गाउँपालिकाको भन्दा वार्ड कार्यालय राम्रो!

काठमाडौं-नुवाकोटको शिवपुरी गाउँपालिका वार्ड नम्बर ४ ले गाउँपालिकाको भन्दा व्यवस्थित कार्यालय पाएको छ। गाउँपालिकाले भाडाको भवनबाट कार्यालय सञ्चालन गरिरहँदा वार्डले भने ४ कोठे पक्कि भवन पाएको हो।

साविकको सिक्रे गाविस भवन २०७२ सालको भुकम्पमा ध्वस्त भएपछि स्थानीय तहको निर्वाचन पूर्व गाविस र निर्वाचनपछि वडा कार्यालयले अस्थाई संरचनाबाट सेवा दिंदै आईरहेको थियो।

सिक्रे गाविसका ९ वडालाई मिलाएर शिवपुरी गाउँपालिकाको ४ नम्बर वडा बनाईएको थियो।

जर्मन विकास नियोग (जीआईजेड) ले वडा कार्यालयको ८ आना जग्गामा ४ कोठे भवन बनाईदिएपछि सिक्रे वडा कार्यालयले व्यवस्थित कार्यालय पाएको हो।

जीआईजेडले निर्माण गरेको भवनको मंगलबार जिल्ला समन्वय समितिका सभापति सन्तमान तामाङ र जर्मन आर्थिक सहयोग तथा विकास मन्त्रालय दक्षिण एसिया उप-प्रमुख एन्नेट्टे फ्रिकले सयुक्त रुपमा उद्घाटन गरेका छन्।

जीआईजेडले ४६ लाख ७९ हजार रुपैयाँको लागतमा ६ महिनामा वडा कार्यालयको निर्माण गरेको हो।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सँग गरिएको सम्झौता अनुसार वार्ड कार्यालय निर्माण गरिएको जीआईजेडले जनाएको छ।

शिवपुरी गाउँपालिका ४ का निर्वाचित वार्ड अध्यक्ष झमकराज गुरुङले भने स्तरीय भौतिक पूर्वाधारले राम्रो सेवा दिन सकिने बताए।

शिवपुरी गाउँपालिका अध्यक्ष राम कृष्ण थापा भवन उद्घाटन समारोहमा भन्दै थिए, ‘हाम्रो आफ्नो भवन पनि छैन, भाडामा बसेका छौं, यस वर्ष एउटा वार्ड कार्यालयको भवन बनाउन टेण्डर गरेका छौं, गाउँपालिकाको कार्यालय नै भाडाको घरमा बसीरहेको समयमा जीआईजेडले गरेको सहयोग प्रति आभारी छौं।’ शिवपुरी गाउँपालिकामा ८ वडा रहेका छन्।

जीआईजेडले सिक्रेमा स्वास्थ्य चौकी, सहकारी भवन, सिचाँई आयोजना मर्मत र महिला समुहको भवन बनाउन सहयोग गर्नुका साथैं अदुवा, गोलभेंडा खेतिगर्न सहयोग उनको भनाई छ।

स्थानीय पदम बुढाथोकी र विश्व गुरुङ जीआईजेडले वडा कार्यालयको नयाँ भवनले स्तरीय सेवा दिने बिश्वास व्यक्त गरे।

हाल नुवाकोटमा ८८ वार्ड रहेका छन्। भूकम्पले प्राय सम्पूर्ण वडा कार्यालयहरु नोक्सान पुर्याएको जीसस सभापति तामाङले जानकारी दिए।

 

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्