सुन तस्करी बहस: अदालतमा सुन ल्‍याउन वकिलहरुको माग

काठमाडौं- बेपत्ता अवस्थामा रहेको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा बुधबार प्रतिवादीको तर्फबाट १० जना कानुन व्यवसायीहरुले बहस गरेका छन्।

जिल्ला अदालत मोरङस्थित न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा जारी बहसका क्रममा कानुन व्यवसायीहरुले स्थापित हुन नसक्ने संगठित अपराधको मुद्दा दर्ता गरेर अनुसन्धानलाई पूर्वाग्राही बनाउन खोजिएको जिकिर गरेका छन्। अधिकांश कानुन व्यवसायीले बहसमा मुद्दासँग जोडिएको साढे ३३ किलो सुनको विषयमा प्रश्‍न उठाएका थिए।

उनीहरुले वस्तु अर्थात सुन अदालतमा नभइकनै अभियोग दर्ता गरिएका कारण मुद्दा स्थापित हुन नसक्ने उल्लेख गरेका थिए। चोरी पैठारीको मुद्दामा प्रमाणका लागि सुन अदालतमा उपस्थित भएको हुनुपर्छ। बहसमा कानुन ब्यवसायीहरुले सुनको उपस्थिति विना काल्पनिक रुपमा मुद्दा चलाउन नसकिने उल्लेख गरेका थिए।

कार्की र काफ्लेको मुद्दा कमजोर


त्यसैगरी नरेन्द्र कार्की र मोहन काफ्ले स्वयम घटनाको पीडित भएको अधिवक्ताद्वय दीपक खतिवडा र रुपेश कोइरालाले जनाएका थिए। उनीहरुको भनाइमा सुन तस्करी तथा शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ समूहले दुवै जनालाई अपहरण गरेका थिए।

त्यसपछि मृतक शाक्य जत्तिकै करेन्ट लगाउने तथा विभिन्न तरिकाले यातना दिइएको अधिवक्ताद्वयको भनाइ थियो। जसका कारण दुवैविरुद्ध मुद्दा लगाउनु पर्ने स्पस्ट कारण नै नभएको बसहका क्रममा जिकिर गरे।

दुवै अभियुक्तलाई शाक्यको शव भेटिएकै दिन गत फागुन १९ गते पक्राउ गरिएको थियो। उनीहरु विरुद्ध सुन तस्करी र सनम हत्या काण्डमा अन्य अभियुक्तसंगै अपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा बैशाख १९ गते दर्ता गरिएको थियो ।

अन्य अभियुक्तको बहस


सो क्रममा निलम्बित डीएसपी संजयबहादुर राउतको तर्फबाट शिवराज चौहान, शान्तिराम भण्डारी र रामप्रसाद भण्डारीले बहस गरेका थिए। त्यसैगरि, प्रहरी जवान विष्णुबहादुर खड्काको तर्फबाट बरिष्ठ अधिवक्ता हिक्मत पौडेल र अधिवक्ता खगेन्द्र श्रेष्ठले बहस गरे।

अधिवक्ताहरु गणेशराज लुइँटेल र नविन कार्कीले मदनप्रसाद घिमिरे तथा अधिवक्ता ज्ञानेन्द्र थापाले घिमिरे, बालकृष्ण श्रेष्ठ र हेमन्त गौतमको तर्फबाट बहस गरेका थिए।

३५ जना कानुन ब्यवसायीको बहस सकियो

नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरुले गत शुक्रबार बहस सकेपछि प्रतिवादीका तर्फबाट जिल्ला अदालत मोरङमा प्रतिरक्षाको लागि बहस जारी छ। हाल सम्म ३५ जना कानुन व्यवसायीहरुले बहस गरिसकेको अदालतले जनाएकोछ। प्रतिरक्षा बहसका लागि ६६ जना कानुन व्यवसायीले एक सय १३ वटा वकालतनामा दर्ता गराएका छन्।

१५ दिन म्याद थप


त्यस्तै सुन तस्करी र शाक्य हत्या प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परेका दुई जना विरुद्ध दोस्रो पटक १५ दिनको म्याद थप गरिएको छ। प्रहरीले झापा दमकका विनोद अधिकारी र मोतिराम श्रेष्ठमाथि सुन तस्करी र शाक्य हत्याकाण्डमा अन्य अभियुक्त जस्तै मुद्दा चलाउन अनुसन्धानका लागि म्याद थप गरेको हो।

गत शुक्रबार पक्राउ परेका उनीहरु विरुद्ध तत्काल प्रहरीले पहिलो पटक पाँच दिनको म्याद थप गरेको थियो। मुख्य अभियुक्त उप्रेतिको निकट हुदै अवैध हुण्डी कारोवार मार्फत सुन तस्करीमा लगानी गर्ने गरेको भन्दै प्रहरीले अधिकारीलाई दमक र श्रेष्ठलाई दोलखाबाट पक्राउ गरेको थियो ।

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्