अदालतको आदेशपछि चिनीमा सरकार-व्यापारी द्वन्द्व चर्कियो

विराटनगर भन्सार कार्यालय।

काठमाडौँ- जेठ १४ गतेसम्मका लागि आयातित चिनीमा पुरानै भन्सार महसुल कार्यान्वयन गर्न सर्वोच्च अदालतले दिएको अन्तरकालीन आदेश कार्यान्वयन हुनेमा ब्यापारीहरु विश्वस्त हुन सकेका छैनन्। पाकिस्तानबाट सस्तोमा चिनी आयात गरेका एक ब्यापारीका अनुसार सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएपनि भन्सार कार्यालयलाई विभागबाट जानकारी नआएपछि कार्यान्वयन हुनेमा आशंका उब्जिएको हो।

सर्वोच्च अदालतले आदेश दिएपछि दुइ वटा चिनी आयात कम्पनीका पदाधिकारी अन्तरकालिन आदेश पत्रसहित मंगलबार भन्सार कार्यालय विराटनगर पुगेका थिए। यद्धपि, भन्सार पुगेका मध्ये श्याम बाबा इन्टरप्राइजेजले मात्र उक्त पत्र बुझाएको ती ब्यापारीले जानकारी दिए। ती ब्यापारीले दुगड समूहको ज्ञान इन्टरप्राइजेजले भने आदेश पत्र लगेपनि कार्यालयमा नबुझाएको बताए। विभिन्न मितिमा एलसी खोलिएको चिनीलाई पुरानै महसुल लगाउन माग गर्दै ज्ञान इन्टरप्राइजेजले दायर गरेको रिटमा सर्वोच्चले अन्तरकालिन आदेश जारी गरेको थियो।

त्यसैगरि भन्सार कार्यालय स्रोतका अनुसार, सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएपनि आधिकारिक पत्र प्राप्त नभएको अवस्था छ। अदातलको पूर्ण पाठ नआउञ्जेल उक्त भन्सार महसुल कर लागु गर्न नसकिने स्रोतको भनाइ छ।

त्यसैगरी जेठ १५ गते बजेट आउने भएकाले त्यसपछि मात्र नयाँ महसुलको कुरा कार्यान्वयनमा आउन सक्ने देखिएको छ।

चिनी आयात गर्नेक्रममा गत पुस महिनामा ब्यापारीहरुले पाकिस्तानबाट सस्तोमा चिनी आयातमा गरेका थिए। ३ सय ६० अमेरिकी डलर प्रतिमेट्रिक टन चिनीको मुल्यमा सरकारले भन्सार महसुलबृद्धि गरेको थियो। अर्थमन्त्री यूवराज खतिवडाले राजस्व बढाउने हेतुका साथ गत बैशाख ४ गते चिनीको भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत कायम गरेका थिए। सोही क्रम देखि चिनी आयात गर्ने

सरकारले मूल्यसुचीमा कर र जरिवानामा बढाएसँगै हाल पाकिस्तानबाट नयाँ मागसहित चिनी आयात गर्ने कार्य ठप्प भएको छ।

पछिल्लोसमय जति एलसी खोलि चिनी मगाइएको छ, त्यसलाई मात्र निरन्तरता दिइएको ब्यापारीको भनाइ छ।

यसैबीच गत बैशाख महिनामा चिनी १३ हजार ६सय ४४ मेट्रिक टन भित्रिएको भन्सार कार्यालय विराटनगरले जनाएको छ। कार्यालयका प्रवक्ता सुशील थापाले भने, गत वैशाख महिनामा पुरानै दरमा १३ हजार ६ सय ४४ मेट्रिक टन चिनी भित्रिएको छ। जसबाट सरकारले २७ करोड ७४ लाख २९ हजार रुपैया भन्सार महसुल कर संकलन गरेको छ।

जेष्ठ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्