पूर्वाधार अभाव झेल्दै कर्णालीको खेलकुद मैदान

कर्णाली प्रदेशस्तरिय खेलकुद प्रतियोगिता भएको स्थानीय कालुङ्गचौक मैदान।तस्बिर-डिलप्रसाद शर्मा/देश सञ्‍चार

सुर्खेत-सुर्खेतमा पछिल्लो समय खेलकुद गतिविधि बढ्दै गएका छन्। संघीय संरचनाअनुसार प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा खेल गतिविधि बढेका हुन। विगतदेखि नै भौतिक संरचनाको अभाव झेल्दै आएको सुर्खेतले खेल गतिविधि बढेपनि प्रयाप्त पूर्वाधार निर्माण हुन सकेका छैनन्। जसले गर्दा सम्भावना बोकेको खेलकुद क्षेत्र र खेलाडीहरुमा निराशा छाएको छ।

प्रयाप्त पूर्वाधार नहुँदा सुर्खेतमा हुने खेलहरु नेपालगञ्‍जमा गर्नुपर्ने बाध्यता छ। यसको एक उदाहरण हो, अगामी मंसिरमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता । साविकको मध्यपश्चिम खेलकुद विकास समिति आयोजक बनेको प्रतियोगिताका खेलहरू कर्णाली प्रदेशमा एउटा पनि पर्न सकेनन्।

त्यसको एउटै कारण होे, खेल खेलाउनका लागि आवश्यक पूर्वाधार अभाव र नेतृत्वले आफ्नो जिम्मेवारी पुरा गर्न नसक्नु।जसले गर्दा कर्णालीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजकको भूमिका निर्वाह गर्ने जिम्मेवारी सम्हाल्दै दिर्घकालिन रूपमा पूर्वाधार तयार हुने अवसरबाट वञ्चित हुनुपर्‍यो।

एक अघि मात्रै मुस्किलले कालिङचौकको खुला मैदानमा कर्णाली प्रदेशस्तरिय क्रिकेट प्रतियोगिता भयो तर, राष्ट्रियस्तरको कर्णाली प्रिमियर लिग भने फुटबल मैदानभित्र क्रिकेट खेलाउन लागिएको छ । ‘कालुङचौकमा रहेको फिल्ड प्राविधिक दृष्ट्रिकोणले उपयुक्त देखिएन्’ कर्णाली प्रिमियर लिंकका संयोजक रेशम शाहीले भने, ‘अन्यत्र भौतिक संरचना नहुँदा फटबल मैदानलाई केही सुधार गर्न लागिएको छ।’

प्रदेश राजधानीमा हालसम्म क्रिकेट स्टेडियम नभएकै कारण ठूला प्रतियोगिता सञ्चालनका लागि समस्या बनेको छ। ‘रंगशाला निर्माण गर्दा धेरै दुःख भोग्नु पर्‍यो,’ उनले थपे, ‘संरचना नहुँदा प्रतियोगिता गर्न समस्या छ, यसतर्फ सरकरा गम्भिर बनोस्।’

२०७३ सालमा सरकारले सुर्खेतमा क्रिकेट मैदान निर्माणका लागि एक करोड बजेट विनियोजन गरेपनि खेलकुदका पदाधिकारीबीचको जुहारीका कारण रकम फ्रिज भयो। ‘सरकारले कर्णालीलाई नहेरेको पनि होइन, एक करोड बजेट क्रिकेट मैदानको व्यवस्थापनका लागि तत्काल विनियोजन भएको थियो’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले भने, ‘तर उपयुक्त जग्गा नहुँदा बजेट फ्रिज भयो, क्रिकेट क्षेत्रका लागि निकै दुर्भाग्य बन्यो।’

युवा तथा खेलकुद मन्त्रालयका सचिवसहितको पाँच सदस्यिय अध्ययन टोलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनिइरिङ्ग संकायको भवन निर्माणस्थल सानो सुर्खेतमा सामुदायिक वनको जग्गामा क्रिकेट स्टडियम निर्माणका लागि उपयुक्त भएको प्रतिवेदन बुझाएको थियो। तर प्रक्रिया पुर्ण नहुँदा काम अगाडि बढ्न सकेन।

क्रिकेट स्टेडिएम निर्माणका लागि जग्गा उपलब्ध भएमा छुट्याउन समस्या नरहेको अध्यक्ष गिरीले बताए।स्टेडियम निर्माणका लागि ६ विघा जग्गा आवश्यक रहेकोमा उपत्यका नगरविकास समिति सहकार्य भइरहेको बताए।उनले विगतदेखि खेलकुदको विकास हुन नसक्नु आवश्यक भौतिक संरचना र पूर्वाधार नहुनु भएको बताए।

जेष्ठ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्