१२ वर्षअघि नै मणि शाहको कलेजो फेल भइसकेको थियो

मणि शाहप्रति अन्तिम श्रद्धाञ्जली!

काठमाडौं- मैले १२ वर्षयता मणि शाहजीको उपचार गर्दै आएको थिएँ। मसम्म आइपुग्दा उहाँको कलेज फेल अर्थात लिभर सिरोसिस भइसकेको थियो। त्यतिबेला उहाँको अवस्था हेर्दा पाँच वर्ष बाँच्नु पनि निकै मुस्किलको कुरा थियो। तर, उहाँ १२ वर्ष बाँच्नुभयो। मैले मणिजीको श्रीमतीलाई तपाईँको श्रीमान बाँच्ने चान्स १० प्रतिशतमात्र छ भनेर उपचार सुरु गरेको थिएँ। किनभने मणिजीको अवस्था निकै नै सिरियस थियो।

मैले सुनेँ- अत्यधिक मदिरा सेवन गर्ने उहाँको बानी रहेछ। सुरुमा अर्कै ठाउँमा गएर चेक गर्दा उहाँलाई जन्डिस भएको भनिएछ। त्यसपछि नरदेवीमा गएर जडिबुटी खाइरहनु भएको थाहा पाएँ।

डा. सुधांशु केसी।

तर, जडिबुटीले समस्या थप बढाएपछि उहाँ मसँग आउनुभएको छ। मकहाँ त्यतिबेला गणेश थापाजी पनि आउनु भएको थियो। के गर्न सकिन्छ भनेर कुराकानी गर्दा कलेजो ट्रान्सप्लान्टको विकल्प नरहेको बताएको थिएँ। तर, ट्रान्सप्लान्ट गर्न सम्भव भएन। ६ वर्षसम्म रेगुलर फलोअपमा आउनु भयो। फलोअपको दिन नेपाल बन्द छ भने पनि हिँडेरै आउनु हुन्थ्यो। उहाँ ठूलो खेलाडी भए पनि मैले जहिल्यै बिरामी सरह ब्यवहार गरेँ।

खेलाडी भनेर सम्बोधन गर्थेँ। भनेको नमान्दा गाली गरेँ भने हाँसेर सुनिरहनुमात्र हुन्थ्यो। कहिल्यै प्रतिवाद गर्नुभएन। उहाँको श्रीमतीले भन्नुहुन्थ्यो- उहाँले मान्ने भनेको तपाईँसँग मात्र हो अरुसँग त साह्रै जिद्दी हुनुहुन्छ। हुन पनि सुरुका ६ वर्षमा उहाँ एकदमै प‌ंक्चुअल हुनुहुन्थ्यो। उहाँले आफूले लगातारको उपचारका बीचमा पूरा समय फुटबल खेल्न सकेको पनि बताउनु हुन्थ्यो।

उहाँ त्यति ठूलो खेलाडी भएपनि कहिल्यै पनि अहम् थिएन। मेरा सबै स्टाफले उहाँलाई चिन्थे। उहाँ सबैलाई रेस्पेक्ट गर्नुहुन्थ्यो। उहाँको इच्छाशक्ति, परिवारको हेरचाह र औषधीले उहाँको स्वास्थ्यमा क्रमिक सुधार पनि देखियो। मैले तीन तीन महिनामा फलो अपका लागि बोलाउँथे। तर पछिल्ला ६ वर्ष उहाँ एकदमै अनियमित हुनुहुन्थ्यो। उहाँ रेगुगलर फलोअपमा आउनै छाड्नु भयो। कहिले ६ महिना त कहिले आठ महिनामा आउनु हुन्थ्यो।

मैलै मणिजीको श्रीमतीलाई फोन गरेरै तपाईँको श्रीमान त फलोअपमा आउनै छाड्नु भयो त भनेपछि मात्र मणिजी आउनुहुन्थ्यो। पछिल्लो ६ महिनामा त उहाँको अवस्था नाजुक देखिएको थियो। यस अवधिमा उहाँलाई चारपटक भर्ना गरेजस्तो लाग्छ। हेरचाह र औषधीमा लापरबाही नगरेको भए अझ बढी बाँच्न सक्नु हुन्थ्यो कि! तर, १२ वर्षअघि उहाँ यति लामो समय बाँच्नु होला भन्ने लागेको थिएन।

जेठ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्