राजु शाक्यले सम्झिए आफ्ना प्रिय सहकर्मीलाई

मणिले यसरी फ्रीकिक हाने कि पुरै रंगशाला उचालियो

काठमाडौं- फुच्चे, लेफ्ट फुटेड, पातलो शरीर र कर्ली कपाल। सन् १९८२/८३ को कुरा हुनुपर्छ, मैले पहिलोपटक मणि शाहलाई देखेको। हामी एन्फा कप खेल्न काठमाडौंमा थियौं। दशरथ र‌ंगशालामा हामीले खेलिरहँदा यु-१३ राष्ट्रिय टोलीको पनि प्रशिक्षण चलिरहेको थियो। त्यही प्रशिक्षण टोलीमा रहेका मणिलाई हामी सबै सिनियरले नोटिस गरेका थियौं।

ऊ थियो नै त्यस्तै। उसको खेल्ने तरिका, क्षमता, हाउभाउ अनि सबैभन्दा नोटिस हुने लेफ्ट फुटेड। लगत्तै थाइल्यान्डमा भएको एउटा प्रतियोगिताबाट उसले चर्चा कमायो। त्यो प्रतियोगिताको नाम त बिर्सेँ तर उसले धेरै गोल गरेको थियो। सन् १९८५ मा उसले सिनियर राष्ट्रिय टोलीमा स्थान बनायो। हामी अलिक सिनियर भएकाले खुलेर बोल्दैन थियो तर असाध्यै सम्मान गर्थ्यो सबैलाई।

सन् १९८६ को विश्वकपपछि नेपालमा मणिको पनि चर्चा बाक्लियो। उक्त विश्वकप अर्जेन्टिनालाई जिताएका डिएगो म्याराडोनासँग उसको तुलना हुन थाल्यो। दुवै जना लगभग एउटै उचाइका, १० नम्बर जर्सी लगाएर खेल्ने, परबाट हेर्दा उस्तै पनि देखिए। सायद मणि पनि म्याराडोनाबाट प्रभावित भएको हुन सक्छ, उसले पनि म्याराडोनाको जस्तै कपाल बनायो। जिम गरेर शरीर बनायो। यसपछि त मैदानमै म्याराडोना खेलिरहेको जस्तो लाग्ने। जहाँ जहाँ खेल्न पुग्थ्यो, उसलाई सबैले म्याराडोना नै भन्थे। त्यतिबेलाको चर्चित ब‌ंगलादेशको लिगमा हामी खेल्दा पनि म्याराडोना भन्दै हुटिङ हुन्थ्यो। दक्षिण एसियामा सबैले मणिलाई मान्थे। ब‌ंगलादेशमा खेल्दा त्यतिबेला भारतका पूर्व कप्तान तथा भेट्रान सब्बिर अलीले मणिलाई हेडिङ कसरी गर्ने भनेर सिकाएका थिए। अली हेडिङ गोल गर्न माहिर थिए।

मणि मनदेखि खेल्थ्यो। पूरा ऊर्जासाथ, पूरा कन्सन्ट्रेट भएर। अरु खेलाडीमा पनि जोस भर्थ्यो, हाट्टहुट्ट गर्थ्यो। उसले कहिल्यै पनि सेल्फिस गेम खेलेन। उसले निकालेका उत्कृष्ट पासहरुमा त्यतिबेलाका हाम्रा धेरै साथीहरुले गोल गरेका थिए। उत्कृष्ट फ्रिकिक हान्न सक्ने, ड्रिबलिङ गर्न सक्ने, भनेको ठाउँमा बल झार्न सक्ने, भनेको ठाउँमा बल पास दिन सक्ने उसको खुबीले भन्थ्यो- ऊ चानचुने खेलाडी होइन। उसलाई जहिल्यै पनि दुई जना विपक्षी खेलाडीले घेरेर बस्थे। यसैबीचमा घाइते भइरहन्थ्यो। सन् १९८९ मा जर्मनी जाँदा घुँडाको अप्रेशन गरेको मलाई याद छ। त्यसपछि पनि घाइते भएर दुई वर्षजति टिमबाहिर भएजस्तो लाग्छ।

हामी लगभग ११/१२ वर्ष राष्ट्रिय टोलीबाट सँगैं खेल्यौं। केही क्लबमा पनि हामीले सँगै‌ं खेल्यौं।सबैभन्दा सुखद क्षण चाहिँ सन् १९९३ को दक्षिण एसियाली खेलकुदको फाइनल नै हो। ब‌ंगलादेशको त्यो फुटबल क्रेज अनि भारतसँगको उपाधि भिडन्त। बंगलादेशी दर्शकले हाम्रो पक्षमा हुटिङ गरिरहेका थिए। भारतलाई हराउनु नै गौरवको विषय हुने गर्थ्यो त्यतिबेला। त्यसमा पनि त्यस साफमा स्वर्ण जित्ने हाम्रो अन्तिम अाश नै त्यही खेल थियो। अरु सबै खेलमा नेपालको सम्भावना सकिसकेको थियो। नेपालबाट गएका अफिसियलहरुले हामीसँग आएर भने- अब अन्तिम आश तिमीहरुकै हो।

त्यतिबेला हाम्रो प्रशिक्षक एक ब्राजिलियन थिए। उनले अँध्यारो नहुँदासम्म मणि र मलाई फ्रिकको अभ्यास गर्न लगाइरहन्थे। लेफ्टबाट मणि र राइटबाट मैले फ्रिकिकको तयारी गर्थ्यौं। भारतसँगको फाइनल हेर्दा अहिले पनि ज्यानमा काँडा उम्रिन्छ। त्यो जोश, त्यो स्पिरिट कहाँबाट आयो होला! हामीले ज्यान दिएर खेल्यौं। खेल अत्यन्तै प्रतिस्पर्धात्मक भयो। तर १ गोलले पछाडि रहेर हामी खेल हार्ने स्थितिमा थियौं। तर मणि खेलाडीलाई जोस भरिरहेकै थियो। निर्धारित समयको खेल सकिन एक मिनेट मात्र बाँकी थियो, हामीलै फ्रिकिकको मौका पायौं।

२०/२५ यार्ड टाढाबाट प्राप्त त्यो फ्रिकिकका लागि मणिलाई बोलाएँ। मणिले यसरी गोल गर्‍यो कि पुरै र‌ंगशाला उचालिएजस्तो भयो। अहिले पनि त्यो फुटेज हेर्दा खुसीका अाँशु झर्छन्। पछि पेनाल्टी सुटआउटमा हामीले खेल जित्यौं। हाम्रो शान नै छुट्टै। एकैपटक धेरै स्वर्ण पदक जितेजस्तो। मणि जितको भोको थियो। जहिल्यै पनि जसरी नि जित्नुपर्छ भनेर खेल्थ्यो।

खासमा मणि, मणि थियो म्याराडोनाजस्तो मात्र थिएन। त्यतिबेला सबै खेलाडी राम्रा थिए। कसैलाई कसैसँग तुलना गर्न मिल्दैन। तर मणि भने गड गिफ्टेड लाग्थ्यो।

(राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान राजुकाजी शाक्यसँग गरेको कुराकानीमा आधारित। नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान समेत रहेका मणि शाहको ५१ वर्षको उमेरमा सोमबार निधन भएको थियो। )

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्