गुणकारी ‘आलस’– आजैदेखि खान सुरु गर्ने कि?

कुनै कुनै सरल, सहज र थाहा पाउनुपर्ने कुरा थाहा पाउन समय आउनुपर्ने रहेछ। मेरी श्रीमती सुभद्रालाई स्तन क्यान्सर भएको थाहा भएको ७ हप्ता भयो, शल्यक्रिया (अपरेसन) भएको ६ हप्ता भयो। तीन हप्ताअघि फलोअपको लागि वरिष्ठ स्तन क्यान्सर विशेषज्ञ डा. प्रकाश सायमिकहाँ जाँदा सुभद्राले डाक्टर साहेबलाई सोधिन्– खान के के हुन्छ?

सामान्यतया मेडिकल डाक्टरले यो खान हुन्छ त्यो खान हुन्न भन्दैनन्, नसोधेसम्म। सोधिहाले पनि सबै खान हुन्छ भन्छन्। भनि हाले भने धेरैले चिल्लो पिरो धेरै नखानुसम्म भन्छन्। यो खानु त्यो नखानु वा यो राम्रो, त्यो नराम्रो भनेको मलाई थाहा छैन, खासगरी मेडिकल डाक्टरले। सुभद्राको प्रश्नपछि डाक्टर साहेबले हतार नगरिकन समय दिएर केही कुराहरु भन्नु भो। उहाँले भन्नु भएका कुराहरु केही मनमा गुनेँ र तीमध्ये केहीलाई मैले शब्दमा उतारेर फेसबुकमा शेयर गरेँ। ती यस प्रकार थिए –

(१) मासु कम खाने। छाला र बोसो झिकेको कुखुरा र माछा हुन्छ।

(२) सागसब्जी धेरै खाने। क्रुसीफेरस तरकारी जस्तै ब्रोकाउली राम्रो मानिन्छ।

(३) बेसार आधा चियाचम्चा दिनको खाँदा राम्रो हुन्छ। बेसार १७ किसिमका क्यान्सरहरु कम गर्नमा सहयोगी पाइएका रिपोर्टहरु छन्।

(४) सबैभन्दा राम्रो मानिएको आलस (फ्लाक्ससीड) हो, जसमा ओमेगा–३ फ्याट्टीएसिड र लिग्नान्स धेरै पाइन्छन्। यी दुबै स्वास्थ्यको लागि फाइदाजनक छन्। आलसलाई भुटेर पिस्ने र दिनको ठूलो दुई चम्चा भरी (झुसी) दालमा मिसाएर वा अचार बनाएर खाने।

डाक्टर साहेबले यो तपाईंलाई पनि हुन्छ भनेर मलाई भन्नु भयो। त्यसैले आलस खानु उमेर ढल्केका सबै वयस्कलाई फाइदाजनक छ ।
माथिको पोस्ट करीब अढाइ सयले लाइक गर्नुभयो भने ३० जनाले प्रतिक्रिया दिनुभयो। तीमध्ये धेरैले राम्रो जानकारीको रुपमा प्रतिक्रिया दिनु भयो।

अधिकांश प्रतिक्रिया सकारात्मक र पहिलोपटक थाहा पाएको जनाउने खालका थिए। केहीले यसबारे थप जानकारी राख्नु भयो, केहीले आफुले सेवन गरिरहनु भएको बताउनु भयो त कसैले कहाँ पाइन्छ भनेर सोध्नु भयो। तीमध्ये केहीका प्रतिक्रिया उपयोगी लागेर सकेसम्म जस्तातस्तै राख्ने प्रयास गरेको छु।

राम मुनन्कर्मी – पहिले पहिले आलसको तेल राम्रो मानिन्नथ्यो, आलस मिसाएको तेल भनेर कमसल मानिन्थ्यो, अहिले थाहा भयो आलस कति गुणिलो रहेछ भनेर।

सुशील भण्डारी – नभुटी काँचै चपाउनु कस्तो होला?

घिमिरे श्यामप्रसाद – मैले खान शुरु गरेँ ।

विनोदकुमार बराइ – केही दशकअधि डाक्टरहरुले आलसको तेलमा कोलेस्ट्रोल हुन्छ, खान कम गर्नु भन्ने सल्लाह दिन्थे । फलस्वरुप हाम्रा किसानहरुले यसको खेती धेरै कम गरे । अहिले हामी आलसको धेरै उपयोगिता पाइरहेका छौं र नेपालमा यसको धेरै कम उत्पादन हुन्छ । मैले नेडरल्याण्डमा रोटीमा आलस मिलाएर बनाएको देखेको छु । आलसको पिठो राम्रो लाक्जाटिभ हो र यसले कब्जियत ठिक गर्छ ।

बसन्तकुमार थापा – अमेरिकामा मैले धेरै मानिसले आलस खाएको देखेर छक्क परेको थिएँ ।

कृष्णहरि घिमिरे – मैले पनि शुरु गरेँ ।

बाबुराम पाठक – मैले ३ वर्षदेखि लगातार प्रयोग गर्दै आएको छु ।

ज्ञानु मानन्धर – तीस वर्षअघि बोर्डोपेस्ट (फलफूलको बोटलाई रोगबाट बचाउन लगाउने एक किसिमको पेस्ट) बनाउन आलसको तेल प्रयोग गर्न भनिन्थ्यो, अहिले बल्ल थाहा भयो यसको महत्व ।

डा. ज्ञानकुमार श्रेष्ठ – एक चिया चम्चा आलसलाई पानीमा घोलेर बिहान खाली पेटमा खाँदा ‘ग्यास्ट्रिटिस’ निको हुन्छ ।

चन्द्रप्रसाद अधिकारी – महत्व ठूलो रहेछ र त पो कम फल्दो रहेछ । पचास कट्ठामा दुई सय किलोमात्र ।

कृष्णराज खनाल – तराईतिर ‘अल्सि’ भन्छन्, यो यति राम्रो रहेछ त ।

भोजराज पोखरेल – गाउँघरतिर आलसको तेल खान हुन्न, पहेँले (जन्डिस) रोग लाग्छ भन्थे, तराईका गरिव किसानले मात्र खान्थे । यसको महत्व बढेको देख्दा खुशी लाग्छ ।

महेन्द्र शाह – भुटेर नुन लसुन मिसाएको चटनीको रुपमा खुब खाइन्थ्यो ।

डा. टिपी बाराकोटी – उपयोगी जानकारी, यस्तो कुरा मिडियाले हाइलाइट गर्नुपर्ने ।

महिमा बज्राचार्य –म यो कहाँ पाउन सक्छु ?

डा. हिराकाजी मानन्धर

कसैलाई यी त सबै इन्टरनेटमै भएका कुरा हुन् भन्ने पनि लाग्न सक्छ । इन्टरनेटमै भए पनि र म आफैँ इन्टरनेट प्रयोग गरिरहनेलाई पनि आलसको उपयोगिताबारे पहिले थाहा थिएन । अर्को कुरा, इन्टरनेटमा भएका सबै कुराहरुमा राम्ररी नबुझी अनुसरण गर्नु हुन्न भन्ने लाग्छ । इन्टरनेटमा भएको कुरालाई डाक्टरकै मुखबाट सुनेपछि त्यसमा भरोसा भयो ।

आलसबारे केही थप कुरा जान्न इन्टरनेटमा खोजी गरेँ । थुप्रै साइट पाएँ, तीमध्ये डा. जोस एक्सको साइटमा दिइएको जानकारीलाई शेयर गर्न चाहेँ।

आलस कम्तीमा ६ हजार वर्षदेखि मानिसले खाँदै आएका छन् । यसलाई अंग्रेजीमा ‘फ्लाक्स सिड’ वा ‘लिन सिड’ पनि भनिन्छ । यसको वैज्ञानिक नाम ‘लिनम युसिटाट्सिनम’ हो । यो नामको अर्थ हो, धेरै उपयोगी । आलसको १० प्रमुख फाइदाहरुसंक्षिप्तमा यस प्रकार छन्

(साइटमा दिइएको क्रमाङ्कअनुसार) –

(१) आलसमा रेशा (फाइबर) धेरै पाइन्छ र कार्वोहाइड्रेट कम हुन्छ । यसको विशेष प्रकार (मुसिलेज गमको मात्रा धेरै भएको) को रेशा पेटको लागि पनि राम्रो मानिन्छ र चाँडै भोक लाग्दैन । यसले आन्द्रामा विषाक्त पदार्थलाई निर्मलिकरण (डिटक्सीफिकेसन) गर्न सहयोग गर्छ ।

(२) आलसमा ओमेगा–३ फ्याट्टी एसिडहरु प्रचुर मात्रामा पाइन्छन् । सामान्यतया माछाको तेलमा ‘इपीए’ र ‘डिएचएल’ दुई प्रकारका ओमेगा–३ फ्याट्टी एसिड पाइन्छन्, तर आलसमा पाइनेचाहिँ ‘एएलए’ अर्थात अल्फा लिनोलेनिक एसिड हो । खासमा यी फ्याट्टी एसिडहरु सुन्निने, दुख्ने कम गर्ने ‘एण्टि–इन्फ्लेमाटोरी’ गुणयुक्त र मुटुसम्बन्धी रोगहरु कम गर्नमा उपयोगी पाइएका छन् ।

(३) आलस छाला र कपालको लागि स्वस्थकर छ । यसले कपाल चम्किलो र बलियो (कम झर्ने) बनाउँछ र छालामा फुस्रोपना घटाउँछ । यसो हुनुमा आवश्यक फ्याट्टी एसिडहरुको साथसाथै आलसमा भिटामिन–बी पनि पाइनु हो । (डा. सायमीले भन्नु भएअनुसार भिटामिन–बी क्यान्सर रोगीको लागि राम्रो हुन्छ र सुभद्रालाई एकचोटि यो भिटामिनको मात्रा परीक्षण गराउन पनि सुझाव दिनु भएको थियो ।)

आलसमा पाइने ओमेगा–३ एएलए फ्याट्टी एसिड आँखाको लागि पनि राम्रो हुन्छ । खासगरी आँसु कम भएर आँखा सुख्खा हुने/पोल्नेहरुको लागि ओमेगा–३ को सेवन धेरै लाभदायक हुन्छ । (केही बर्षअधि मेरा एकजना मित्र डा. दिपक शर्मा पौडेलज्यूले मैले आँखामा नक्कली आँसु (टियर्स) राख्दै गरेको देख्नुभयो । उहाँलाई पनि त्यो समस्या रहेछ, पछि अमेरिका जानु भएपछि ओमेगा–३ सेवन गर्न थाल्नु भएछ, त्यसपछि आँखा पोल्ने समस्या हराएको बताउनु भएको थियो ।)

(४) आलसको नियमित सेवनले कोलेस्ट्रोल घटाउँछ । यो मुटु रोगाउने हाइपरलिपिडेमिया रोगको उपचारमा समेत लाभदायी पाइएको छ । आलसमा पाइने घुलनशील रेशाले बोसो र कोलेस्ट्रोललाई बल्झाएर लिन्छ जसले गर्दा ती शरीरमा सोसिने मात्रा कम हुन जान्छ । त्यस्तै पित्तमा भएको कोलेस्ट्रोललाई पनि आलसको रेशाले लिन्छ र दिशाबाट बाहिरिन्छ ।

(५) कतिपयलाई ग्लुटिन भएको खाना खान हुँदैन । यसले आन्द्रामा समस्या ल्याउँछ र खाएको पच्दैन । यो वंशाणुगत रोग पनि हो । आलसमा ग्लुटिन हुन्न । त्यसैले ‘सेलियाक’ रोग अर्थात ग्लुटिन एलर्जी भएकाहरुलाई पनि यो लाभदायक छ ।

(६) आलसमा अत्यधिक मात्रामा एण्टिअक्सिडान्टस् खासगरी ‘लिग्नान्स्’ पाइन्छन् । यी तत्वले चाँडै बुढो देखिने र हर्मोन असंतुलन हुने प्रक्रियामा कमी ल्याउँछ भने कोशिकाहरु नष्ट भएपछि पुनर्जनन (सेल रिजेनेरेसन) हुने प्रक्रियामा सघाउँछ । लिग्नान्स्लाई प्राकृतिक ‘फाइटोइस्ट्रोजन’ अर्थात बिरुवाजन्य इस्ट्रोजन हर्मोन पनि भनिन्छ । यो हर्मोन उमेर पुसिसकेका महिलाहरुमा ट्युमर वृद्धि रोक्नमा सहयोगी भएको मानिन्छ ।

साथै लिग्नान्स्मा भाइरस र व्याक्टेरिया विरोधी गुणहरु पनि पाइन्छन् जसले अरु सामान्य रोगहरु जस्तै रुघा, आउँ, झाडापखाला रोक्नमा केही हदसम्म काम गर्छ ।

(७) आलसको सेवनले पाचनक्रियामा सघाउँछ र कब्जियतलगायत पाचनसम्बन्धी समस्यालाई समाधान गर्छ । यसले पाचन अंग (ग्यास्ट्रोइन्टेस्टिनल ट्राक्टस) मा सुरक्षा प्रदान गर्दछ भने पेटभित्र रहने लाभदायी व्याक्टेरियालाई राम्रो खाना प्रदान गर्दछ । पेटमा खासगरी यसले आन्द्रालाई सुरक्षा प्रदान गर्दछ ।

(८) क्यान्सर रोगीहरु खासगरी स्तन, प्रोस्टेट, कोलोन, पाठेघर क्यान्सरको लागि आलस खानु राम्रो मानिन्छ । त्यसैले ‘बडविग डाइट’, जुन क्यान्सरबाट बच्न वा क्यान्सरको उपचारमा विशेष प्रयोग हुन्छ, को मुख्य अंश नै आलस र आलसको तेल रहेको हुन्छ । ‘जर्नल अफ क्लिनिकल क्यान्सर रिसर्च’ मा प्रकाशित नतिजाअनुसार आलसको सेवनले स्तन क्यान्सरको जोखिम घट्न सक्छ, किनकि यसले ट्युमरको वृद्धिमा कमी ल्याउँछ । त्यस्तै जर्नल अफ न्युट्रिसनमा प्रकाशित नतिजाले आलसमा पाइने लिग्नान्स्ले पाठेघर क्यान्सरको जोखिम कम गर्न सक्ने देखाएको छ ।

खासमा आलसमा पाइने लिग्नान्स्लाई आन्द्रामा हुने लाभदायक ब्याक्टेरियाले ‘इन्टरोलाक्टोन’ र ‘इन्टरोडाइओल’ इस्ट्रोजनमा परिणत गरि दिन्छन्, जसको कारण हर्मोन संतुलनमा सघाउ पुग्न जाने विश्वास गरिन्छ । हर्मोनको संतुलनले स्तन क्यान्सरलगायतका समस्याहरुमा कमी आउँछ । यिनै कारण हर्मोनसँग जोडिएको क्यान्सरहरुको जोखिम घटाउन विरुवाजन्य भोजन (डाइट) मा बढी जोड दिन थालिएको बुझिन्छ ।

(९) आलसको सेवनले शरीरको तौल पनि घटाउँछ । किनकि यो खाँदा चाँडै भोक लाग्दैन, जसको कारण धेरै खाइन्न । साथै यसले हर्मोनको असंतुलनलाई पनि घटाउने हुनाले पनि मोटोपनामा कमी आउँछ ।

(१०) आलसमा पाइने लिग्नान्सको इस्ट्रोजेनिक गुणले महिलाहरुको महिनावारीमा हुन सक्ने तलमाथिलाई पनि नियमित बनाउन मद्दत गर्छ ।

अमेरिकाको कृषि विभाग (युएसडिए) को तथ्याङ्कअनुसार दुई ठूलो चम्चा नपिसेको आलसमा क्यालोरी ११०, कार्बोहाइड्रेट ६ ग्राम, प्रोटिन ४ ग्राम, चिल्लो पदार्थ ८.५ ग्राम, रेशा ६ ग्राम, मान्गानेज ०.६ मिलिग्राम (२६ प्रतिशत डेलि भ्यालु, डिभी अर्थात प्रत्येक दिनको लागि आवश्यक मात्राको २६%), भिटामिन बी१ ०.४ मिलिग्राम (२२ प्रतिशत डिभी), म्याग्नेसियम ८० मिलिग्राम (२० प्रतिशत डिभी), फोस्फोरस १३२ मिलिग्राम (१४ प्रतिशत डिभी), कपर ०.२ मिलिग्राम (१२ प्रतिशत डिभी) र सेलेनियम ५ मिलिग्राम (८ प्रतिशत डिभी) पाइन्छन् । यिनका अतिरिक्त भिटामिन बी६, फोलेट, आइरन, पोटासियम र जिंक पनि पाइन्छन् । (मैले २ ठूलो चम्चा बराबर नपिसेको आलस जोख्दा करीब २५ ग्राम भएको पाएँ ।)एउटा आँकडाअनुसार १ औंस (२८ ग्राम) आलसमा ६००० मिलिग्राम एएलए ओमेगा–३ फ्याट्टीएसिड हुन्छ ।

खाने तरिका

(१) आलसलाई धेरै तरिकाले खान सकिन्छ । आलसलाई अंकुराएर खानु सबैभन्दा राम्रो मानिन्छ । हुनत धेरै अरु गेडागुडी, अंकुराएर खानु बढी पौष्टीक मानिन्छ, खान्छौं पनि । आलसलाई अंकुराउँदा यसमा हुने फाइटिक एसिड हट्छ, जसले गर्दा खनिजतत्वहरु हाम्रो शरीरले सजिलै लिन सक्छ । क्यानडाको फ्लाक्स काउन्सिलको सिफारिसमा आलसलाई न्यानो पानीमा कम्तीमा १० मिनेट वा चिसो पानी भए २ धण्टा भिजाएर प्रयोग गर्नु भन्ने छ ।

(२) आलसलाई पिसेर खानु सजिलो र प्रभावकारी उपाय हो । नपिसेर खाँदा यो पच्दैन (झाडा लाग्ने होइन) र यसको गुणिलो तत्वहरु शरीरले लिन पाउँदैन । पिसेपछि धेरै समय हावामा खुल्ला नराख्नु भनिन्छ । त्यसैले होला डा. सायमिले एक हप्ता जतिलाई पुग्ने पिसेर बिर्को भएको भाँडोमा राख्ने भन्नु भएको । क्यानडाको फ्लाक्स काउन्सिलले गरेको अध्ययनअनुसार खस्रो गरी पिसेको आलसलाई ६ महिनासम्म कोठाको सामान्य तापक्रममा सुरक्षित भण्डार गर्न सकिन्छ ।

(३) आलसलाई विभिन्न तरिकाले खान सकिन्छ । जस्तै दुध वा दहीसँग मिसाएर खान सकिन्छ । दहीसँग खाँदा स्वादअनुसार मह मिसाउन सकिन्छ । घरमै रोटी, बिस्कुट, केक/मफिन बनाउँदा आलसको पिठो मिसाउन सकिन्छ । आलसलाई ३०० डिग्री फरेन्हाइट (झण्डै १५० डिग्री सेल्सियस) मा ३ घण्टासम्म बेक गर्दा यसमा भएको एएलए ओमेगा–३ मा केही असर नपरेको विभिन्न अध्ययानबाट देखाएको छ ।

संभावित असरहरु र लिनुपर्ने सावधानी

कहिल्यै पहिला नखाएकाहरुलाई आलस खाँदा बायु बढ्ने, पेट ढुस्स वा असजिलो हुने, दिसा पातलो हुने, खानामा रुची कम हुने हुन सक्छ । तर खाने बानी बसेपछि यी सबै बिस्तारै ठिक हुन्छ । तथापि धेरै खायो भने हर्मोनमा असंतुलन आउन सक्छ । साथै आलसले रगतलाई पातलो गर्छ । कसैले ‘एस्पीरिन’ जस्ता रगत पातलो गर्ने औषधि खाने गरेका छन् भने आलस नखान सल्लाह दिइन्छ । त्यस्तै, कसैलाई हर्मोन–संवेदनशील (हर्मोन–सेन्सिटिभ) स्तन वा पाठेघर क्यान्सर छ भने पनि आलस नखानु भन्छ । कसैलाई कोलेस्ट्रोल अत्यधिक भएर कोलेस्ट्रोल घटाउने ओषधि खाइरहेको छ भने आलसलाई डाक्टरको सल्लाह लिएरमात्र खान सुझाइन्छ ।

यी त भए माथि उल्लेखित साइटमा पाइएका जानकारी संक्षिप्तमा ।

अन्त्यमा मेरो छोटो अनुभव
डाक्टर सायमिले सुझाउनु भएपछि डिपार्टमेन्ट स्टोरबाट आलस किनेर ल्याइयो । लेबल र ब्राण्डसहित दुई सय ग्रामको प्याकेटमा पाइने रहेछ। मूल्य ४५ रुपैयाँ, अर्थात एक किलोग्रामको २२५ रुपैयाँ । अन्यत्र खाद्य पसलतिर पाइन्छ भन्ने सुनेको छु । ठूलै डिपार्टमेन्ट स्टोरबाट ल्याएकोले खासमा सफा र शुद्ध नै होला भन्थानेको थिएँ र त्यो पाइन । म कृषिको विद्यार्थी, त्यसमा पनि बीउबिजनसम्बन्धी केही अध्ययन गरेकोले त्यसलाई अलि गहिरेर हेरेँ । खासमा तोरीजस्तो देखिने अरु दाना र मसिना ढुङ्गा मिसिएको पाएँ । अर्को आलसकै स्याप्रो र बिग्रिएको दाना पनि उल्लेख्य पाएँ । माथि उल्लेखित २०० ग्राम सरसर्ती केलाउँदा निस्केका तल तस्बिर १ मा देखाएको छु ।

एउटा डिपार्टमेन्ट स्टोरबाट लेबलसहित खरिद गरेको २०० ग्रामको प्याकेटको आलसलाई सरसर्ती केलाउँदा निस्केका अन्य बीउ, मसिना ढूङ्गा र बिग्रिएका र फुस्रा आलसका दानाहरु (बीचमा)

डाक्टर सायमिले भन्नु भएअनुसार सुख्खा भुटेर किचेन ग्राइण्डरमा पिसेँ । बास्ना मिठो लाग्यो र खाँदा स्वादिलो पनि । सुभद्रालाई पनि रुचिकर नै भयो । दालसँग मिसाएर खान थालेँ । अरु तरकारीसँग पनि मिसाएर खाएँ, मिठो नै लाग्यो । कसैलाई यो दाल वा पानीमा घोल्दा गम जस्तो चिप्लो पदार्थ (मुसिलेज) को स्वाद अरुची हुन सक्ला, मलाईचाहिँ मनपर्‍यो। औषधि नै मानेर खाने गरेपछि मन नपर्नेलाई पनि पछि मिठै लाग्छ । तातो पानीमा घोलेर खाँदा थोरै नुन वा चिनी मिसायो भने सुपकै रुपमा पनि खान सकिन्छ ।मुख्य कुरा, यो खान शुरु गरेदेखि मलाई पेट सफा भएको अनुभव गरेँ । माथि उल्लेख गरेअनुसारका कुनै असरहरु मलाई भएन । अहिले मैले सामान्य खोले (बाक्लो सुप) को रुपमा खाने गरेको छु । दुई ठूला चम्चा भरी र एक गिलास तातो पानीमा घोल्दा तुरुन्तै गजबको सुप बन्छ (तस्बिर २) ।

भुटेर किचेन ग्राइन्डरमा पिसेको आलसको पाउडर (बायाँ) र तातो पानीमा घोलेको बाक्लो खोले/सुप–तल)

स्वादअनुसार थोरै चिनी वा नुन र केही मसला जस्तै अदुवा राख्ने हो भने त बकाइदाको बिहानको ब्रेकफास्ट वा दिउँसोको खाजाको एउटा परिकार नै बन्छ । मैले त्यसरी नै दिनको एक पटक खाने गरेको छु । सामान्यतया वयस्कलाई दिनको दुईदेखि तीन ठूला चम्चाका दरले खान सल्लाह दिएको पाइन्छ, यतिले शरीरलाई चाहिने ओमेगा–३ फ्याट्टीएसिड सामान्यतया परिपूर्ति हुन्छ र एण्टिअक्सीडेन्ट्स लिग्नान्स् पनि उल्लेख्य प्राप्त हुन्छ भन्ने बुझिन्छ ।

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्