई सुझाव मन पर्‍यो। हामी त्यसमा लाग्यौँ। उहाँले प्रधानमन्त्रीलाई अप्रोच गर्नुभो। आउँछु भन्नु्भो। हामीप्रति सुपरिटेन्डेन्टको सहयोग थिएन। समारोहका लागि तुलसमेत मैले किनेँ। भोलिपल्ट समारोहका लागि अडिटोरियममा कम्तिमा १००/१२५ मान्छे जुटाउने लक्ष्यमा हामी लाग्यौँ। २०० अटाउने थिए त्यसमा।

तर अचम्म! व्यवस्थापनले हामीलाई रोक्नुको साटो अचानक अनपेक्षित सद्‌भाव र सहयोग देखाउन थाल्यो। स्थगन गर्न सुपरिटेन्डेन्ट आफैँ तम्सिनुभो। प्रेस पनि आयो।

 दया गरेर मलाई धेरै सिनियरले भोट हाले, काम गर्नेलाई समर्थन गर्नुपर्छ भन्ने मान्यताका साथ। विवेक गुमाएनन्। सिनियरको पेटमा धर्म थियो, लाग्छ त्यस्तो। विवेक गुमाएनन्।

एउटा राम्रो तयारीका साथ भएको जस्तो कार्यक्रम बन्यो त्यो। खाजा पनि अस्पतालले खुवाउने भो- समोसा, रसबरी अनि अलिकति नमकिन पनि। वार्षिकोत्सव धुमधामका साथ सम्पन्न। पत्रिकाहरुमा फ्रन्टपेजमा। अब न्यूरो सर्जरी बन्द भएमा प्रश्न उठ्ने ठाउँ रह्यो। प्रधानमन्त्री थापाले भन्नुभो, न्यूरो सर्जरी चाहिया छ। विरोध सेलायो। दरबार देखाएर हामीलाई रोक्न खोज्नेहरु पनि पछि हटे। त्यस बेलासम्म जुनियरहरुको बीच ठाउँ बनाइसक्याथेँ मैले। सिनियरबीच पनि राम्रै थियो। आफूहरुसँगै काम गर्ने जुनियरलाई हेर्नुपर्छ भन्ने मान्यता एकदमै थिएन सिनियरहरुमा। मैले वृत्तिविकासका लागि केही गर्नुपर्छ, आफू अन्तर्गतका जुनियरका लागि भन्ने दायित्वबोध सिनियरमा थिएन। सिनियरविरुद्ध विद्रोह गर्नुपर्ने अवस्था थियो।

त्यसका लागि नेपाल मेडिकल एसोसिएसन उपयुक्त थलो थियो। चुनावको बेला थियो। हामी जुनियरले एउटा गोप्य बैठक गरेर आफू बीचबाट उम्मेदवार खडा गर्ने घोषणा पनि गर्‍यौँ, यदि  तपाईँहरुले हाम्रो वृत्तिविकासका लागि मद्दत गर्नु भएन भने भन्यौँ। डा. मणिन्द्ररञ्जन बराल अध्यक्षका उम्मेरदवार हुनुहुन्थ्यो। जुनियरबाट हामीले अशोकानन्द मिश्रलाई अध्यक्षमा उठायौँ र अरु प्यानल पनि दियौँ। डा. बरालले येनकेन जित्नुभो। अरु सबै जुनियरले जिते। डा. बरालले काम गर्ने अवस्था रहेन। म उठ्न चाहिन। किङ्गमेकर बन्नै रुचाएँ। म त्यसैलाई ठूलो कुरा मान्थेँ। तर, हाम्रो महासचिवले भोलिपल्टै मन्त्रालयमा पत्र लेखेर अब निर्वाचित भएपछि उहाँलाई वीरबाट ट्रान्सफर गर्न नमिल्ने, वीरमै हुनुपर्ने पत्र दिनुभो। मैले उहाँको प्राथमिकता बुझेँ। निराश बनायो। म एनएमए जर्नलको प्रबन्ध सम्पादक बनेँ।

दुई वर्ष चलाई प्राज्ञिक प्रतिभासँग पेशालाई जोड्ने प्रयास गर्‍यौँ। मलाई ठूलो फाइदा भो ब्यक्तिगतरुपमा। सिनियरहरुले सहयोग गर्नु भएन। जुनियरले लेख्न जान्या छन् र?  उहाँहरुले लेख नै दिन मान्नु भएन।

वर्षका चार अंक निकाल्नु थियो। अनुनय विनय गरेर अतिथि लेख छापेँ। दबाबमा १० लेख त आफैले लेखेँ। त्यसैले गर्दा मलाई पछि बेलायतमा धुमधाम फाइदा भयो।

अर्को एनएमए चुनावमा आउँदा हामी हार्ने निश्चित थियो। मन्त्रालयबाट पनि उर्दी भो, उठ्नै नसक्ने गरी जुनियरलाई हराउन। तर म एनएमए काउन्सिलमा आउन सकेँ। दोस्रो सबभन्दा धेरै मतका साथ। दया गरेर मलाई धेरै सिनियरले भोट हाले, काम गर्नेलाई समर्थन गर्नुपर्छ भन्ने मान्यताका साथ। विवेक गुमाएनन्। सिनियरको पेटमा धर्म थियो, लाग्छ त्यस्तो। विवेक गुमाएनन्।

जुनियरको वृत्ति विकासमा मदत पुर्‍याउनुपर्छ भन्ने लाग्यो उहाँहरुलाई पनि। पछि गएर एनएमएमा राजनीतिक ध्रुवीकरण हुन थाल्यो। बेलायतबाट फर्केपछि मैले त्यसमा भाग लिन छाडेँ, राजनीतिका कारण। विद्यार्थी युनियनजस्तो भयो डाक्टरहरुको संस्था। व्यवसायिक संस्था दलीय राजनीतिमा लाग्नु हुँदैन भन्ने मेरो मान्यता थियो। यद्यपि राजनीतिबारे मेरो आफ्नै बलियो धारणा छ।

अर्को रोचक प्रसंग, मैले वीरमा भोगेको ‘इन्टर्नसिप’ राजनीति।’ गुटबन्दीले गर्दा ‘डा गंगोलसँग काम गर्ने त्यो देवकोटालाई’ जसरी पनि ध्वस्त गर्ने केहीको चाहना र प्रयास। त्यसको टड्कारो उदाहरण नेपाल मेडिकल एसोसिएसनले दुई वर्षमा एउटा सम्मेलन गर्ने गर्थ्यौ। त्यो बेला ‘सेडा’ले अनुसन्धानलाई प्रोत्साहित गर्न विज्ञहरुसँग प्राविधिक लेख प्रस्तुत गर्न लगाउँथ्यो। र, एउटा उत्कृष्ट पेपरलाई १ हजार रुपैयाँको इनामको चलन थियो। त्यो वर्ष भने अर्कै माहोल बन्यो। मैले अनुसन्धान पत्र प्रस्तुत परेँ।

नितान्त नयाँ कुरा भयो। अनुसन्धान, डाटा केही उपलब्ध नभएको अवस्था थियो, म सम्झिन्छु। समयमा उपचार नपाउने, पर्दा हाड काट्न नमिल्ने, अनि उपचार राम्रो नहुने। इमरजेन्सीमै उनीहरुलाई उपचार गरिदिने कोशिश गर्थेँ। सुरक्षित अनास्थेसिया (केटामिन)ले चलाउँथेँ। जर्मन नर्स क्रिस्टिना थिइन वीरमा। असाध्य संवेदनशील। केटामिनको आपूर्तिको आश्वासन दिइन् उनले। संकटकालका समय  श्वासप्रश्वासमा रिससकेटको उपकरण दिने आश्वासन पनि उनले दिइन्।

हाड भाँचिएका केसहरुलाई तत्काल उपचार दिनेर्तफ म लागेँ। यी सबै केसहरुलाई एक ठाउँमा तथ्याङ्कगत रुपमा राखी मैले पत्र प्रस्तुत गरे। हलमा जुनियरहरुले ताली पिटे।

म पनि एक हजार रुपैयाँ पाउने आश र विश्वासमा थिएँ। ६ सय रुपैयाँ तलब पाउनेका लागि त्यो ठूलो रकम थियो। कसरी खर्च गर्ने त? ‍यसको योजना पनि बनाउन थालेको थिएँ। अघिल्लो रात नै जुरीको बैठक बसेछ। देवकोटालाई पहिलो नबनाए विरोध हुन्छ, बनाए मात्तिन्छ। उनीहरुको ठहर। एक हजार रुपैयाँलाई पहिलो, दोस्रो र तेस्रो गरी भाग लगाए। एउटा क्यानेडियन डाक्टर (शान्त भवनमा कार्यरत) लाई पहिलो ५ सय र मलाई दोस्रो ३ सय ५० र तेस्रोलाई २ सय। मलाई घोच्यो। मैले सर्टिफिकेट मागेँ। दोस्रो भएको भनेर सर्टिफिकेट दिन भनेँ।

कमिटीमा भएकाले अलि नकाम गरेको महसुस गरेको भन्नुहुन्थ्यो मलाई पछिसम्म पनि। त्यो सम्झँदा अहिले पनि नमिठो लाग्छ मलाई। जबर्जस्ती दोस्रो बनाइयो। यो मेरो नियतिमा नै छ, सायद। योग्यता भए पनि नपाउने। अन्या‍य यहाँसम्म हुन्छ भन्ने प्रमाण हो यो। त्यो बेलाको राजनीति यस्तो थियो।

बैशाख ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्