प्रधानमन्त्री ओली चार घण्टा ढिला भएपछि…

प्रधानमन्त्री केपी ‌ओली चार घन्टा नआएपछि उनका लागि राखिएको खालि कुर्सी। तस्बिर: बर्षा शाह

काठमाडौं- नेकपा एमालेको भातृ संगठन युवा संघले स्थापना दिवसको कार्यक्रम ‘भव्यता’ का साथ मनाउने घोषणा केही दिन अगाडि नै गरेको थियो।

आफ्ना माउ पार्टी नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि बन्ने पक्का भएकाले आयोजक स्थापना दिवस ‘भव्य’ बन्नेमा ढुक्क थियो।

र, तयारी पनि त्यसैअनुसारको थियो उनीहरुको, निर्धारित समय ठिक १२ बजे कार्यक्रमस्थल सभागृहमा पुग्दा।

सभागृह रंगिचंगी मात्र बनेको थिएन, सहभागीहरु पनि विविध भेषभुषामा ठंटिएर बाजागाजासहित विविध संस्कृति र जातजातिलाई प्रतिनिधित्व गर्ने नाचगान सहित प्रधानमन्त्री ओलीको आगमनको प्रतीक्षामा रमाइरहेका थिए।

उनीहरुमा देखिएको उत्साह विस्तारै सेलाउन थाल्यो। निर्धारित समय भन्दा निकै पछि सम्म पनि प्रमुख अतिथि प्रधानमन्त्री ओली देखा परेनन् । तर धर्य गुमाएनन् उनीहरुले ।

प्रधानमन्त्री ओलीले केही मिनेट या एक-दुई घन्टा हैन, चार घन्टा कुराए सहभागीलाई । निराश र अव्यक्त आक्रोशका साथ कार्यक्रमस्थलबाट बाहिर निस्कने क्रम सुरु हुन थाल्यो ।

उदघोषकले माफी मागिरहे तर प्रधानमन्त्री आउँनै लागेको जानकारी दिन दोहोराउन भने छोडेनन् ।

लामो समय ओली कार्यक्रमस्थलमा नदेखिएपछि आयोजक बाध्य भए कार्यक्रम सुरु गर्न । अनि प्रमुख अतिथिबिनानै सहभागिलाई बाहिरनबाट रोक्न बरिष्ठ नेताहरुले भाषण गर्न थाले ।

अतिथिका रुपमा उपस्थित प्रमुख नेताहरु गोकर्ण बिष्ट, इस्वर पोखरेल, माधव कुमार नेपालले संभवत निर्धारित भन्दा लामो भाषण गर्ने मौका पाए । तर भाषणपछि उनीहरु पनि एकएक गरी बाहिरिए, ओली अझै आएनन् ।

सहभागी निरास हुन थालेपछि मञ्चमा कलाकार बद्री पगेनीलाई बोलाइयो र उनले गीत पनि गाए, ताली पाए तर त्यसले सहभागिहरुमा धर्यको पुर्नसञ्चार गर्न सकेन ।

आयोजकबाट प्रधानमन्त्री तुरुन्तै आउने उद्घोष र विलम्का लागि क्षमा याचनाको शीलशीला अटुट नै रहिरह्यो ।

अन्तमा अस्वस्थ देखिएका पूर्व प्रधानमन्त्री एमाले नेता झलनाथ खनालको लामो भाषण सकिनु पूर्व मुस्कुराउँदै कार्यक्रमस्थल प्रवेश गरे प्रधानमन्त्री ओली, निर्धारित समय भन्दा चार घण्टापछि ।

तर ओलीले कुनै स्पष्टीकरण दिएनन्, क्षमायाचनाको कुरै भएन । आखिर आफ्नै पार्टीका नेता तथा कार्यकर्ता नै त थिए ती सबै ।

सञ्चारकर्मीहरु बीचबीचमा फेरिदै गए, केही पुरै समय बसे, केही निस्किएका थिए।  निरास भइसकेका आयोजकहरु मध्ये केहीले बाजा त बजाए प्रधानमन्त्रीको स्वागतमा तर त्यो उत्साह भन्दा औपचारिकताबाट बढी निर्देशित देखिन्थ्यो ।

भोक, प्यास र लामो प्रतिक्षाबाट उत्पन्न निरासालाई लुकाउन सकेका थिएनन् । ओली कार्यक्रम उद्घाटन गरे र लामै भाषण गरे एक घण्टा भन्दा बढी ।

एक महिना अघि उत्पादकत्वको संस्कृतिलाई संस्थागत गर्न सरकारले केही सार्वजनिक छुट्टीहरुमा कटौती गरेको छ ।

निश्चित समयमा लक्षित काम पुरा हुन र काम गर्ने दिनहरु सकेसम्म ज्यादा हुनु पर्छ भन्ने उद्देश्यका साथ ।

तर कुनै निर्धारित कार्यक्रमका आयोजकहरुले कार्यक्रम सुरु गर्नै अथवा प्रमुख अतिथिको प्रतिक्षामै चार घण्टा बिताउनु पर्‍यो भने?

मंगलबारनै राजधानीमा आयोजित पुरी मठका जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन कार्यक्रममा पनि निर्धारित समय भन्दा प्रधानमन्त्री साढे दुई घण्टा ढिलो पुगेका थिए ।

जेठ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्