वाम एकता

एकतालाई आकार दिने वार्ताको तयारीमा ओली–प्रचण्ड

केपी ओली र प्रचण्ड । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौँ – रोकिएको वा अड्किएको ठानिएको वाम एकताको गाँठो फुकाउनका लागि एमाले र माओवादी केन्द्रका शीर्ष नेताबिच बुधबार वार्ता हुँदैछ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपा शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बिहान साढे ९ बजेपछि बालुवाटारमा छलफल हुने तयारी छ ।

बालुवाटारमा हुने ओली–प्रचण्ड वार्तालाई एकता संयोजन समितिको बैठकको बाटो खोल्ने माध्यमको रुपमा हेरिएको छ । शीर्ष तहमा छलफलको क्रम टुट्दा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन ।

बालुवाटारमा हुने ओली–प्रचण्ड वार्तामा एकताको विषयमा जुट्न बाँकी सहमति वा मिल्न बाँकी कुरामा गम्भीर छलफल हुने बताइएको छ । यो छलफललाई पार्टी एकताका लागि निर्णायक बनाउने तयारीमा दुवै शीर्ष नेता रहेको बुझिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण पछि सरेको भनिएको एकता प्रक्रियामो मोदी भ्रमणले झन फाटो ल्याएको देखिएको छ । तर त्यो फाटोको अवस्थालाई चिर्दै एकताको औपचारिक घोषणाको तयारी लाग्नका लागि ओली–प्रचण्ड वार्तामा जुट्न लागेका हुन् ।

प्रधानमन्त्री समेत रहेका ओलीले मंगलबार सार्वजनिक कार्यक्रममै एकता अन्तिम चरणमा पुगेको र अब केही कुरा मात्रै मिल्न बाँकी रहेको बताएका थिए ।

त्यसअघि मंगलबार बिहान माओवादी अध्यक्ष र एमाले नेता तथा एकता संयोजन समितिका सदस्य माधवकुमार नेपालबिच छलफल भएको थियो । त्यसमा नेता नेपालले प्रचण्डलाई एकताको सबै विषय संयोजन समितिको जिम्मामा दिन आग्रह गरेका थिए ।

बुधबारको बालुवाटार ओली–प्रचण्ड वार्तापछि एकता संयोजन समितिको बैठक कहिले बस्ने भन्ने टुंगो लाग्ने छ । त्यसकै आधारमा एकताको प्रक्रिया अघि बढ्ने थाहा हुनेछ । ओली तथा प्रचण्डले सार्वजनिक कार्यक्रममा एकता अन्तिम चरणमा पुगेको बताउने गरेका छन् ।

तर उनीहरुले भने पनि कुरा मिल्न भने बाँकी नै छ । त्यो माओवादी नेता तथा सरकारमा रहेका माओवादी मन्त्रीको असन्तुष्टिले पुष्टि पनि गरेको छ । तर बुधबारको वार्ता भने वाम एकताको पक्षमा फलदायी बनाउने तयारीमा दुवै नेता रहेको स्रोतले बताएको छ ।

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू