स्वदेशमै कृषि गर्नुहोस्, राज्यले सहयोग गर्छ : कृषिमन्त्री खनाल

काठमाडौँ– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले कृषि क्षेत्रमा काम गर्न चाहनेहरुका लागि सरकारले सहयोग गर्ने बताएका छन् । कृषि मर्यादित र सम्मानित पेशा भएको भन्दै मन्त्री खनालले स्वदेशमै केही गर्छु भन्ने सोच भएकाहरुलाई राज्यले सहयोग गर्ने बताए ।

इजरायली दुतावास र साना किसान बैंकले संयुक्त रुपमा काठमाडौंमा गरेको साना किसान कृषि तालिम कार्यक्रममा मन्त्री खनालले विदेशमा सिकेको सिपलाई सदुपयोग गर्ने गरी सरकार सहयोगी हुने बताएका छन् ।

छोटो समयमै मुलुकलाई कृषिको माध्यमबाट माथि उठाउन सकिने भन्दै मन्त्री खनालले विदेशबाट सिकेर आएको शिपलाई सदुपयोग गरी आयातलाई प्रतिस्थापन गर्ने गरी निर्यात बढाउनु पर्ने बताएका छन् ।

इजरायलमा २ दशमलय ८ प्रतिशत मानिसले खेती गरेर ८० प्रतिशत उत्पादन निर्यात गर्ने गरेको अनुभव सुनाउँदै मन्त्री खनालले नेपालले पनि कृषि क्षेत्रमा प्रगति गर्न सक्ने बताए ।

नेपालमा ६६ प्रतिशत मानिस कृषिमा आश्रित भएपनि ५० प्रतिशतलाई मात्र खान पुग्ने गरेको र थप ५० प्रतिशत आयात गर्नु पर्ने बाध्यता रहेको भन्दै उनले अब यस्तो अवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् ।

नेपालका लागि इजरायली राजदुत बेनी ओमेर।

हिमालदेखि तराईसम्म १६ प्रकारको हावापानी रहेको भन्दै संसारमा उत्पादन हुने सबै वस्तु नेपालमै उत्पादन हुने बताए ।

कार्यक्रमबाट इजरायलमा पढ्न जानका लागि एक सय जना विद्यार्थीको छनोट गरिएको छ । मापदण्ड पुगेका ३ सय ७४ जना विद्यार्थीबाट एक सय जना छनोट गरिएको हो । यो वर्ष इजरायलमा पढ्न ५ सय ४० जना जाँदैछन् । ९७ हजार घर परिवारबाट छानिएका विद्यार्थीमध्ये गोला प्रथाबाट २ सय छानिएका छन् । त्यसमध्ये पनि स्वास्थ्य परिक्षण, प्लस टु पास लगायतका मापदण्ड पुरा गरेका एक सय विद्यार्थी छनोटमा परेका हुन् ।

आगामी सेप्टेम्बरसम्म इजरायल गइसक्ने १८ देखि २२ वर्ष उमेर समूहका विद्यार्थीले त्यहाँ १० देखि ११ महिनासम्म कृषि सम्बन्धी तालिम लिनेछन् । जसमा २५ प्रतिशत महिला छन् ।

हालसम्म २ हजार एक सय ४३ जनाले इजरायलबाट कृषि तालिम लिइसकेका छन् । ५ सय ४३ जना अहिले पनि इजरायमै छन् । साना किसान बैंकका अधिकृत मनिष महतोका अनुसार स्वदेश फर्केका ४० देखि ४५ प्रतिशतले अहिले पनि कृषि क्षेत्रमा काम गरिरहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि इजरायली राजदुत बेनी ओमेरले इजरायल पुगेर धेरै परिश्रम गर्नु पर्ने भएकाले त्यही अनुसारको मानसिकता बनाउन आग्रह गरे । उनले त्यहाँ सिकेको ज्ञान र शिपलाई नेपाल जस्तो सुन्दर र कृषिमा राम्रो भविष्य भएको मुलुकमा लगानी गर्न आग्रह समेत गरेका छन् ।

 

जेठ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्