धर्मगुरु श्रीनिवाशाचार्यले भने– मेरो ज्यान अझै पनि खतरामा छ

विराटनगर – विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएका धर्मगुरु श्रीनिवाशाचार्यले आफ्नो ज्यान अझै पनि खतरामा रहेको बताएका छन् । प्रहरी हिरासतमा रहेका श्रीनिवाशाचार्य आफू निर्दोष रहेको दाबी गर्दै भोक हड्तालमा समेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमा भोकहड्ताल गरेलगत्तै गत मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको हो । भर्ना भएदेखि हालसम्म उनलाई स्लाइन पानी, ग्लुकोज र भिटामिन दिइएको अस्पतालले जनाएको छ ।

सोमबार देशसञ्चारकर्मीसँगको संक्षिप्त भेटका क्रममा उनले, आफूलाई चौतर्फी रुपमा फसाइएको दाबी गरे । उनले आफू धार्मिक सम्प्रदायमा सफलताका साथ अघि बढिरहेको देखेर रिस गर्नेहरु र केही अवान्छिनीय तत्वले चरित्र हत्या गरेको आरोप लगाएका छन् ।

विगत केही वर्षदेखि आफू हिन्दुराष्ट्र र धर्मका लागि लडेको बताएका श्रीनिवाशाचार्यले भने, अनुयायीहरुबीच चर्चामा रहेकै कारण मलाई सिध्याउने खेल भएको र त्यसकै शिकार आफू बनेको उनले आरोप लगाएका छन् ।

प्रहरीले आफूलाई फसाएर कागज गराएको आरोप लगाएका श्रीनिवाशाचार्यले भने, प्रहरीको अनुसन्धान समेत प्रायोजित रहेको छ। मलाई फसाउने र चरित्र हत्या गराउनमा सबै लागिपरेको गुनासो गरे ।

भारतको राजधानी नया दिल्लीस्थित एपोलो अस्पतालमा उचारका लागि जाने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले उनलाई बोल्ने अवसर नदिएको बताए । विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा समेत बोल्न नदिएर प्रहरीले ज्यादती गरेको उनको भनाई थियो ।

अस्पतालमा रहेका श्रीनिवाशाचार्यलाई दैनिक ४ ५ जना भक्तजन आफन्त भेट्नका लागि पुग्ने गरेका छन् । अस्पतालमा यतिबेला उनलाई भेटन्का लागि न धार्मिक गुरु, मान्यजन कोही नआएको गुनासो श्रीनिवाशाचार्यका आमा कान्तिमति खडाले गरिन् ।

विराटनगर पाञ्चालीका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्यले भने घटनाको विषयमा श्रीनिवासाचार्य र प्रहरीको अनुसन्धान दुवै पचास पचास प्रतिशतको अवस्थामा रहेको बताए ।

गत चैत्र २५ गते आइतबार बिहान विराटनगरको जतुवास्थित रामजानकी मन्दिरमा हुन लागेको श्रीमद्भावगत सप्ताह पुराणका अवसरमा उनीमाथि गोली प्रहार भएको थियो ।

उक्त कार्यमा गुरु स्वयंकै संलग्नता रहेको भन्दै प्रहरीले काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो । यसअघि, उनी २१ दिन विराटनगरकै न्यूरो अस्तपालमा उपचार गरिएको थियो ।

जेष्ठ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्