मकालु एयर विमान दुर्घटना

प्रत्यक्षदर्शी भन्छन्,‘तीन-चार चक्‍कर लगाएपछि विमान दुर्घटना भयो’

सुर्खेत- हुम्लाका लामा रावलको दैनिकी हो, भेडी गोठालो। व्यवसायिक रुपमा भेडा पालन गरेका उनी दैनिकजसो बिहानपख भेडा चराउन खार्पुनाथ गाउँपालिका-२ बाहुनखर्कमा एक्लभुज (ठाउँको नाम) हुँदै पाटन पुग्थे। तर, बुधबार उनले भेडाको बथानसहित पाटन जाँदै गर्दा दैनिक भन्दा फरकदृष्य देखियो।

त्यो थियो, सुर्खेतदेखि हुम्लाका लागि उडेको मकालु एयरको दुर्घटनाग्रस्त अवस्थामा रहेको विमान। ‘बाजुराबाट भेडा ल्याएर आउँदा हुस्सु लागेको थियो। जहाज आएर उता सिमकोटतिर जान खाज्यो। फेरि फिर्ता भयो, तीन/चार पटक यता–उता गर्‍यो’, रावलले भने, ‘तीन/चार चक्कर हानेपछि एक्लभुज (ठाउँ)मा बस्‍न खोज्यो।’

उनका अनुसार उक्त स्थानमा पाइलटले अवतरण गराउने खोजेको देखिन्छ। भन्छन्, ‘ठाउँ राम्रै थियो। जहाज बस्न खोज्यो। त्यसपछि जहाज दुर्घटना भयो। मान्छे घाइते भए कि भनेर नजिक गएँ।’

बुधवार बिहान ६ : १२ बजे सुर्खेतदेखि हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको विमान सम्पर्कविहिन भएको करिव चार घण्टा पछि खार्पूनाथ गाउँपालिका–२ (राया र थालीको बीच) बाहुनखर्कमा १० बजेर २५ मिनेटमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो।

६:५५ बजे हुम्लाको सिमकोट पुग्‍नुपर्ने जहाज नपुगेपछि करिब ४० मिनेटपछि खोजी थालिएको थियो। सुर्खेत नागरिक उड्ययन प्राधिकरणका अनुसार नेपालगन्ज विमानस्थलसँग र सिमकोट एयरपोर्टसँग जहाज सम्पर्कविहीन भएपछि खोजी थालिएको हो।

बाजुरा र हुम्लाको सिमानामा जहाज देखिएकाले स्थानीय प्रशासनलेसमेत केही समय जहाजको अवस्थाबारे जानकारी पाएन। दुई वटा हेलिकोप्टरले अपुष्ट खबरका कारण करिब साढे दुईपछि बाजुराकै क्षेत्रमा खोजी गरेका थिए। तर, भेडा गोठालो रावलले आधिकारिक जानकारी दिएपछि खार्पूनाथमा उद्धार टोली पुगेको थियो। विमान दुर्घटना भएको दृष्य देखेपछि उनी बेहोस भएका थिए।

भन्छन्, ‘विमान दुर्घटना भएको, सामान छरपष्ट भएको देखपछि मै पनि बेहोस भएँ। अरु मेरो साथीहरु पनि आए।’ विमान दुर्घटना भएको देख्नासाथ उनले फोन गर्न त खोजे तर, फोन लागेन। फोन नलागेपछि उनले देव रावल (अंकल) लाई फोन गरेर जहाज दुर्घटना भएको बारेमा बताएका थिए।

‘जहाज दुर्घटना भएको छ। कहाँ–कहाँ फोन गरी हुन्छ, हेली (हेलिकप्टर) मगाउनुहोला भनेर अंकललाई फोन गरेपछि प्रहरी पुग्यो,’ उनले भने। अर्का प्रत्यक्षदर्शी पर्व रावलले भने,‘हेलि (हेलिकप्टर) आयो, घुम्दै घुम्दै आएको आवाज मात्रै सुनियो।’

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशविक्रम पोखरेलका अनुसार उक्त विमान दुर्घटनामा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपालको मृत्यु भएको छ। उक्त बिमानभन्दा तीन मिनेटको फरकमा बुधबार बिहान सुर्खेतबाटै हुम्लाका लागि मकालुको अर्को बिमान ‘नाइन जेटीइ’ पनि सँगै कार्गो लिएर उडेको थियो।

नाइन जेटीइका पाइलट तञ्जिङ लामाले सुर्खेत बिमानस्थललाई आफुसँग दुर्घटना हुनुभन्दा पाँच मिनेटअघि सम्पर्क भएको बताएका छन्। सुर्खेत विमानस्थल प्रमुख विनोदकुमार पन्तका अनुसार सुर्खेतबाट उडेको ५ नटिकल माइलसम्म सुर्खेतको सम्पर्कमा र त्यसभन्दा माथि नेपालगन्ज विमानस्थलको सम्पर्कमा रहेको थियो।

नेपालगन्ज विमानस्थलका प्रवन्धक प्रतावबावु तिवारीका अनुसार बिहान करिब ६:५० बजे विमान दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटना भएको स्थानबाट विमानस्थलसम्मको दुरी छोटो भएकाले पनि विमान दुर्घटनामा परेको हो।

उनले हुस्सुले विमानस्थल नदेखिएपछि नजिकै भएको अनुमानका कारण डाँडामा ठोक्किएको हुनसक्ने बताए। ‘अहिले नै यही कारण हो भन्न सकिँदैन, तैपनि जहाज आफ्नो ट्रयाकभन्दा केही दायाँ गएको देखिन्छ,’ उनले भने, ‘कुहिरोका कारण बाटो परिवर्तन हुँदा डाँडामा ठोक्कीएको देखिन्छ।’

तीन दशकमा १४ विमान दुर्घटना, २८ को मृत्यु


कर्णालीका नागरिक सुरक्षित यात्राका लागि हवाई मार्ग नै रोज्दै आएका छन्। तर, केही वर्ष यता कर्णालीमा हवाई दुर्घटनाको अवस्था हेर्दा हवाई मार्गसमेत असुरक्षित बन्दै आएको छ।

सन् १९८७ अगष्ट १९ मा नेपाल एयरलाइन्सको बिमान पहिलो पटक डोल्पामा दुर्घटना भएको थियो। उक्त दुर्घटना समान्य भएकाले मानवीय क्षती भएन। तर कर्णालीको हवाई अवस्था विश्लेषण गर्दा विगत तीन दशकमा कर्णालीमा हेलिकोप्टर र विमान गरी १४ वटा दुर्घटना भएका छन्।

उक्त दुर्घटनामा परी २८ जनाले ज्यान गुमाए भने, १९ जना घाइते भएको तथ्यांकमा उल्लेख छ।  ६ वटा दुर्घटनामा कुनै मानवीय क्षति हुन पाएन भने, ८ वटा दुर्घटनामा मात्रै २८ जनाको मृत्यु र १९ जना घाइते भए।

विगत पाँच/छ वर्ष तथ्यांक हेर्दा ज्यान जानेगरी होस् वा जोगिएका सबैलाई मिलाउँदा कर्णालीमा वर्षेनी बिमान दुर्घटना भइरहेका छन्। सबै ठाउँमा सडक नपुगेको र भएको ठाउँमा पनि सुरक्षित नहुँदा हवाई यात्रा रोज्दै आएका कर्णालीवासीका लागि हवाई मार्ग पनि असुरक्षित बन्दै आएको छ। हालसम्म भएका दुर्घटनाको प्रकिृति हेर्दा अधिकांश जहाजहरु सिंगल इन्जिनका छन्।

प्रदेश सरकारद्वारा दुःख व्यक्त


बुधवार भएको विमान दुर्घटनामा कर्णाली प्रदेश सकारले दुःख व्यक्त गरेको छ। बिमान दुर्घटनामा भएको मानविय क्षतिप्रति सरकारले दुःख व्यक्त गरेको हो।

मुख्यमन्त्री महेन्द्रवहादुर शाही भौगोलिक विकटताका कारण कर्णाली प्रदेशमा हवाई यातायातको अपरिहार्यता रहेको भएपनि वर्षेनी हवाई दुर्घटनाहरु बढ्दै गएकोप्रति गम्भीर चिन्ता गरेका छन्।

उनले बुधवार नै शोक वक्तव्य जारी गर्दै कर्णाली प्रदेशमा हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्वन्धित निकायहरुसँग आवश्यक समन्वय गरी दुर्घटना न्यूनिकरणका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन्।

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्